शैक्षिक सेवा केन्द्र (एक्स्ट्राटेक) का सञ्चालक बिनोद कुँवरले कोरोना प्रभावित पत्रकारलाई तीन लाख रूपैयाँ सहयो गरेका छन्।
एनआरएन अस्ट्रेलियाका एनएसडब्लु सचिवसमेत रहेका उनले नेपाल पत्रकार महासंघमार्फत उक्त सहयोग रकम दिएका हुन्।
‘कोरोना महामारीको चपेटामा परेका नेपालका सञ्चारकर्मीलाई सहयोग गर्न पाउनु आफैंमा भाग्यमानी सम्झिएको छु। किनभने मुलुकको चौथो अंगका रुपमा क्रियाशील सञ्चार क्षेत्र कोरोनाको मारमा पर्नु पटक्कै उपयुक्त हैन र यसमा सबैले सहयोग गर्नसक्नुपर्छ भन्ने लाग्यो र मैले पनि सानै भए पनि सहयोग गर्ने निर्णय गरेँ’, उनले सेतोपाटीसँग भने।
अस्ट्रेलिया वसेर संघर्षमय विद्यार्थी जीवनपछि शैक्षिक व्यवस्थापनमा लागेको युवा कुँवरले आइटी क्षेत्रकै शैक्षिक सेवा केन्द्र (एक्स्ट्राटेक) खोलेका छन्। सिड्नीमा मुख्य कार्यालय रहेको एक्स्ट्राटेकको काठमाडौंमा पनि शाखा कार्यालय खुलेको छ।
विनोदको एक्स्ट्राटेकको टोलीले नेपाल पत्रकार महासंघमा गएर वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई तीन लाख नगद हस्तान्तरण गरेको हो। ‘यो त एउटा सानो सहयोग हो। हामी सबैले नेपाली पत्रकार जगतलाई सहयोग गर्ने बेला आएको छ’, सहयोग हस्तान्तरणपछि विनोदले भने।
एनआरएन अभियानमा लाग्दै गर्दा निर्वाचन खर्च कटाएर आफूले महासंघलाई सहयोग गरेको उनले जानकारी दिए।
विनोद यसैसाता सम्पन्न एनआरएन अस्ट्रेलियाको निर्वाचनमा एनएसडब्लु राज्य सचिवमा भारी मतले विजयी भएका थिए।
पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले सहयोगी बिनोदलगायत उनको आइटी कम्पनी एक्स्ट्राटेकलाई धन्यवाद दिए।