एक जना ड्राइभरमार्फत सिड्नीमा फैलिएको कोरोनाले पछिल्लो समय उग्र रूप लिँदा थप कडाईका साथ न्यू साउथवेल्स सरकारले जुलाई ३० सम्म लम्ब्याएको छ।
शुक्रबारको तथ्यांक अनुसार एकै दिन सिड्नी क्षेत्रमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसमध्ये २९ जना नयाँ संक्रमित समुदायमा घुलमिल भइसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एनएसडब्लु राज्यकी प्रिमीयर ग्लाडिस बेरिजिक्लियनले संक्रमणको अवधिमा आइसोलेसन नबस्दा समस्या थपिँदै गएकोमा चिन्ता ब्यक्त गरेकी छिन्। ‘समुदायमा रहँदा सक्रमित भएका मानिसको संख्या दिनप्रतिदिन बढिरहेको छ,’ उनले शुक्रवारको कोरोना ब्रिफिङमा बताइन्।
फेलापरेकामध्ये ६७ जना दक्षिण–पश्चिम सिड्नीका छन् भने अधिकांश संक्रमित एकै घरका परिवार वा संक्रमित निकट रहेका मानिस भएको भएता पनि सम्बन्ध पुष्टि भइसकेको छैन।
न्युसाउथ वेल्स राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी चान्टले राज्यका अन्य क्षेत्रमा मानिसहरू पनि उच्च सतर्कतामा रहनुपर्ने बताइन् ।
हाल न्युसाउथवेल्स राज्यका ७५ जना संक्रमित विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। ती मध्ये १८ जनाको सघन उपचार कक्ष र पाँच जनाको भेन्टिलेटरमा उपचाररत छन्।
यसैबीच पछिल्लो २४ घण्टामा लकडाउन उल्लंघन गर्ने १६४ जनालाई जरीवाना गर्नुको साथै २ सय जनालाई नसिहतमा छाडिएको छ।
यस्तै सीड्नी क्षेत्रबाट भिक्टोरिया पुगेका ब्यक्तिका कारण समुदायमा कोरोना संक्रमण देखिएपछि मेलवर्नमासमेत लकडाउन लगाइएको छ।
बिहिबार रातिसम्म थप ६ जनामा कोरोना संक्रमण देखिएपछि भिक्टोरियाले पाँच दिनका लागि भनेर लकडाउन घोषणा गरेको छ। भिक्टोरियामा यो लकडाउन लगाइएको पाँचौ पटक हो।