अष्ट्रेलियामा ओभरसीज नेप्लीज फोरम, नेपाली जनप्रवासी मन्चसहित नेपाली समाज अस्ट्रेलियाले एनआरएन अस्ट्रेलियाले निर्वाचनको घोषणापछि पनि विधान विपरित गरिएका कामहरू खारेज गर्न माग गरेको छ।
मंगलबार सामुहिक पत्रकार सम्मेलन गर्दै उनीहरूले निर्वाचन घोषणापछि अनैतिक काम अगाडि बढाएको भन्दै त्यसलाई खारेज नगरे बाध्य भएर कानुनी बाटो रोज्ने बताएका हुन्।
समावेसी समूहका संयोजक तथा ओएनएफका अध्यक्ष राजन कुमार बस्नेतले परोपकारी कार्य गर्ने संस्थामा स्वःस्फूर्त सदस्य बन्नुपर्नेमा पेपल र गीफ्ट कार्डको प्रयोग गरेर जबरजस्ती सामुहिक सदस्य बनाउने अनैतिक कार्य रोक्न आफूहरू लागिपरेको र नरोकिएको वाध्यात्मक परिस्थीतिमा कानुनी उपचार खोज्ने बताए।
यसअघि सन् २०१९ मा सामुहिक सदस्यता बनाइएको भन्दै मेलवर्नका पूर्व एसीसी सदस्य गणेश गौतमले मुद्दा दायर गरेपछि आइन्दा सामुहिक दस्तुर प्रकृयालाई रोक्ने सहमतीमा मुद्दा फिर्ता भएको स्मरण गरे।
सो सहमतिमा भिक्टोरियाका महावाणिज्यदूतको रोहबरमा एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल स्वयंले हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
‘हामीले संस्थाको गरिमा र यसको महत्वलाई आत्मसाथ गर्दै यसको भावना अनुरुप अगाडि बढाइनुपर्छ भन्ने मान्यताका साथ यो कदम उठाएका हौ, निर्वाचनको मिति तय भैसकेको अवस्थामा अनेकन वहाना र बैठकका नाममा विधान बिपरितको कार्य गर्न पाइदैन, त्यसले संस्थामा दुर्घटना निम्ताउँछ’, बस्नेतले बताए।
एनआरएनका पूर्व कोषाध्यक्ष अच्युत थपलीयाले मनलाग्दी निर्णय गरेको निर्वाचनलाई प्रभावित गर्न खोज्न गलत भएको भन्दै यसअघि एउटै बैंक एकाउन्टबाट १ सय ५१ जना सम्म सदस्य बनेको कारण यो प्रवृत्ती रोक्न आफूहरू जस्तोसुकै निर्णय गर्न पनि तयार रहेको बताए।
कार्यक्रममा एनआरएन न्युसाउथवेल्सका डेपुटी कोअर्डिनेटर चुन्ना क्षेत्रीले गलत प्रवृती रोक्ने र संस्थालाई सामुहिक भावनामा अगाढि बढाउने प्रयासमा आफूहरु लागि परेको बताए।
कार्यक्रममा नेपाली समाज अस्ट्रेलियाका उपाध्यक्ष उपेन्द्र श्रेष्ठले एनआरएनको भावना अनुरूप संस्था अगाडि बढन नसकेकोमा दुःख ब्यक्त गरे। वक्ताहरुले विधानको गलत ब्याख्या गरेर उमेद्वारी बन्न नदिने चलखेल समेत भएको भन्दै विरोध समेत गरेका थिए।