यही जुलाइ ३१ तारिखमा हुने एनआरएन अस्ट्रेलियाको निर्वाचन अगावै पतिस्पर्धी बनेका ‘हाम्रो र राम्रो एनआरएन’ टोलीका अभियन्ता बाबुराम गौतमले प्रतिस्पर्धामा युवा पुस्ताका प्रतिनिधि अनिल पोखरेललाई बाटो प्रसस्त गरिदिएका छन्।
निकै प्रतिस्पर्धात्मक निर्वाचनमा डा ज्ञानेन्द्र रेग्मी समूहबाट मैदानमा उत्रिएका बाबुरामले यस कार्यकालमा एनआरएन अस्ट्रेलियालाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने चार्टड एकाउन्टेन्ट समेत रहेका अनिल पोखरेलविरुद्ध उमेदवारी फिर्ता लिने निर्णय गरेको बताए।
‘हाम्रो भनेको सबैको र राम्रो भनेको सबैको प्रिय भन्ने मैले बुझेको छु, यसैले हामी सबैको एनआरएन बनाउँदै गर्दा जुनै समूहबाट आए पनि राम्रो मान्छे छुट्नु हुँदैन भन्ने हाम्रो मान्यता हो। त्यसैले पछिल्लो कार्यकालमा वाहावाही कमाएका अनिललाई बाटो छेक्नु हुँदैन भन्ने निष्कर्षमा पुगेँ र सबै साथीको सुझाबमा उमेद्वारी फिर्ता लिने निर्णय गरेको हुँ’ , बाबुरामले भने।
परोपकारी अभियानमा जुटेका युवा पुस्तालाई निर्वाचन र प्रतिस्पर्धाको राजनीति भित्र ल्याउँदै गर्दा उनीहरू हतोत्साही हुने भन्दै उनले आफू बिना पदमा पनि यो अभियानमा सामेल हुने निर्णय गरेको बताए।
यता कोषाध्यक्षमा निर्विरोध निर्वाचित अनिल पोखरेलले बाबु दाइले छाडेको भन्ने आफूले अपुष्ट खबर पाएको भन्दै यदि साच्चीकै हो रहेछ भने यो उहाँको जित भएको बताए।
‘बाबुराम दाजुले पद बिनानै समाजसेवा र परोपकारी अभियानमा सामेल हुने निर्णय गरेर हामीलाई नैतिक रुपमा परास्त गरिदिनुभएको छ’, उनले भने।