अष्ट्रेलियाको न्युसाउथवेल्स राज्य सिड्नीमा बिहिबार रातिसम्ममा थप ४४ जनामा कोरोना सक्रंमण पुष्टि भएपछि राज्य सरकारले शुक्रबार साझँदेखि जारी लकडाउन थप कडा बनाउने भएको छ।
न्युसाउथवेल्स राज्यकी मुख्यमन्त्री ग्लाडिस बेरिजिक्लियनले नयाँ संक्रमणमा २९ जना समुदायमा घुलमिल भएको देखिएकोले संक्रमण बढनसक्ने र यसले ठूलो समस्या ल्याउने भन्दै संक्रमण रोक्न लकडाउनलाई कडाइका साथ लागू गर्नुपर्ने बताइन्।
यो सँगै लकडाउनबीचमा थप प्रतिबन्ध लगाइएको छ। जसमा शुक्रवार बेलुका ५ बजेदेखि मानिसहरूले बढीमा दुई जनाको समूह वा आफ्नै घर परिवारको समूहमा मात्रै व्यायाम गर्न पाउनेछन्। आफू बसेको स्थानभन्दा १० किलोमिटरको परिधिभित्र मात्र व्यायाम गर्न सकिनेछ।
यसबाहेक अत्यावश्यक सामान खरीदका लागि एक घरको एक ब्यक्ति मात्र बाहिर निसक्न पाउने छन्। आइतवारदेखि मलामी जाने मानिसको संख्या बढीमा १० जनामा सीमित गरिएको छ। यसबाहेक आफन्त, साथीभाइ र छरछिमेकमासमेत अत्यावश्यक काममा बाहेक जान पाइने छैन।
अहिले कोरोनाको डेल्टा भेरियन्ट संक्रमणका कारण न्युसाउथवेल्स राज्यमा स्वास्थ क्षेत्रमा काम गर्ने दर्जन बढी नेपाली कोरोनाबाट संक्रमित छन्। यसरी पछिल्लो अवस्थामा फैलिएको कोरोनाको अवस्था हेर्दा करिब चार सय केसमा चालिस जना अस्पतालमा उपचार्थ र १० जना आइसीयुमा छन्। त्यसमा एक जना २० वर्ष उमेरका व्यक्ति रहेकोले यो संक्रमण निकै डरलाग्दो देखिएको ग्लाडीसले सुनाइन्।
न्युसाउथवेल्सकी मुख्यमन्त्री ग्लाडिसले यसबारे गहिरो चिन्ता व्यक्त गर्दै आउँदा दिनमा सामुदायिक संक्रमणका घटना अझै बढ्नसक्नेप्रति राज्यवासीलाई सतर्क गराएकी छिन्। ग्लाडिसले भनिन, ‘डेल्टा भाइरससँगको लडाइँमा सबैभन्दा उत्तम अस्त्र भनेकै खोप हो। न्यु साउथवेल्स राज्यमा कुल जनसंख्याको ९ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको अवस्था रहेको छ।’
प्रहरीले बिना कारण घुमघाम गर्न हिँडेकालाई सोधपुछ र कारबाही पनि बढाएको छ। यो सँंगै फेसरफील्ड, लिभरपुल र ब्यांकसटाउन क्षेत्रमा प्रहरीले विशेष अभियाननै अगाडि बढाएको छ।
ग्लाडिसले मानिसलाई अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन चेतावनी दिँदै लकडाउन अवधि थप लम्बिनेसक्ने संकेत गरेकी छिन्।
‘महामारी सुरू भएयता न्युसाउथ वेल्समा हामीले सबैभन्दा ठूलो चूनौती भोगिरहेका छौँ, केही नाटकीय परिवर्तन भएर संक्रमण संख्या घट्यो भने अर्कै कुरा हो, नत्र यो लकडाउन लम्बिन सक्छ’, उनले भनिन्।
न्युसाउथवेल्स राज्य सरकारले आगामी जुलाई १६ सम्म लकडाउन लम्बाइएको छ।