अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भित्र्याउने नयाँ योजनाका रूपमा न्युजिल्याण्डझैं सिंगापुरसँग पनि ‘ट्राभल बबल’ नाम दिइएको दुई देश बीचको क्वारेन्टीनरहित यात्रा व्यवस्था सुरू गर्ने भएको छ।
प्रधानमन्त्री स्कट मोरिसन र उनका सिंगापुर समकक्षीबीच भएको पछिल्लो सहमति अनुसार दुई देशका यात्रुलाई आवतजावत गर्न सजिलो बनाउने नीति तयार पारिन लागिएको हो।
यसले प्रारम्भीक रूपमा सिंगापुरवाट अस्ट्रेलिया आउने विद्यार्थीलाई बिना क्वारेन्टाइन आवत जावत गर्न सहज हुनेछ। सोही अनुरूप न्यु साउथवेल्स राज्यले पनि बिस्तारै बिभिन्न चरणमा अन्तर्राष्ट्र्रिय विद्यार्थी भित्र्याउने योजना कार्यान्वयन गर्न तयारी गरेको छ।
यसका लागि दुई देशबीच भ्रमण गर्ने ब्यक्तिले खोपको दुबै चरण पुरा गरेको प्रमाण भने पेश गर्नुपर्ने हुन्छ। दुई देश बीचको यात्रा व्यवस्थाको ठ्याक्कै मिति नतोकिए पनि चाडै सुरु हुने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताए।
हाल अस्ट्रेलियाले न्युजिल्यान्डसँंग मात्र बिना क्वारेन्टीन सुरक्षीत यात्रा सुरू गरेको छ। जसका कारण दुबै देशको पर्यटन उद्योगमा निकै सकरात्मक परिणाम देखिएका छन्।