कोरोनाको संक्रमण बढिरहेको भन्दै सिड्नीमा जारी लकडाउन कडा पारिएको छ। योसँगै अत्यावश्वक बाहेकका सबै खाले सेवाहरु शनिबार रातीदेखि बन्द हुनेछन्।
सिड्नीमा पछिल्लो २४ घन्टामा कोरोनाका १११ नयाँ संक्रमित फेला परेपछि राज्य सरकारले कोरोना प्रभावित केही क्षेत्र सिल गरेको छ। सिल भएका क्षेत्र ब्याङ्कसटाउन, लिभरपुल, फेयर फील्ड र क्यान्टबरी क्षेत्रका मानिसहरू घर बाहिर निस्कन नपाउने भएका छन्।
यद्यपी स्वास्थ क्षेत्रमा काम गर्ने डाक्टर तथा कर्मचारी र आकस्मीक सेवामा काम गर्नेबाहेक अन्य कोही पनि घर बाहिर निस्कन नपाउने भएका हुन्।
आइतबारदेखि अत्यावश्यक बाहेकका पसल बन्द हुनेछन् र क्लीक एन्ड कलेक्ट, टेक अवे तथा होम डेलिभरी सेवा भने सञ्चालन गर्न पाइनेछ। सोमबारदेखि अत्यन्तै जरुरीबाहेकका मर्मत कार्यहरू, सरसफाइ सेवाहरु समेत बन्द हुनेछन्।
पछिल्लो २४ घन्टामा सिड्नीमा एक ८० वर्षिय पुरूषको कोरोना संक्रमणबाट ज्यान गएको छ।
यो लकडाउन आगामी ३० जुलाइ रातीसम्मका लागि लागू हुनेछ।
समुदायमा कोरोना तिब्र रूपमा फैलिएको भन्दै जारी लकडाउन कडा पार्नु परेको न्युसाउथवेल्स राज्यकी प्रीमियर ग्लाडिस बेरिजिक्लियनले बताइन्।
यसैबीच मेलवर्न वरपरका क्षेत्रमा शुक्रबार रातीसम्म १९ सामुदायिक संक्रमण फेला परेका छन्।
यस्तै भिक्टोरियाले आफ्नो राज्यमा कोरोनाको जोखिम रहेकाले थप फैलन नदिन पाँच दिने लक डाउन घोषणा गरिसकेको छ।