यात्रा अवरोधका कारण स्वदेश फर्कन नपाएका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई विभिन्न सामाजिक संघ संस्थाले बिदाइ गर्ने क्रम जारी राखेका छन्।
करीब दुई वर्षअघि नियुक्त पाएका दाहालले छोटो समयमा अस्ट्रेलियाका नेपाली समुदायलाई जोड्ने र मुलुकको पहिचान खोज्ने काम गरेको भन्दै शैक्षिक परामर्शदाताको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्स (एका) ले सोमबार एक सम्मान सहित बिदाइ गरेको हो।
कार्यक्रम अधिकांश वक्ताले मुलुक आपतविपतमा परेको बेला मुलुकलाई सहयोग जुटाउने राजदूत बिना कारण फीर्ता बोलाउनु गलत भएको जिकिर गरे।
कार्यक्रममा बोल्दै राजदुत दाहालले छोटो समयको अस्ट्रेलिया बसाइ भावनात्मक रुपमा निकै लामो रहेको बताउँदै सम्भावना र सौर्हादताको सवालमा आफू अत्यन्तै प्रभावित भएको सुनाए। भौतिक रुपमा एक आपस बीचको सम्वन्ध गासिए पनि मनमुटु भित्र जोडिएको सवालमा संसारको जुनैसुकै कुनामा रहे पनि यो आत्मीय बनेर रहिरहने दाहालले बताए।
२१ महिनाको कार्यकालमा राजदूतावासको भवन प्रकृया, दुई देश बीचको उच्चस्तरीय भ्रमण, ब्यापार सम्झौता, सिधा हवाई उडानको सम्भावना र सिप ज्ञान तथा प्रविधिलाई मुलुकसम्म लग्ने काममा सफलताको बाटो पहिल्याउने काम गरेको उनले दाबी गरे।
सरकारले आफूलाई फिर्ता बोलाए पनि मुलुक फर्कने हवाइ उडानको समस्याले आफू अरु केहि दिन अष्ट्रेलियामै बस्नु पर्ने दाहालले बताए।
कार्यक्रममा बोल्दै एकाका कोषाध्यक्ष योगेन्द्र पौडेलले समुदाय र नेपाली संघ संस्थाका लागि सहज पुहुँच बनेको राजदूत दाहालका कारण पहिलो पटक साच्चीकै अस्ट्रेलियामा नेपाली राजदुतावास रहेको महशुस गरेको बताए।
कार्यक्रममा एकाका पूर्व अध्यक्ष पर्शुराम अधिकारीले राजदूतावास र राजदूत नेपालीको शान र मानका रुपमा रहेकोले यस विषयमा राज्य गम्भीर हुनुपर्ने बताए। नियुक्त गर्न ६ महिना लगाउने अनि गुण र दोष नहेरी राजनीतिक स्वार्थका आधारमा एक मिनेटमै फिर्ता बोलाउने परम्पराको अन्त हुनुपर्ने अधिकारीले बताए।
कार्यक्रममा एकाका अध्यक्ष भुपाल सिटौलाले छोटो समयका वाबजुद अप्ठयारो परिस्थितिमा समेत एका र दूतावास मिलेर नेपाली विद्यार्थीको हितमा गरिएको काम अत्यन्तै प्रभावकारी भएको र त्यसका लागि राजदूत दाहालको सकारात्मक पाटो महत्वपूर्ण भएको सुनाए।
‘हामीले यसअघिका पनि राजदूत र राजदूतावास नदेखेका होइनौं तर आपसी सहयोग र सदभावको सवालमा नेपाली समाजलाई जोड्ने कुरामा दाहालको भूमिका निकै महत्वपूर्ण रह्यो’, अध्यक्ष सिटौलाले भने।
कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै एनआरएन आइसीसीका केन्द्रीय उपाध्यक्ष मन केसीले नेपाली समाजलाई बुझ्ने र कुतनीतिक सम्वन्ध जोड्ने सवालमा सफल राजदूत दाहालको छोटो बसाइ पनि उपलब्धीपूर्ण रहेको चर्चा गरे।
कार्यक्रममा अध्यक्ष भुपाल सिटौला र पूर्व उपाध्यक्ष परशुराम अधिकारीले राजदूत महेशराज दाहाल र श्रीमती प्रभा दाहाललाई सम्मान सहित उपहार प्रदान गरेका थिए।
कार्यक्रममा एकाका पूर्व उपाध्यक्ष राजेशराज जोशी, केन्द्रिय सदस्यहरु हिरा कँडेल, सूर्य खनाल र सत्यराज कडेंल लगायतले राजदूत दाहालको खुलेरै प्रंशसा गरेका थिए।
नेपाल सरकारले राजदूतलाई फीर्ता बोलाए पनि नेपाल नर्फकिएसम्म उनलाई राजदूतकै भूमिकाका रूपमा काम गर्न भनेको छ।