अस्ट्रेलियामा आर्जन गरेको सीपलाई नेपाल लगेर बाढ्न सफल सिड्नी निवासी खेम शर्माको पुस्तक स्वर्णिम रहस्य बिमोचन भएको छ।
विशेषगरि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पुशपतिनाथ र अस्पताल सरसफाई गरेर चर्चामा आएका खेमको पहिलो कृति स्वर्णिम रहस्यको एक कार्यक्रमबीच अस्ट्रेलियाका लागि नेपाली राजदूत महशेराज दाहाललगायतले बिमोचन गरे।
कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्का, नेपाली समाजका अगुवा नारायण प्रधान, इन्द्रा वन, साहित्यकार केदार पोखरेल ,कानुनविद शम्सेरसिंह थापा, एनआरएन आइसीसी उपाध्यक्ष मन केसी, एनआरएनका महासचिव ज्ञानेन्द्र रेग्मी, पत्रकार महासंघ अस्ट्रेलियाका अध्यक्ष ऋषी आचार्य लगायतले सामुहिक रुपमा पुस्तक बिमाचन गरेका थिए।
कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाको बाक्लो उपस्थिति थियो। राजदूत दाहालले पुस्तक बिमोचन गर्दै मानव जीवनको महानतम् उद्धेश्य बोकेर जिवनलाई कसरी सफतीभूत पार्ने भन्ने सोचका साथ खेम शर्माले ल्याएको यो पुस्तक वर्णन गर्न लायक रहेको बताए।
‘मानिसको शरीर मरेर जान्छ तर उसका लेखनीहरु कहिले मर्दैनन् र सधै सबैको मन मुटुमा बसिरहन्छन्’,दाहालले भने।
विदेशमा बसे पनि नेपाली माटो भनेपछि हुरूक्क हुने शर्माले कोरोनाको पछिल्लो कहर र त्यसपछि होटल क्वारेन्टाइनको समयलाई सदुपयोग गरेर जीवन निर्धक्क जिउने सोचलाई लिपीवद्ध गरेर किताबका रुप दिएको बताए।
खेम शर्माले जीवन जगतलाई नजिकबाट चियाउने प्रयास यस पुस्तकमार्फत गर्न खोजेको र दैनिकीलाई नियमित रुपमा संयमित भएर लिपीवद्ध गर्न सके मानीस सुखि र खुसी रहन्छ भन्ने पुस्तकको मुख्य ध्येय रहेको बताए। ‘यो मेरो जिवनको भोगाइ र सिकाइ मात्र हो। एउटै पुस्तकले मानवलाई एकाएक सबैकुरा सिकाउँछ भन्ने पनि होइन तर यसलाई पढेर अनुशरण गरे परिवर्तन भने पक्कै आउँछ भन्ने मेरो निचोड हो’, उनले सुनाए।
कार्यक्रममा वरिष्ठ साहित्यकार केदार पोखरेलले कृतिमाथि समिक्षा गर्दै खेमको पहिलो कृतिमा आफूले निकै उत्कृष्ट भाव र भोगाइ भेटेको बताए। पुस्तक पढ्दै गर्दा यो पहिलो होइन निखारिएको र अनुभवी लेखाइका रुपमा मैले पाए, साहित्यकार पोखरेलले सुनाए।
कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक होम पाण्डे, वरिष्ठ कानुनविद शम्सेरसिंह थापा, पूर्व ओसेनिया संयोजक धर्म अधिकारी, सामाजिक अभियन्ता भवानी ओली, रन्जु थापा, दिनेश जोशी, बालचन्द्र भट्टराइ, डिल्ली ढकाललगायतले खेम शर्मालाई शुभकामना प्रदान गरेका थिए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्षहरु गणेश केसी, महेन्द्र ओली, आइसीसीका पूर्वयुवा संयोजक विजय पोखरेललगायतको उपस्थिति थियो।