अष्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गए पनि जनताले कोरोनाविरूद्धको खोप लगाउन नमानेपछि सरकाले अनुरोध गरेको छ।
विश्वको कतिपय मुलुकमा खोप नपाएर मानिसहरू तड्पिरहेको बेला अष्ट्रेलियाका सिड्नी र एनएसडब्लु राज्यका नागरिकले खोप लगाउन नमानेपछि सरकारले अनुरोध गरेको हो। कोरोनाका कारण बालबालिका, युवादेखि वृद्धसम्मको ज्यान जान थालेपछि राज्य प्रमुखले जनतालाई खोप लगाउन बिन्ती गरेकी हुन्।
पछिल्लो समय राज्यमा कोरोना संक्रमितको संख्या बढेपछि राज्यकी प्रमुख ग्लाडिस बेरिजिक्लियनले जनतालाई खोप लगाउन बिन्ती गरेकी हुन्।
प्रिमियर ग्लाडिस बेरिजिक्लियनका अनुसार हालसम्म अस्ट्रेलियामा न्यु साउथवेल्स राज्यमा २९ प्रतिशत जनताले मात्र पूर्ण रूपमा खोप लगाएका छन्।
लकडाउन र प्रतिबन्ध तथा कडाइको विरोधमा सर्वसाधारण सडकमा निस्किएपछि सरकारको तर्फबाट प्रिमियरले जनतालाई बिन्ती बिसाउँदै भनिन्, ‘यो रोगको एउटै मात्र समाधान खोप हो र त्यो लगाएर आफू तथा अरूलाई पनि सुरक्षित राख्न अनुरोध गर्छु।’
अस्ट्रेलियाले निजी क्लिनिकमासमेत कोरोना विरूद्धको एक्स्ट्रजेनेका लगाउन पाइन्छ। तर प्रारम्भ ब्लड क्लटको हल्लाले यहाँका मानिसहरू खोप लगाउन नमानेका हुन्।
फाइजर खरीद प्रकृयापछि आइपुग्न लामो समय लाग्नाले यहाँका मानिसले खोपप्रति खासै चासो नदेखाएका हुन्।
उनले विशेष गरी सिड्नीको पश्चिमी क्षेत्र मेरील्यान्ड्स, गीलफर्ड, अबर्न, ग्रीनएकर, सेन्ट मेरीज र स्ट्राटफिल्डमा कोरोना संक्रमण उच्च रहेको भन्दै यी स्थानमा मानिसहरू सचेत रहन समेत आग्रह गरेकी छन्।
कोरोना प्रभावित क्षेत्रमा बसोबास गर्ने १६ देखि ३९ वर्षका मानिसलाई फाइजरद्वारा निर्मित खोपका लागि प्राथमिकतामा राखिने सरकारले जनाएको छ।
कोभिड–१९ का कारण न्यु साउथ वेल्समा मात्रै दुई दजर्न बढिको मृत्यु भइसकेको छ। अस्ट्रेलियामा कोरोनाको महामारी बीच पनि निकै सुरक्षीत देशको रुपमा चिनिएको थियो। तर पछिल्लो पटक सिड्नीको एक ड्राइभरमार्फत फैलिएको कोरोनाको डेल्टा भेरियन्टले पछिल्लो ६ सातादेखि न्यु साउथवेल्स अक्रान्त बन्न पुगेको छ।
मेलर्वन लकडाउनको अवस्थामा छ राजधानी क्यानबेरामा यसको नराम्रो प्रभाव सुरू भइसकेको छ। बिस्तारै अन्य राज्यमा पनि छिटपुट कोरोना संक्रमण देखिन थालेका छन्।
अहिले अस्ट्रेलियाका सबै राज्यमा २५ देखि ३२ प्रतिशत जनताले मात्र पूर्ण खोप लगाएका छन्।