केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएका अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल यतिखेर कोरोना र लकडाउनका कारण अस्ट्रेलियामै छन्।
यही बिचमा नेपाली राजनीतिले नयाँ मोड लिएको छ। सर्वोच्च अदालतको परमादेश पछि नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएका छन्।
यो सँगै ओलीले गरेका राजनीतिक नियुक्ती, सरुवा र कारबाहीका विषयमा सरकारले धमाधम निर्णय गर्न थालिसकेको छ।
ओली सरकारले गरेको एआइजी सरूवा रोक्ने प्रकृया थालिसकेको छ। यस्तै केपी ओली नेतृत्वको सरकारले सिफारीस गरेका राजदूतको नियुक्ति प्रकृया शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले रद्द गर्ने निर्णय गरिसकेको छ।
यस्तो अवस्थामा दुई वर्ष नपुग्दै फिर्ता बोलाइएका राजदूत दाहालको सवालमा नयाँ निर्णय आउनसक्ने सम्भावना देखिएको छ।
‘म त नेपाल फर्कने तयारीमा जुटेको छु, पद हस्तान्तरण गरेर कोरोना, लकडाउन र विमान अवरूद्धका कारण केही समय यता बस्नुपरेको हो’, फिर्ता बोलाइएको दाहालले सेतापाटीसँग भने।
पछिल्लो समय कोरोना संक्रमित ह्वात्तै बढेसँगै अस्ट्रेलियाले केही राज्यमा लकडाउन लगाएको छ। अन्तर्राष्ट्रिय सिमा बन्द छन्। कोरोनाकै कारण उनी अष्ट्रेलियामै बसिरहेका छन्।
‘मलाई सरकारले नियुक्ती दिएर पठाएको हो। आएँ र मुलुकको हितका खातिर काम गरेँ। फेरि फिर्ता बोलाइयो समय र परिस्थितिका कारण केही दिन बस्नुपर्यो, अब जाने तरखरमा छु’, उनले भने।
दाहाल ओली सरकारकै पालामा नेकपामा माओवादी कोटामा राजदूत नियुक्त भएका थिए। माओवादी नेता प्रचण्ड निकट दाहाल लामो समय कांग्रेसी राजनीतिमासमेत सक्रिय थिए।
कुनै समय चितवनको कांग्रेसी राजनीतिमा सक्रिय दाहाल एकाएक प्रचण्डलाई सहयोग गर्न माओवादी प्रवेश गरेपछि चितवनमा निकै हल्लीखल्ली मच्चिएको थियो।
वाकचातुर्यका धनी तथा सहज र सरल व्यक्तीत्वका कारण पनि राजदूत दाहाल अस्ट्रेलियाको नेपाली समुदायमा चाडै घुलमिल भए। उनको कार्यकालमा नेपाली समुदाय र राजदूतावासबीच घनिष्ठ सम्वन्धको विकास गरे।
राजनीतिबाट माथि उठेर हरेकखाले समस्यामा उनी सारथी भइरहँदा प्रचण्ड निकट भएकै कारण ओली सरकारले उनलाई फीर्ता बोलाएको दाहालको दाबी छ।
तत्कालिन ओली सरकारले दाहाललाई फिर्ता बोलाएर उनको स्थानमा सुम्नीमा तुलाधरलाई सिफारीस गरेको थियो।
यसैबीच शुक्रबार बसेको देउवा मन्त्रिपरिषद बैठकले सबै राजदूतको नियुक्ती प्रकृया बदर गर्ने निर्णय गरेपछि अब दाहालको पुर्न बहाली हुने सम्भावना बढेको छ।
छोटो समयको अस्ट्रेलिया बसाइ भावनात्मक रूपमा निकै लामो रहेको भन्दै राजदूत दाहालले सौर्हादताको सवालमा आफू अत्यन्तै प्रभावित भएको सुनाए।
२१ महिनाको कार्यकालमा दूतावासको भवन प्रकृया, दुई देश बीचको उच्चस्तरीय भ्रमण, ब्यापार सम्झौता, सिधा हवाई उडानको सम्भावना र सिप ज्ञान र प्रविधिलाई मुलुकसम्म लग्ने काममा सफलताको बाटो पहिल्याउने काम गरेको दाहालले सेतोपाटीलाई बताए।
केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका विभिन्न देशका ९ जना राजदूतको नियुक्ती रद्द गर्ने सरकारले निर्णय गरेको छ।
शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।
यसअघि ओली सरकारले ११ जना राजदूत सिफारिस गरे पनि दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको सिफारिस खारेज नभएको र राजनीति भागवण्डाका आधारमा गरिएका सबै सिफारिसलाई रद्द गरिएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।
संसद् विघटन भएकाले संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।
ओली सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्। बाँकी नौ जना राजनीतिक नियुक्तिअन्तर्गत सिफारिसमा परेका थिए।
फिर्ता बोलाउने निर्णय गरिएका राजनीतिकआधारमा सिफारिसमा परेका राजदूतहरु :
• दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा
• अस्ट्रेलियाका लागि सुम्नीमा तुलाधर
• बहराइनका लागि युवराज कार्की,
• श्रीलंकाका लागि रमेशचन्द्र पौडेल
• म्यानमारका लागि नारायणप्रसाद संग्रौला
• ब्राजिलका लागि कुलप्रसाद नेपाल
• डेनमार्कका लागि सुमीत्रा सुवेदी
• साउदी अरेबियाका लागि मेराज मुसलमान
• रसियाका लागि जंगबहादुर चौहान