‘विरेचन’ चिकित्सा विज्ञानमा प्रयोग हुने विधि हो। अर्थात शरीर भित्रका विकारको बमन नै विरेचन हो। बमन गराएर 'बिगार' निको पार्ने उपचार विधि नेपालका कतिपय ठाउँमा अझै पनि प्रचलित छ। महान दार्शनिक अरस्तुले यसलाई साहित्यको विवेचनाका क्रममा प्रयोग गरेका छन्।
यद्यपी आजभोलि राजनीतिमा यो प्रविधि प्रयोग भएको पाईन्छ। ईर्ष्या एवं असहिष्णुताले ग्रस्त कतिपय राजनीतिक सन्दर्भमा धेरैजसो यही विरेचन विधि रूचाईएको पाईन्छ।
मूलतः तेस्रो मुलुकको समाजमा हुने चरम राजनीतिकरण, पद र प्रतिष्ठाका लागि अपनाइने हर तरहका तिकडम र निकृष्ट दाउपेचबाट हामी अछुतो छैनौं। त्यसको प्रत्यक्ष प्रभाव गैर आवासीय नेपालीमा परेको देखिन्छ।
यसका लागि केही वर्ष पहिले एउटा विशिष्ट उद्देश्यसहित स्थापित एनआरएनको वर्तमान हेरे पुग्छ। नेतृत्व चयनका सन्दर्भमा संसारभर भएका अधिवेशन दौरान गतिविधि र केन्द्रीय नेतृत्वका लागि हुने अस्वस्थ्य गतिविधि हेरे पुग्छ।
अध्ययन वा अवसरका लागि विदेशिएका हामी गैर आवासीय नेपालीले कर्मभूमीमा प्राप्त शिप र प्रविधिलाई जन्मभूमी सदुपयोग गर्ने एआरएनको प्रमुख उद्देश्य थियो।
अनुभव र शिक्षाले आर्जित जिम्मेवारी र अनुशासन विनीमय गर्ने अभिलाषा थियो। यसका लागि शुरूका वर्षमा केही उल्लेख्य संकेत देखिएकै हुन्। तर अहिले आएर संस्था आफ्नो मुख्य गन्तब्यबाट बिचलित भएर केबल कोरा राजनीतिक दाउपेचमा अल्झिएको आभाष हुँदैछ।
सिमित स्वार्थ समूहका हितका लागि नेतृत्व चयनका नाममा देखिएका नांगा गतिविधिले आम रूपमा उत्साह भर्न सकेको छैन। नेपाली राजनीतिक दलसँग आवद्ध रहेर विचार समूहको आवरणमा निर्वाचन लडिएको देखिए पनि सारमा ठूला ब्यापारिक घरनाको टकरावमा अहिलेको एनआरएन राजनीति अड्किएको छ। वैयक्तिक ब्यापार र ब्यवसायको प्रभाव जमाउन संस्थाको ‘फोरम’ प्रयोग गरि गरिएका विभाजनकारी हर्कत संस्थाको भविष्यका लागि चुनौतीपूर्ण छन्।
विदेसिएका नेपालीलाई एकताको सूत्रमा बाँधेर विभिन्न सामाजिक, आर्थिक काम सँगै शान्त र समृद्ध नेपालको सपना देख्ने प्रवासी नेपालीले गठन गरेको एनआरएन करिब १८ वर्ष भइसक्दा पनि विधि, पद्धतिमा अनुसाशन र जिम्मेवारीको परिधिमा रहेर काम गर्न नसकि राजनीतिको घृणित खेलमा संस्थाको पवित्रतालाई धमिल्याउने अपेक्षा कसैले गरेका थिएनन्।
यदि त्यसो नहुँदो हो भने सदस्य बनाउन पैसा तिर्ने, डेलिगेट बनाउन पैसा लगानी गर्ने, उम्मेद्वार हुन स्वार्थ समूहलाई पैसा बुझाउनुपर्ने र समग्रमा पैसाले भोट किन्ने वर्तमानको लज्जा हामीले देख्नु र भोग्नुपर्ने थिएन।
