कोरोनाबाट प्रभावित नेपालका पत्रकारहरुको सहयोगका लागि अष्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको संगठन अस्ट्रेलियन नेपाली पत्रकार संघ (एन्जा) ले ५ लाख रूपैया नगद सहयोग गरेको छ।
अस्ट्रेलियन नेपाली पत्रकार संघले गत अगष्ट ८ तारिखमा ५ लाख नेपाली रुपैयाँ बराबर ५ हजार ७८० अष्ट्रेलियन डलर नेपाल पत्रकार महासंघको खातामा जम्मा गरेको हो।
नेपाल पत्रकार महासंघले पत्रकारका लागि सुरु गरेको कोरोना भाइरस राहत कोषमा एन्जाले सहयोग रकम जम्मा गरेको हो। महासंघले लिखित रूपमै पत्र लेखेर सहयोगको अपिल गरेपछि एन्जाले सहयोग संकलन सुरु गरेको थियो। एन्जाले आफ्नै सदस्यहरुबाट सहयोग संकलन सुरु गरेको थियो । संस्थाका २५ जना पत्रकार सदस्यहरुले २७ सय ५५ डलर सहयोग संकलन गरेका थिए ।
नेपालका पेशाकर्मी पत्रकारको दुःख, पेशागत हकहितका लागि एन्जाले सधै साथ दिने बताउँदै सहयोग रकम ज्यान गुमाएका पत्रकारका परिवार र उपचार गर्न उपयोग गर्न आग्रह गरिएको एन्जाका अध्यक्ष ऋषि आचार्यले बताए।
नेपालमा कोरोनाका कारण हालसम्म २१ जना पत्रकारले ज्यान गुमाएको तथा १ हजारभन्दा बढी पत्रकार कोरोना संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ।
नेपालका मिडिया सञ्चालक, मिडिया हाउस तथा नेपाल सरकारलाई कोरोनाको महामारीका बेला ज्यान जोखिम मोलेर जनतालाई सुसुचित गर्ने काममा अहोरात्र खटिने पत्रकारलाई समयमै खोप, नियमित पारिश्रमिक तथा कोरोना संक्रमण भइहाले निःशुल्क उपचारको प्रत्याभूति गर्न एन्जाले माग समेत गरेको संघका सचिब सरल गुरुङले बताए ।
प्रवासका भगिनी संस्थाले नेपाल पत्रकार महासंघलाई सहयोग गर्ने क्रम जारी रहँदै गर्दा अस्ट्रेलियन नेपाली पत्रकार संघले कोरोना पीडित पत्रकार कल्याण कोषमा पाँच लाख रुपैया सहयोग गरेकोमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले धन्यबाद ज्ञापन गरेका छन्।