अस्ट्रेलियाको शैक्षिक परामर्श सेवा केन्द्र ‘राइट एन्ड एशोसियट्स’ले चितवनको माडीस्थित बघौडा अस्पताललाई कोरोना कहरबाट बच्न आवश्यक स्वास्थ सामाग्री प्रदान गरेको छ।
राइटले नेपालमा फैलिएको कोरोना महामारीको उपचारमा आवश्यक सहयोग गर्ने क्रममा बघौडालाई तीन लाख मुल्य बराबरको दुई थान डिजिटल मनिटर सहयोग गरेको निर्देशक परशुराम अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
‘यतिखेर हामी प्रवासमा छौ मुलुक कोरोनासँंग जुधिरहेको छ, सबैले आ-आफ्नो लक्ष्य र गच्छे अनुसार थोरै भए पनि सहयोग गर्ने हो भने त्यसले केही राहत मिल्नसक्छ’, राइट एन्ड एशोसियट्सका निर्देशक अधिकारीले भने।
राइट एन्ड एशोसियट्स चितवनका प्रमुख देवेन्द्रराज रेग्मीले सो सहयोगलाई माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाललाई हस्तान्तरण गरेका छन्।
डिजिटल मनिटरले मुटुको धड्कन्, अक्सीजन मात्रा र रक्तचापलगायत एकै पटक जाँंच गर्न सकिन्छ। राइटले अस्ट्रेलियामा रहेको आफ्ना शाखाका सबै कर्मचारीको समेत सहयोगमा सो रकम संकलन गरेको सहयोग समितिका संयोजक दिपेन्द्र अधिकारीले बताए।
उनले कोभिड सहयोगकै क्रममा राइटले शैक्षिक परामर्शदाताको छाता संगठन एकालाई पाँंच सय डलर समेत सहयोग गरेको जानकारी दिए।