गैरआवासीय नेपालीको कानूनी परिभाषा, परिचय पत्र र लगानीलाई स्वदेशी लगानी सरह मान्यताको माग राख्दै आएको संस्थाले सरकारी सद्भाव र सहयोग पाएकै हो। उनीहरूले नेपालप्रति अपनत्वको भावना पुस्तौं-पुस्तासम्म ज्यूँदो राख्न अघि सारेको दोहोरो नागरिकताको मागमा समेत नेपाल सरकार सहमत भइसकेको अवस्था छ।
तर एनआरएन स्वयंले विदेसमै जन्मिएर हुर्किएका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने प्रयास के गर्यो? अभियन्ता एवं नेतृत्व वर्गले यसको जवाफ दिनसक्दैनन्।
बरू उल्टो विदेशमा रहेका छोरा छोरीले आफ्ना अभिभावकले एनआरएनको नाममा गरेको फोहोरी राजनीति, झै झगडा र पद लोलुपताका लागि गरेको हानाथापले वाक्क दिक्क भने भएको हुनुपर्छ।
उद्देश्य जतिसुकै पवित्र भए पनि हामीमा विकसित एउटा फरक प्रवृत्ति र संस्कारले कालन्तरमा हामीलाई नै नोक्सान पुर्याउने हो।
लोकतान्त्रिक विधि हुँदाहुँदै पदको आशक्तिमा एनआरएनबीचको हुने अस्वस्थ निर्वाचनलगायतका गतिविधिले संस्थाको मुल उद्देस्यलाई कमजोर बनाउने निश्चित छ।
यति मात्र होईन विदेशी भूमीमा जम्दै गरेको नेपाली समाजमा आउनसक्ने फाटोले ज्यादा चिन्ता थपेको छ। यस्तो संस्कारले निम्त्याउने भवितव्यलाई बेलैमा मनन गर्नुपर्ने हुन्छ।
यस्ता क्रियाकलापबाट हाम्रा दोस्रो पुस्ताले के सिक्ने? हामीले उनीहरूलाई कस्तो शिक्षा दिंदैछौं? भन्नेकुरा मनन गर्दै भनाई गराईमा एकरूपता ल्याउन ढिला भइसकेको छ।
आजको एनआरएन गतिविधिले भविष्यको साखलाई अवस्य प्रतिविम्बित गर्छ।
गैरआवासीय नेपाली भन्ने वित्तिकै धनीमानी र इमान्दार छने। उनीहरू स्वदेशमा जस्तो घृणाको राजनीति गर्दैनन् भन्ने स्वदेशमा रहेका एनआरएनलाई माया गर्ने नेपाली जनमानसमा धारणा यद्यपी छ। तर, उनीहरूलाई हामी शिर उँचो गरेर भन्न सक्छौं- हो तपाईहरूले सोचेको एकदम सही छ भनेर?
यस्ता प्रश्नको निरूपणका लागि हाम्रा गतीबिधिलाई बिखण्डनकारी एवं स्वार्थ समूहको मतियारी गर्न रोकेर एकतामूलक र सृजनात्मक रूपमा परिचालन गर्नैपर्ने हुन्छ। यो नै अहिले हरेक एनआरएनको दायीत्व हो।
यो दायित्ववोध सरोकारवालाले राख्न एनआरएनको प्रस्तावनाको मूल मर्म, अनुरूप निर्देशित हुनु जरूरी छ। होईन भने, नाम र दामको प्रयोगबाट संस्था बचाउन जातीय, क्षेत्रीय र राजनीतिक प्रभाव बाट टाढा राख्न जरूरी भन्ने कुरा मिथ्या सावित हुनेछ।
चरित्र र गतिविधिको हिसाबले अहिले गैरआवासीय नेपालीको राजनीतिलाई यसरी पनि बुझ्न सकिनेछ।
