यतिखेर सिड्नी सुनसान छ। कोरोना भाइरसको नयाँ भेरियन्ट अस्ट्रेलियामा देखापरेसँगै अधिकांश क्षेत्रले सावधानी अपनाएका छन्। बढी संक्रमण देखिएको र घनाबस्ती भएको सिड्नीसहित अन्य केही राज्यमा लकडाउन कडा पारिएको छ। सिड्नी र यसका वरपरका क्षेत्रमा त राज्य सरकारले संकटकालको घोषणासमेत गरेको छ।
अत्यावश्यक कामबाहेक कोही पनि सर्वसाधारण घर बाहिर जान नपाउने उर्दी सरकारले जारी गरेको छ। सिड्नीका कतिपय क्षेत्रमा त घर बाहिर जानसमेत नपाउने र अत्यावश्यक काममा जानुपर्ने ब्यक्तिले हरेक तीन दिनमा कोरोना परीक्षण गर्नुपर्ने कडा नियम छ। नियम र कानुन नमान्ने जो कोही पनि कडा कारबाही र जरिवानाको भागिदार बन्नुपर्नेछ।
आइतबार सिड्नी वरपर १ सय ४१ जनामा कोरोजा संक्रमण पुष्टि हुँदा दुई जनाको मृत्यु भएको छ। मृतकमध्ये एक जना ७० वर्षिय र अर्का ३० वर्षिय महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
संक्रमण क्रमश बढ्न थालेपछि सिड्नीका सार्वजनिक यातायातमासमेत समय र संख्यामा कटौती गरिएको छ। भरिभराउ हुने ट्रेन स्टेशन सुनसान छन्। हजारौं संख्यामा सवारी साधन गुड्ने सडक खाली छन्। चहलपहल हुने शहरमा मुख्य चोकमा ताला लागेका छन्। मानिसहरू घर भित्रै थुनिएका छन्। निसासिएका छन्।
शनिबार एकाएका लामो समयदेखि निसासिएका हजारौं सर्वसाधाण घरको आँगन तोडेर सडकमा स्वतन्त्रता मनाउन आइपुगे। जुन सरकारको लागि स्वीकार्य बन्न सकेन।
सधैंझैं रमझममा रम्ने सिड्नी शहर शोकमा डुबेको घरझैं निशब्द देखिन्छ। कोलाहलका स्वरहरू गुन्जने पब र डिस्कोमा बडेमानको ताला लागेको छ।
यसैबीच सिड्नीमा शनिबार ‘हामीलाई लकडाउन चाहिदैन, गरिखान देऊ…, लगायतका नारा लगाउँदै करिब तीन हजार मानिसले शहरको मुख्य चोकमा नारा जुलुस लगाए।
एकातिर रोगको त्रास भने अर्को तिर स्वतन्त्राको आशमा मानिसहरू राज्यको घेरा तोडेर सडकमा निस्किएका मध्ये करिब ५७ जनालाई राज्यले जरीवाना गराएको छ भने दुई जनालाई अदालतमा मुद्दासमेत दायर गरेको छ।
लकडाउन तोडेर सडकमा आउने भिडमध्ये सिसी टीभी क्यामेरा हेरेर थप दुई सय जनालाई कारबाही अगाडि बढाउने अष्ट्रेलियन प्रहरीले जनाएको छ।
यतिखेर तपाई आफ्नो घर छाडेर आफन्त या साथीभाइको घर जानुभयो भने पनि तपाईका लागि यो निकै महंगो हुनसक्छ। व्यक्तिगत रूपमा घुमघाम गर्ने स्वतन्त्रता तपाईँलाई छैन। किनकि, यो तपाई मात्र हैन सर्वसाधारणको लागि घातक बन्नसक्छ।
ब्यक्तिगत रूपमा तपाईले मास्क नलगाउनेदेखि अनावश्यक घुमघाम गरेको पाइए ठाउँको ठाउँ एक हजार डलर जरीवाना र व्यापार व्यवसायको हकमा पाँच हजार डलर जरिवाना तोकिएको छ। तपाईँ साथीभाइ र आफन्तको घर जानु भएको छ भने त जरीवाना दस हजार डलरभन्दा भन्दा बढी पनि पर्नसक्छ।
यसैबीच लकडाउन र संकटकाल बीच एनआरएन अस्ट्रेलियाको निर्वाचन आउँदो शनिबार हुँदैछ। चिसिएको अस्ट्रेलियन शहरहरु एनआरएनको चुनावीको रन्कोमा एकाएक राँकिएका छन्।
सधैझैं बार्बीक्यु र पार्टीहरू मनमै अनि घरमै सिमित हुन पुगेपछि सबैको सहारा सञ्चारमाध्यम र सामाजिक सन्जाल बनेका छन्। सामाजिक सन्जाल खोल्ने बित्तिकै राता र हरिया पोष्टरले पेज भरिभराउ भएको पाइन्छ्।
फेसबुकमा मित्रताका आग्रहले ढपक्कै छोपेका छन्। परोपकारी कार्यका लागि करिब साढे तीन सयले विभिन्न पदमा उमेद्वारी दिएका छन्। त्यति मात्र होइन सन्जालमा अर्कालाई खुइल्याउने र आफ्नालाई चोख्याउने कर्म भड्किलो रूपमा प्रारम्भ भएका छन्।
एक हप्ता मात्र बाँकी रहँदा एनआरएनमा दुई वटा समूह स्पष्ट रूपमा चुनावी मैदानमा विभिन्न कलर र कलेवरमा उत्रिएका छन्।
कसैको धनको रवाफ र कोहीको मनको बहावले चुनावलाई निकै भड्किलो र अमिलो बनाएको देखिन्छ। कसैले सिन्डीकेटको विरोध गरेका छन् भने कोहीले राजनीतिक इन्डीकेटलाई प्राथमिकता दिएका छन्।
जे होस् कोरोना कहरमा आफ्ना रहरहरू त्यागेर सिड्नीको चिसोमा चार दिवार भित्र रमाउने सबै मनलाई स्वस्थ्य र मस्त रहन मेरो नमन।