अस्ट्रेलियाको केन्द्रबिन्दु न्यूसाउथ वेल्सको सिड्नीबाट कोरोनाभाइरस फैलँदै जाँदा देशभरनै लकडाउन, प्रतिवन्ध तथा आन्तरिक सिमा बन्द भएका छन्।
सिड्नीमा पछिल्लो २४ घन्टामा १८ जनामा कोरोनाका बिरामी थपिएका छन्। यो समुदायमा फैलिएकोले हुनाले अझ केही दिन संख्या बढन सक्ने विज्ञले बताएका छन्।
निकै खतरनाक मानिएको डेल्टा भेरिएन्टको कोरोना भाइरस फैलदै जाँदा विभिन्न राज्यले प्रतिबन्ध तथा लकडाउनको निर्णय समेत गरेका छन्।
अघिल्लो महिना दुई साता लामो लकडाउन खेपेको भिक्टोरिया (मेलवर्न) मा भने संक्रमणका घटना निकै कम देखिएका छन्।
सिड्नीमा संक्रमणको प्रभाव बढेपछि दुई साता लकडाउनको घोषणा भइसकेको छ।
महामारी सुरू भएयता नै पहिलो पटक सामुदायस्तरमा संक्रमण देखापरेको नर्दन टेरिटोरीको बृहत् डार्विन क्षेत्रलगायत पाल्मस्टर्न र लिचफिल्ड पनि हाल दुई साता लामो लकडाउन घोषणा गरिएका छन्।
निकै प्रभावकारी रूपमा कोभिड–१९ लाई सम्बोधन गरेको वेस्टर्न अस्ट्रेलियाको पर्थ र पील क्षेत्र पनि तीन दिनका लागि कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्धहरूलाई कडा बनाइएका छन्। २४ घन्टामा पर्थमा एक महिलामा कोरोना संक्रमण देखिएको छ।
यसैबीच साउथ अस्ट्रेलिया (एडिलेड) ले पनि सतर्कताका लागि भन्दै आफ्नो सीमा तास्मेनियावासी र भिक्टोरियावासी बाहेकका लागि हालका लागि बन्द गर्ने निर्णय गरेको छ।
एडिलेड वरपर मास्क अनिवार्य र सामाजिक दुरी कायम गरिनुपर्ने नियम लगाइएको छ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको अस्ट्रेलियन क्यापिटल टेरिटोरीले पनि कोरोनाभाइरस छिमेकी राज्य न्यु साउथ वेल्समा बढ्दै गएपछि सार्वजनिक यातायातका साधन र भवन भित्रै मास्क लगाउन अनिवार्य गरेको छ।
न्यु साउथ वेल्सको पछिल्लो स्थिति अनुरूप सिड्नीको चर्चित बिच बोन्डाइबाट फैलन सुरु भएको कोभिड–१९ को पछिल्लो लहरले हालसम्म १३० जनालाई संक्रमित गरिसकेको छ। लकडाउनमा बिना कारण बाहिर निस्किएका मानिसमाथि धमाधम कारबाही समेत अगाडि बढाइएको छ ।
न्यु साउथ वेल्सका प्रहरी कमिस्नर मिक फुलरले २४ घन्टे समयावधिमा मास्क सम्बन्धी नियमहरूको पालना नगरेको भन्दै ४४ जनालाई कारबाही गरिएको बताए।
यसैगरी बीना कारण लकडाउन प्रभावित क्षेत्रमा घर बाहिर घुम्न निस्केका मानिसलाई पनि दण्ड जरीवाना गरिएको फुलरले बताए। त्यति मात्र होइन साउथकोष्टको समुन्द्री किनार र गोलवर्नमा बिना मास्क घुम्न निस्किएका दुई ब्यक्तिलाई जनही एक-एक हजार डलर जरीवाना गरिएको छ।