साउथ अष्ट्रेलियाको एडिलेड नेप्लिज क्रिकेट एशोसीयसनले क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिट क्रिकेट अवार्ड २०२०-२१ जित्न सफल भएको छ।
जुनियर क्रिकेट ईनोभेटिभ कम्युनिटी अवार्ड अन्तर्गत रहेको सो अवार्ड जुनियर क्रिकेटको क्षेत्रमा विशेष कार्य गर्ने संस्थालाई दिँदै आएको अष्ट्रेलियाको राष्ट्रिय अवार्ड हो।
अष्ट्रेलियाका सबै राज्यबाट छनोट भएर आएकामध्ये एनका र एनएसडब्लुको गोलवन डिस्ट्रिक जुनियर क्रिकेट एशोसिएसन फाईनलका लागि छनोट भएका थिए। एनकाले गोलवन डिस्ट्रिकलाई पछि पार्दै राष्ट्रियस्तरको अवार्ड हात पारेको अध्यक्ष विजय जोशीले जानकारी दिए।
साउथ अष्ट्रेलियन क्रिकेट एशोसिएसनले साउथ अस्ट्रेलियामा रहेर जुनियर क्रिकेट क्षेत्रमा काम गरिरहेका संस्थामध्येबाट एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनलाई छनोट गरि क्रिकेट अष्ट्रेलियामा पठाएको थियो।
जोशीका अनुसार सन् २०२०-२१ का लागि एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनले साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन कम्युनिटी अवार्डसमेत जित्न सफल भएको छ।
एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनका) स्थापनाकालको सुरूवाती दिनमा युवा लक्षित क्रिकेट कार्यक्रम सञ्चालन गर्दै आएको थियो। कुशल व्यवस्थापनका कारण छोटो समयमा सफलता प्राप्त गर्दै गएको यस एशोसिएसनले आफ्नो दायरालाई फराकिलो गर्दै महिला र बालबालिकाहरु लक्षित कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।
अष्ट्रेलियाका धेरै समुदायका क्रिकेट संस्थामध्ये आफूलाई अग्रपंक्तिमा उभ्याएर एनकाले क्रिकेट अष्ट्रेलियाको मन जित्न सफल भएको छ। साउथ अष्ट्रेलियाको प्रिमियर अफिसका लागि सहायक मन्त्री जिङ ली यस एशोसिएसनको दूत रहेकी छन् रहेकी छन् भने अस्ट्रेलियन पाराल्याम्पिक खेलाडी कट्रिना वेब्ब सल्लाहकार छन्।
सन् २०१५ देखि बालबालिका लक्षित क्रिकेट कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। हरेक सत्रमा जुनियर क्रिकेट ब्लास्ट कार्यक्रम आयोजना हुन्छ। बालबालिकाको क्रिकेट क्षेत्रमा रुचि बढ्दै गएकाले एनकाले गएको सत्रदेखि अन्डर-१० एनका जेम्स टिम समेत निर्माण गरेको छ।
एनका जेम्स टिमले साउथ सेन्ट्रल जुनियर क्रिकेट एशोसीयसन अन्डर-१० टुर्नामेन्ट खेल्दै आएको छ। गएको सत्रमा १३ लिग खेलमा एनका जेम्सले १० खेलमा जित हात पारेका थिए। एन्का अध्यक्ष विजय जोशीले अस्ट्रेलियाको राष्ट्रिय टिममा एक दिन यीनै जेम्सहरु पुग्ने बताए।
जुनियर ब्लास्टर, मास्टर ब्लास्टर, अन्डर १०-१२-१४-१६-१९ हुँदै प्रिमियर, स्टेट हुँदै एक दिन अस्ट्रेलियाको राष्ट्रिय टिमसम्म पुग्ने आशा राखेका छन्।
जोशीका अनुसार एनका जेम्समा नेपाली समुदायसँगै अन्य समुदायबाट समेत बालबालिका छन् ।राष्ट्रिय र राज्यका महत्वपूर्ण अवार्डहरु जित्दै गर्दा यसले खुशीसँगै जिम्मेवारी समेत बढेको अध्यक्ष जोशीले बताए। जोशीले एनकाको खेलकुद यात्रामा साथ दिने नेपाली समुदाय र सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद समेत दिएका छन्।