अस्ट्रेलियाका विभिन्न सहर कोरोना कहरमा पर्न थालेपछि अस्ट्रेलियन सरकारले आपतकालीन बैठक बसेर विभिन्न निर्णय गरेको छ।
न्यु साउथवेल्स लगायतका स्थानमा लकडाउनमा कडाइ र महँगो जरिवानाको नियम सार्वजनिक गरेको छ। न्यु साउथ वेल्समा कोरोनाका थप ४ सय ६६ नयाँ संक्रमित फेला परेपछि शनिबार आपतकालीन बैठकमार्फत् सरकारले नयाँ नियम र जरिवाना अगाडि सारेको हो।
नियमलाई कडाइ गर्दै सरकारले पाँच सय प्रहरी र थप ५ सय सेना यस क्षेत्रमा खटाउने भएको छ।
शुक्रबारमात्र संक्रमणबाट थप ४ जनाको मृत्यु भएको थियो।
पछिल्लो समय सिड्नीमा मात्र समुदायमा ६८ जना संक्रमित फेला परेपछि स्थिति थप भयावह बनेको हो।
यस्तै, न्यू साउथ वेल्स राज्यका क्षेत्रीय सहर डब्बोमा २६ हन्टर रिजनमा १६ नयाँ संक्रमित थपिएका छन्।
शनिबार बिहान कोभिड-१९ बारे पछिल्लो जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले महामारी सुरू भएयताकै सबभन्दा चिन्ताजनक दिन भएको बताएकी छन्।
यसरी लकडाउन गर्दा पनि दिनप्रतिदिन कोरोना संक्रमण बढ्न थालेपछि न्यु साउथ वेल्समा प्रतिबन्धमा थप कडाइ गरिएको हो। जसअन्तर्गत जरिवानामा वृद्धि साथै यात्रा गर्न पाउने दूरीलाई पनि १० किलो मिटरबाट घटाएर ५ किलोमिटरमा सीमित पारिएको छ।
सिड्नी वरपर आफ्नो बासस्थानभन्दा ५ किलोमिटरको दूरीमा मात्र यात्रा गर्न पाइने नयाँ नियम लागू भएको छ।
सार्वजनिक स्वास्थ्य निर्देशनलाई उल्लंघन गर्नेहरूलाई ५ हजार डलर जरिवाना तिराइने भएको छ।
होम क्वारेन्टिनको नियम तोड्नेलाई, अनुमतिका सम्बन्धमा ढाँट्नेलाई र दुई जनाभन्दा बढी सामूहिक व्यायाम गरेमा तत्काल जरिवाना तिराइने भएको छ।
सोमबारदेखि सिड्नीका प्रभावित क्षेत्रहरू लिभरपुल, ब्ल्याकटाउन,क्याक्बलटाउन,पारामाटा,कम्बरल्यान्ड,फेयरफिल्ड,बरउड ,
क्यान्टबरी ब्यांक्सटाउन, बेसाइड, जर्जेज रिभर लगायतका क्षेत्रमा अति आवश्यक कार्य गर्न अनि व्यायाम र बालबच्चा हेर्नलाई मात्र अनुमति दिइएको छ।
बृहत सिड्नीबाट रिजनल क्षेत्रमा जानका लागि यात्रा छुटको लागि आवेदन हाल्नु पर्ने भएको छ।
यसैबीच अस्ट्रेलियाका अन्य सहरमा भिक्टोरियामा २१ नयाँ संक्रमित फेला परेका छन्। यस्तै क्वीन्सल्याण्डले ६ जना संक्रमित भेटिएका छन्।