पढेपछि योग्यता अनुरूपको काम नपाउँदा अस्ट्रेलियामा धेरै विद्यार्थी हतोत्साहित हुने गरेको यहाँको एक अनुसन्धानपछिको तथ्यांकले देखाएको छ।
त्यसमाथि पढेको विषयमा व्यवशायीक जागिर पाउनेको संख्या अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा ज्यादै न्यून छ। आफूले भोगेका समस्यालाई नयाँ पीढीले पनि भोग्नु नपरोस् भन्ने हेतुले केहि युवा यतिखेर सिड्नीको हर्षभिलमा आइटीका विद्यार्थीका लागि ‘एक्स्ट्रा टेक’ प्रशीक्षण केन्द्र खोलेका छन्।
जसले आइटी पढेर व्यवसायीक काम र दामको खोजी गरिरहेका छन् त्यस्ता युवाका लागि एउटा भर्याङको रुपमा काम गर्ने एक्स्ट्रा टेकका निर्देशक विनोद कुँवरले बताए।
विगत डेढ वर्षदेखि आइटी प्रशीक्षण केन्द्र खोलेर बसेका विनोद र उनको टिमले यस बीचमा सयौं नेपाली विद्यार्थीलाई आइटीको व्यवसायीक तालिम दिएर बिभिन्न कार्यालयमा काम लगाउन सफल भइसकेको छ।
‘पढनु र त्यसलाई व्यबहारमा उतार्नुमा निकै फरक हुन्छ। हामीले पढेर शैक्षीक प्रमाणपत्र बोकेर बसेका युवालाई अनुभव संगालेर संस्थागत काममा जोडने प्रयासको थालनी गरेका हौ’, निर्देशक बिनोदले सेतोपाटीसँग भने, ‘नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थी शैक्षिक हिसाबमा यहाँका अन्य विद्यार्थीभन्दा कमजोर पटक्कै छैनन्। तर उनीहरूमा अनुभव र एक्सपोजको कमी छ, हामीले सोही अभावलाई पुरा गर्ने प्रयास गरेका छौ।’
यतिखेर प्रशीक्षण केन्द्रमा ३ सय २० जना विद्यार्थी आफ्नो पढाइलाई अनुभवमा साट्ने प्रयासमा दत्तचित्त भएर लागेका छन्। छोटो समयमै ७० जना विद्यार्थीले एक्स्ट्रा टेकमार्फत व्यवसायीक रूपमा आइटीको जागिरसमेत पाइसकेका छन्।
‘पछिल्ला दिनमा कोभिडको प्रभावसँगै आइटी क्षेत्रमा अवसरको पनि प्रसस्त माग आएको छ। हामीले त्यसका लागि बढीभन्दा बढीलाई व्यवसायीक जागिरमा लगाउने प्रयासमा लागिपरेका छौ,’ कम्पनीको व्यवस्थापक सन्तोष श्रेष्ठले बताए।
अहिले एक्स्ट्रा टेकले वेभसाइड डिजाइन, डिजिटल मार्केटिङ, नेटवर्क डिजाइन, अफिस सेटअप र अन्य आइटीसम्वन्धि प्रशीक्षण दिँदै आइरहेको छ। यसले आगामी दिनमा आफ्नो सेवालाई बिस्तार गर्दै लैजाने परियोजना व्यवस्थापक सुदीक्षा गौतमले बताइन्।
डेढ वर्षको स्थापनाकालमा एक्स्ट्रा टेकले आफ्नो व्यवसायीक कार्यसँगै परोपकारी काममा पनि हात अगाडि बढाएको छ।
अहिले एक्स्ट्राटेकले वेलफेयर फन्डको स्थापना गरेर हालै एनआरएन अस्ट्र्लियालाई कोभिड फन्डमा पाँच हजार डलर र महाविर वेलफेयर फन्डमा ६० वटा अक्सीजन सीलिन्डर सहयोग गरेर आफ्नो सामाजिक दायित्व पुरा गर्ने काम गरेको छ।
एक्स्ट्रा टेकले आफ्नो परोपकारी कार्यलाई अगाडि बढाउन सन्तोष श्रेष्ठ, अनुप कार्की, अनिल पोखरेल, संगीना प्रजापती, ओम राउत, सन्दिप साउद, गौरव सुनुवार, सुनिल सिग्देल, रोशन घिमिरे, शुसन्त पन्त र बिशाल सिवाकोटी रहेको कोभिड सहयोग समिति बनाएको थियो।
सोही समितीमार्फत यस पटक एनआरएन अस्ट्रेलिया र महाविर वेलफेयर फन्डमा सहयोग गरेको निर्देशक बिनोद कुँवरले जानकारी दिए। उनले आगामी दिनमा पनि विद्यार्थीको हक र हित तथा परोपकारी कार्यमा आफूहरू लागिरहने बताए।
हाल एक्स्ट्रा टेकले मेलवर्न र काठमाडौंमा समेत आफ्नो सेवा विस्तार गरेको छ। निकट भविष्यमा अस्ट्रेलियाका अन्य शहरमा पनि यसलाई बिस्तार गरिने लक्ष्य रहेको बिनोद जानकारी गराए।