हिन्दी सिनेमा 'डुप्लिकेट' को एउटा दृश्य घतलाग्दो छ। फिल्ममा शाहरुखले बदमास र सज्जन पात्रको दोहोरो भूमिका निभाएका छन्। मनुदादा भन्ने बदमासले आफ्नै जस्तो अनुहार भएको अर्को व्यक्ति छ भन्ने थाहा पाएपछि बब्लुलाई मारेर परिचय फेरेर बस्ने षड्यन्त्र गर्छ। त्यसका लागि उसले सज्जन पात्र बब्लु चौधरीकी आमालाई अपहरण गर्छ।
बब्लुलाई मनुदादा ठानेर प्रहरीले पक्रन्छ। एउटा दृश्यमा दुवैजना आमने सामने हुन्छन्। आमालाई समेत छोरा खुट्याउन कठिन हुन्छ। अनि उनले जसले आफूलाई तानेर लैजान सक्छ उही आफ्नो छोरा हुन्छ, भन्छिन्। दुवै जना हातमा समातेर आमालाई तानातान गर्न थाल्छन्। आमालाई धेरै दुख्यो होला भनेर सक्कली छोरा बब्लु मर्नु पर्ने भए पनि हार्न तयार हुन्छ। उसले आमाको हात छाडिदिन्छ। अनि त आमाले बब्लुलाई ठम्याउँछिन्। बब्लुलाई ज्यानको भन्दा आमाको माया ठूलो हुन्छ।
यो प्रसंग हामी गैर आवासीय नेपालीमा पनि चरीतार्थ हुन थालेको छ । संस्था हडप्ने नाममा हुन थालेका छद्म गतिविधीहरू बब्लु र मनुदादा सम्झाउने खालका छन्। यदि संस्थालाई आमा ठान्ने हो भने अहिले देखिएको गतिबिधि आमा जोगाउने खालको देखिँदैन। घृणा, प्रतिशोध र तानातानको अवस्थ्य प्रतिस्पर्धाले डुप्लीकेटकी आमा जस्तै बिछिप्त भएको आभाष हुँदैछ-एनआरएन।
शक्तिको दुरूपयोग र पहलमानको बाजी
महाभारतका पात्र अश्वत्थामा टाउकामा सैन पल्टेको घाउ बोकेर बाँच्न अभिशप्त चीरञ्जीवी हुन्। उनले दुई पल्ट शक्तिको दुरूपयोग गरे। द्रोणाचार्यको बधपछि नारायणास्त्र प्रहार गरेर पाण्डव शिविरमा राति आक्रमण गरेर भाग्दा र समातिएपछि ब्रह्मास्त्र प्रयोग गरेर।
अश्त्र प्रयोग अपराध होइन। तर त्यसलाई सम्मान गर्न नसक्नु वा नचाहनु अनुचित थियो। त्यसैले उनलाई शिरमा सैन पल्टेको घाउको पीडा सहेर बाँच्न श्राप दिइएको थियो।
शक्ति हुनेसँग विवेक भएन भने अरूको मात्र हैन स्वयं उसैको पनि भलो हुँदैन। त्यही ‘विवेक’ पहिले धर्मका रूपमा स्थापित थियो। अचेल नैतिकता भनिन्छ। क्षणिक शक्तिको उन्मादमा अरूको मानमर्दन गर्नु अत्यन्त अशोभनीय हो। सायद त्यसैले भनिएको होला- पद क्षणिक हुन्छ बल्की उसँग शक्ति जोडिएको हुन्छ। तर प्रतिष्ठा चीरकालसम्म रहन्छ अनि उसँग नैतिकता जोडिएको हुन्छ। त्यसैले पद गुमे पनि प्रतिष्ठा गुम्ने काम गर्नु हुँदैन।
अहिले कतिपय मुलुकमा प्राभावशाली भनिएका एनआरएनमा भएको किचलो माथिको पौराणिक कथासँग कती मेल खाँदो हो त्यो उनीहरूले नै जानून्!
