आफ्नो पूर्ण कार्यकाल बिताउन नपाई २० महिनामै फिर्ता बोलाइएका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालको सम्मानमा चितवन समाज अस्ट्रेलियाले सिड्नीमा बिदाइ कार्यक्रमको आयोजना गरेको छ।
यद्यपी अन्तर्राष्ट्रिय उडान सहज नभएसम्मका लागि दाहाललाई नै सरकारले जिम्मेवादी दिएको छ।
कार्यक्रममा अधिकाशं बक्ताले मुलुकको परराष्ट्र नीति सधैं समान हुनुपर्ने भन्दै राजनीतिक फेरबदलका वाबजुद पनि राजदूतलाई पूर्ण कार्यकाल काम गर्न दिइनुपर्नेमा जोड दिए।
उडान अवरुद्ध र मुलुकको लकडाउनका कारण स्वदेश फिर्ता हुन नपाएका राजदूत दाहालले अस्ट्रेलियाबाट चाडै नै फर्कन परे पनि नेपाली समाजको मन मुटुको कुना कन्दरामा बस्न पाएकोमा आफू भाग्यमानी भएको बताए।
आफ्नो २० महिने कार्यकालमा पनि राजदूतावासको भवन प्रकृया, दुई देश बीचको उच्चस्तरीय भ्रमण, ब्यापार सम्झौता, सिधा उडानको सम्भावना र सिप, ज्ञान र प्रविधिलाई मुलुकसम्म लग्ने काममा सफलताको वाटो पहिल्याउने काम गरेको बताए।
राजदूत दाहालले एउटा राजदूत बनाउने प्रकृयामा राजनीतिक नियुक्तिदेखि संसदीय सुनुवाइ र एग्रिमोको पर्खाइसम्म करीब ६ महिना लाग्ने तर बिना कारण फिर्ता बोलाउन मिनेट पनि नलाग्ने विधिको भने गहिरो अध्यन हुनुपर्ने बताए।
उनले आफू हासीहाँसी नियुक्त भएकोले हाँसीहाँसी फिर्ता जान तयार रहेको बताउँदै भने, ‘सदैव मुटुमा नेपाल बोकेर हिड्ने अस्ट्रेलियाली नेपाली समाज र यहाँंका संघ संस्थाहरु साच्चिकै सम्मानयोग्य छन् र रहिरहनेछन्।’
कार्यक्रममा एनआरएनका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले मन लाग्यो नियुक्त गर्ने र रिस उठे फिर्ता बोलाउने नेपाल सरकारको नीति आफैंमा बिरोधाभास र गलत रहेको जिकिर गरे। ‘एउटा राजदूतलाई अस्ट्रेलियाको नीति निमार्ण तहमा पहिचान बनाउन कम्तिमा पनि एक वर्ष लाग्छ, जब काम गर्ने बेला हुन्छ तब राजनीतिक प्रतिशोध र सत्ता परिवर्तनको मारमा पर्छ, यसरी राजदूत परिवर्तन गर्दै जानू सरासर गलत हो ,यसको हामी सबै प्रवासी नेपालीले विरोध गर्नुपर्छ’, महासचिव रेग्मीले भने।
कार्यक्रममा बोल्दै पूर्व आइसीसी सदस्य दिनेशराज जोशीले यस पटक अस्ट्रेलियाका राजदूत दाहाल नेपाली समाजका लागि प्यारा हुँंदा हुँदै पनि साँढेको लडाइ बाच्छाको मिचाइमा परेको बताए। ‘हाम्रो समाजका लागि राजदूत चाइने मान्छे हो। तर राजनीतिको दाउपेचमा उहाँ शिकार हुनुभयो, यो बडो दुःखको कुरा हो’, जोशीले सुनाए।
कार्यक्रममा एनआरएनका पूर्व आइसीसी सदस्य बालचन्द्र भट्टराइले राजदूतको फिर्ता बोलाउने कार्य अप्रीय निर्णयका रुपमा रहेको बताउँदै सानो समयमा पनि नेपाली समाजलाई जोडने काममा दाहाल सफल भएको जिकिर गरे।
पुराना सञ्चाकर्मी डिल्ली ढकालले राजदूत दाहालसँंगका विद्यार्थीकालको सम्वन्ध र राजदूतसम्मको यात्रालाई निकै रोचक रूपमा प्रस्तुत गरेका थिए।
‘निर्णय हाम्रा लागि अप्रीय होला तर कतै यसले संभावनाको नयाँ ढोका खोलेको पनि हुनसक्छ’, उनले भने।
कार्यक्रममा बोल्दै चितवन समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले चितवनका स्थायी बासिन्दाका रुपमा रहेका राजदुत दाहाल आफैंमा कुशल वक्ता, सफल राजदूत रहेको बताए।
समाजले राजदूतको आगमनमा स्वागत गर्न नपाए पनि अपुरो कार्यकालका वाबजुद सकरात्मक भूमिका र असल छाप छोड्न सफल दाहालको सम्मानमा बिदाइ गर्न पाएकोमा कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका पूर्वअध्यक्ष दिनेश पोखरेल, समाजिक अगुवा प्रेम सापकोटा ,चितवन समाजका पूर्व अध्यक्ष बुद्धी डल्लाकोटी, छबी सापकोटा, सत्य प्रकाश कँडेल,आइसीसीकी पुर्व प्रवक्ता रन्जु थापा, युवराज भट्टराईलगायतले बोलेका थिए।
बिदाइ कार्यक्रममा संघका अध्यक्ष घिमिरे र कोषाध्यक्ष सीता सुवेदीले राजदूत दाहाललाई मायाको चिनो स्वरुप उपहार प्रदान गरेका थिए।