लामो विवाद र आपसी असहमतीबीच नेपाली कांग्रेस केन्द्रीय कार्यालयले २१ सदस्यीय अधिवेशन तयारी समिति बनाएर पठाएपछि चुनावी प्रकृया अगाडि बढाएको छ।
अधिवेशन तयारी समितीको पहिलो बैठकले आगामी जुलाई १५ तारिखसम्म म्याद तोकेर सदस्यता खुला गरेको छ। अनलाइन गुगल फर्ममार्फत खुला गरिने सदस्यताका लागि योग्य जो कोहीले पनि आवेदन दिनसक्ने छन्।
आवेदनपछि भने विधान बमोजिमको योग्यता पुगेको हेरेर सक्रिय सदस्यता फाराम प्रदान गरिने समितिले निर्णय गरेको छ। सदस्यताको लागि सत्तरी डलर शुल्क निर्धारण गरिएको छ।
जसबाट पचास डलर केन्द्रलाई सक्रीय सदस्य शुल्क वापत पठाइनेछ। यसै बैठकबाट लामो समयदेखि विवादित जनसम्पर्क समितीलाई एकताको शुत्रमा बाध्ने र निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गर्ने मौकालाई सबैले सदुपयोग गर्नुपर्ने राय अधिकांश सदस्यले व्यक्त गरे।
पहिलो बैठकले सदस्यता वितरणमा कुनै पनि विभेद नगरी गुगल फर्ममार्फत खुला रूपमा अगाडि बढने र योग्यता पुगेका सबैलाई सक्रिय सदस्य बनाएर निर्वाचनमा जाने निर्णय समेत गरिएको छ।
‘केही साथीको असहमती बीच पार्टीले गरेको निर्णयलाई सबैले मिलेर स्वागत गर्नुपर्छ। र यसलाई समाधानको वाटोमा लाने मौकाको रुपमा लिनुपर्छ’, संयोजक कृष्ण गिरीले भने।
यसैबीच अधिवेशन तयारी समितीका दुई सदस्यले भने राजीनामा दिएका छन्। बैठकमा २१ मध्ये १५ जनाको उपस्थिति थियो। अधिकांश सदस्यले अधिवेशन तयारी समिती बनेन भन्ने र बनेपछि त्यसको विरोध गर्ने परम्पराको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका थिए।
सदस्यहरु गणेश केसी, प्रेम सापकोटा, निरज श्रेष्ठ, निल थपलियालगायतले यो अस्ट्रेलियामा छरिएर रहेका सबै कांग्रेसहरूलाई एकतामा बाँधेर लाने मौकाका रूपमा भएकाले यसमा चुक्न नहुने बताए।