यदाकदा लाग्छ, धेरै पहिले कुनै हिन्दी पत्रिकामा पढेको कथाको पात्र प्याज खाने पहलमान जस्तै भएका छन् अहिले गैर आवासीय नेपाली।
कथा अनुसार, एउटा पसलमा गाउँका पुरोहित आइपुगे। पसलमा कुहिएको प्याज गन्हाएको थियो। पसले सडेको प्याज छुट्याउँदै थिए। पुरोहितले नाक थुन्दै प्याजको बदख्वाइँ गर्न थाले। पसलेले पनि उनैको बोलीमा लोली मिलाए। बाना मिलाउनलाई मात्रै करले पसलमा प्याज राख्नुपरेको गुनासो उनले गरे।
छेवैमा बसेको पहलमानलाई तिनको कुरामा पटक्कै चित्त बुझेन। उनले प्याजका पक्षमा आवाज उठाए। भने - 'सबै तरकारीमा मिल्ने र काँचै खान पनि हुने प्याज कसरी अगतिलो हुन्छ? मलाई त खुब मन पर्छ।'
कुरै कुरामा पहलमानले एकैपटकमा सय वटा प्याज खान सक्ने बाजी थापे। बाजी थियो, प्याज खान सके सय रूपियाँ दिनुपर्ने र नसके पसलेले पहलमानलाई सयपल्ट जुत्ताले हान्ने। पहलमान प्याज खान थाले। करिब ३०-४० वटा प्याज खाएपछि उनको आँखाबाट आँसुका धारा झर्न थाल्यो। खपिनसक्नु भएपछि उनले बरू जुत्तै खान बेस ठाने। भने- अरू प्याज खान सक्तिनँ। बरु जुत्ता हान।
पसलेले जुत्ता हान्न थाले। कुटाइ सहन झन कठिन भयो। बरू प्याज खानै सजिलो होला भनेर उनले कुटाइ रोक्न भने। बाँकी रहेको प्याज गनेर सय वटा पुर्याइयो। पहलमानले फेरि प्याज खान थाले। तर यसपल्ट झन गाह्रो भयो। उनले दुई पल्ट गरेर सय वटा प्याज त खाए तर बाजी जितेनन्। कुटाइ भने सय पल्ट भन्दा बढी खाए।
अहिले एनआरएनको केन्द्रीय नेतृत्व चयनका खातीर कतिपय मुलुकमा डेलिगेट छान्ने क्रममा थुप्रै पहलमानले कथामा झैं आंशु बगाएको कुरा बाहिर सुनिन थालेको छ। सबै कृयाकलाप नियाल्दा निर्वाचन आयोग पुरोहित, कार्य समिति पसले र डेलिगेटहरू पहलमान जस्तै भएका छन्।
सपनाको बजार र सिन्काले छेकेको लाज
सपना देख्ने अधिकार जो कोहीलाई छ। देख्नुपर्छ पनि। तर सपना बेच्नु हुँदैन। हामी गैर आवासीय नेपाली पनि सपना देख्ने कुरामा अपवाद हुन सक्दैनौं। तर हामीले हेक्का राख्नुपर्ने कुरा सपना हामी आफैंले देख्नुपर्छ। सपनामा पनि देखासिकी गरियो भने अनौठो मोहजालमा परिन्छ।
अहिले एनआरएनका अधिकांश अभियान्ताहरूलाई हेर्दा त्यस्तै लाग्छ। त्यसो त व्यापार र ब्यवसाय क्षेत्रका अगुवा सही र गलतको भेद हद्पद छुट्याउन निको मान्दैनन् किन कि, उनीहरुले सपनाको खेती गर्ने सँगैं ब्याज खानु छ, बेकारमा किन जोखिम मोल्नु?
यावत निराशाका बाबजुत हामी बीच मुल्ला नसरूद्दिनको कथामा झैं आशाको किरण भने अझै बाँकी छ। कुनै अरब शेखको छोरा भट्टीमा गएर सुरा सुन्दरीमा रमाउन थालेछ। छोरो कुलतमा लागेकोमा चिन्तित बाबुले सम्झाउन नसकेपछि उसले मुल्लालाई गुहारेछ। एक साँझ मुल्लालाई शेखले छोरो रमाउँदै गरेको भट्टीमा पुर्याएछ। सुन्दरीको अँगालोमा रक्सीको चुस्की लिँदै गरेको छोराले बाबु र मुल्लालाई देख्ने बित्तिकै एउटा सिन्काको छेस्कोले आँखा छोप्न खोजेछ। त्यो देखेपछि मुल्लाले भनेका थिए रे- अलिकति भए पनि लाज बाँकी रहेछ यो केटो सुध्रिनसक्छ।
होईन भने, कुनै साधुले कतै झैं, पापको कमाइ खानेलाई संस्कारी बनाउन सकिँदैन, सम्भवत हाम्रो नियती त्यस्तै हो कि? हामीले त पर्खने र हेर्ने न हो !
लेखक एनआरएन आईसिसिका मानार्थ सदस्य हुन्।