अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा जारी लकडाउन थप एक साता लम्बिएको छ।
सीड्नी र वरपर पछिल्लो २४ घण्टामा २७ नयाँ संक्रमण फेलापरेपछि न्युसाउथवेल्स राज्य सरकारले आगामी जुलाई १६ सम्म लकडाउन लम्बाइएको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताइन्।
भाइरसको डेल्टा स्ट्रेन निकै घातक रहेको र यसको संक्रमणदर निकै बढी भएकाले लकडाउनको समयावधि थप्नु परेको राज्यकी प्रिमियर ग्लाडिसले जानकारी गराइन्।
‘डेल्टा स्ट्रेन अरू भाइरसभन्दा अति छिटो सर्छ। लकडाउन लगाउँदै हटाउँदै गर्नुभन्दा, यही लकडाउनलाई लम्बाउने अहिलेको लागि उचित निर्णय हो,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा बेरेजिक्लियनले भनिन्।
लकडाउनको निर्णयपछि ग्रेटर सिड्नीका विद्यार्थीले आउँदो हप्ता अनलाइनमार्फत आफ्नो पढाइ गर्नुपर्ने भएको छ । तर अनिवार्य कामका लागि जानुपर्ने अभिभावकका बालबालिका र लकडाउनमा नपरेका क्षेत्रका विद्यार्थीभने विद्यालय गएर पढ्न पाउनेछन्।
रिजनल न्यु साउथ वेल्समा भने अहिलेसम्म कुनै संक्रमण देखा परेका छैन।
वेस्टर्न सिड्नीका लिभरपुल क्यान्टबेरी र फेयरफील्ड क्षेत्र अधिक जोखिममा रहेकाले स्थानीयलाई सजग र सचेत हुनसमेत सरकारले आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक घर बाहिर नजानसमेत प्रीमियर ग्लाडिसले अनुरोध गरेकी छन्।
यसैबीच भिक्टोरियाको मेलबर्नमा बिहीबार ८ जुलाईको रातिदेखि प्रतिबन्ध हटाइने भएको छ ।
ग्राहकसँग प्रत्यक्ष सम्पर्क हुनेबाहेक अन्य कार्यस्थलमा मास्क अनिवार्य हुने छैनन्। तर भवन भित्रका स्थान र सार्वजनिक स्थलमा भने मास्क प्रयोग अनिवार्य बनाइएको छ।