मुलुकमा आपत विपत आइपर्दा जुरुक्कै उठ्ने प्रवासी नेपाली समाज यतिखेर नेपालमा कोभिडले पारेको प्रभावविरुद्ध सहयोगका लागि अनवरत लागिपरेको छ।
प्रवासमा रहेका सबैखाले संघ संगठन र क्लब पनि यतिखेर मुलुकमा परेको माहामारीको समस्यामा सहयोग गर्न अनेकन स्वरुपमा मैदानमा उत्रेका छन्। यसैबीच सिड्नीमा रहेको नेपाली क्रिकेट संघ अस्ट्रेलियाले पनि आइतबार पारामाटाको ओली वेभ रिर्जभमा कोभिड च्यारीटी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
टि १० फर्म्याटमा खेलाइन लागेको च्यारीटी क्रिकेटवाट उठेको सम्पूर्ण रकम नेपालमा सहयोग गरिने संघका पूर्व अध्यक्ष अजय क्षेत्रीले बताए। ‘हामीले यो संस्था स्थापना गर्नुको उद्धेस्य मुलुकसँंग जोडिने माध्यम पनि भएकोले उठेको रकमलाई आवश्यकता अनुरुप सहयोग गर्ने लक्ष्य लिएका छौ’, संस्थापक मध्येका एक अजयले प्रतियोगिताको उद्देस्यका बारेमा स्पष्ट पारे।
प्रतियोगितामा सिड्नीका बिभिन्न क्लबका खेलाडीले चार वटा टिमबाट प्रतिस्पर्धा गर्ने छन्। विजेतालाई ट्रफी तथा प्रतियोगिताको उत्कृष्ट व्याटसम्यान र बलरलाई ट्रफी प्रदान गरिने संघका अध्यक्ष करन श्रेष्ठले बताए।
प्रतियोगितामा रातो टिम, पहेलो टिम, हरियो र निलो टिमगरी चार टिमले लिग कम फाइनलका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
हरियो टिमलाई वेस्ट युनाइटेडका किर्तन ताम्राकारले नेतृत्व गर्ने भएका छन भने निलो टिमका कप्तानका रुपमा वारिर्यसका नविन गुरुङले मैदान सम्हाल्ने छन्।
यस्तै लुम्बीनीका सरोज पाठकले पहलो टिमको कप्तानी गर्दै गर्दा रातो टिमको नेतृत्व सगरमाथाका अनिल अमात्यले गर्ने भएका छन्। सबै टिममा बिभिन्न क्लबका खेलाडीहरु आवद्ध भएर सहयोगी भावनाले प्रतिस्पर्धा गर्नेछन्।
‘यो सहयोगको अली भिन्न रुपका रूपमा हामीले च्यारीटी क्रिकेटको आयोजना गर्न लागेका हौ, हेरौं राम्रै सहयोग संकलन हुन्छ भन्ने आशा राखेका छौ’, अध्यक्ष करण श्रेष्ठले भने।