आगामी वर्ष सन् २०२२ को जुन जुलाईदेखि अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी आउन पाउने सम्भावना बढेको छ।
अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा आप्रवास मन्त्री एलेक्स हकले अर्को वर्ष अर्थात सन् २०२२ को जुन-जुलाइ महिनादेखि अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सुरक्षित तरिकाले अस्ट्रेलिया खुल्ने सम्भावना रहेको बताएका छन्।
शैक्षिक परामर्शदाताको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट अलाइन्स (एका) ले बिहिबार मन्त्री एलेक्स हकसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्रीले नेपालमा अड्किएका र नयाँ आउन चाहने विद्यार्थीलगायतको विषयमा बोलेका हुन्।
अस्ट्रेलियाका नेपाली शैक्षिक उद्योग सञ्चालक र परामर्शदाताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अध्यामगन मन्त्री हकले केही राज्यले पाइलट प्रोगाम अन्तर्गत भिसा लागेको र उतैबाट अनलाईन पढिरहेका विद्यार्थीलाई प्रवेश दिने योजनासमेत रहेको खुलाए।
मन्त्री हकले स्पष्ट रूपमा पूर्ण रूपमा भ्याक्सीन लगाएका विद्यार्थी मात्र अस्ट्रेलिया ल्याइने भन्दै सरकारले मान्यता दिएको भ्याक्सीनलाई आधिकारीक मानिने र त्यस्ता भ्याक्सिन लगाएका विद्यार्थीले प्राथमिकता पाउने बताए।
मन्त्री हकले सबै अस्ट्रेलियन नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सीन लगाउने तयारीमा सरकार जुटेको र त्यसपछि स्वास्थ समितिले तोकेको मापदण्ड पुरा गरेर सुरक्षित रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई भित्र्याउने योजना रहेको बताए।
एकाका महासचिव कोमलराज पाठकले सहजिकरण गरेको कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा शैक्षिक व्यवशायी मन खत्रीले अहिले अस्ट्रेलियाले फाइजर, अस्ट्राजेनिका र मर्डोना खोपलाई मात्र मान्यता दिएकाले आफूहरूले नेपालबाट आउने विद्यार्थीका लागि उक्त भ्याक्सीनको व्यवस्था हुनुपर्नेमा जोड दिएको बताए।
‘अमेरिका जाने नेपाली विद्यार्थीलाई दूतावासको पहलमा मान्यता प्राप्त भ्याक्सीनको समेत व्यवस्था गरेको हामीले सुनेका छौ, अस्ट्रेलियाले पनि अस्ट्राजेनीका भए पनि भ्याक्सीनको व्यवस्था गर्नु उपयुक्त हुन्छ’, उनले भने।
जुम मार्फत सम्पन्न साक्षात्कारमा शैक्षिक तथा अध्यागमन परामर्शदाता भवानी ओलीले शैक्षिक परामर्श उद्योगको सुरक्षाका लागि राज्यको नीतिका बारेमा प्रश्न गरेका थिए।
यस्तै एनआरएनका पूर्व महासचिव नारायण कोइरालाले टीआरमा रहेका विद्यार्थीका बारेमा राज्यको पछिल्लो नीतिका बारेमा जिज्ञासा राखेका थिए।
एकाका पूर्व अध्यक्ष निरज श्रेष्ठ यात्रा अनुमतिका बारेमा जिज्ञासा राख्दा कोरोनाको नयाँ भेरियन्ट डेल्टाका कारण अत्यन्तै गम्भीर अवस्थामा मात्र अनुमति प्रदान गरिने मन्त्री हकले सुनाए।
एनएसडब्लुका महावाणिज्यदूत तथा शैक्षिक व्यवसायी दिपक खड्कासहित साक्षात्कार कार्यक्रममा एकाका पूर्वअध्यक्ष पर्शुराम अधिकारीले कोरोनाका कारण बन्द भएको नागरिकता समारोहको विषयमा प्रश्न राख्दा मन्त्री हकले त्यसलाई अनलाइन मार्फत गरिने योजनासमेत रहेको बताए।
एक्सपर्टका निर्देशक बद्री अर्यालसहित प्रदिप ढकाल, महेन्द्र ओली, हिरा कँडेल, योगेन्द्र पौडेल, सत्य प्रकाश कँडेल, सन्दिप खनाल, मणि सिलवाल, शरद भुषाल, सन्जिव पाण्डे, भिम खरेल, नारायण तिवारी, चिन्तन ढुंगेल, कमल लामिछाने, दिनेश खनाललगायत करिब आठ दर्जन शैक्षिक परामर्शदाता तथा व्यवसायीको सहभागिता थियो।
पूर्व उपाध्यक्ष राजेशराज जोशीले प्रश्न र उत्तरको सहजीकरण गर्दा एकाका अध्यक्ष भुपाल सिटौलाले अध्यागमन मन्त्री हक र सहभागीलाई धन्यवाद दिएका थिए।
‘पछिल्लो अवस्था र विद्यार्थीको चासोलाई मध्यनजर गरेर हामीले यस पटक अध्यागमन मन्त्रीसँग साक्षात्कारको व्यवस्थापन गरेका हौ’, एकाका महासचिव कोमल पाठकले सेतोपाटीसँग भने।