एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्ज अस्ट्रेलियाले नेपालमा फैलिएको महामारी र कोरोनाको प्रभावले ल्याएको बिपत्ती कम होस भन्ने कामनाका साथ अस्ट्रेलियामा दिप प्रज्वलन गरेको छ।
सिड्नीको एसफील्ड पार्कमा आयोजित शान्तिदिप कार्यक्रममा न्यु साउथवेल्सका महाबाणिज्यदूत दिपक खड्काले मुलुकलाई दुख्दा एकजुट हुने नेपाली समाजको महत्वपूर्ण पक्ष रहेकोमा खुसी ब्यक्त गरे।
उनले यतिबेला जन्मथलो रोगको समस्यावाट ग्रसित भएको अवस्थामा सबै मिलेर सहयोग गर्नु हाम्रो कर्तब्य रहेको समेत बताए।
कार्यक्रममा नेपाली समाजकी अगुवा इन्द्रा वनले अरू बेला बिभिन्न पक्ष र बिपक्षमा बिभक्त भए पनि मुलुकमा समस्या पर्दा सबै नेपाली एकजुट भएर अगाडि बढने कुरा आफैंमा महत्वपूर्ण रहेको बताइन्।
कार्यक्रममा नेपालको नक्सा आकारमा दिप प्रज्वलन गरेर मुलकमा शान्ति र सुव्यबस्थाको कामना समेत गरिएको थियो।
कार्यक्रममा नारी निकुन्जकी संयोजक सन्ध्या शाहले मुलुकमा बिपत्ति आइपर्दा जुरुक्कै उठ्ने नेपाली समाजको विशेषता आफैंमा महत्वपूर्ण रहेको बताइन्। ‘मुलुकमा कोरोनाले र स्वास्थ सामाग्रीको अभावमा नेपालीले ज्यान गुमाउनुपर्दा हामी टुलुटुलु हरेर बस्न सक्दैनौं, सोही कारण आर्थिक र भौतिक सहयोगसँंगै शान्तिको कामना गर्नु हाम्रो दायित्व पनि हो’,संयोजक शाहले भनिन।
कार्यक्रममा एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, पूर्व आइसीसी सदस्य दिनेश जोशी ,ओसेनिया संयोजक होम पाण्डे, नन्दु गुरूङलगायतले नेपालमा कोरोनाका कारण अकालमा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गरेका थिए।
कार्यक्रममा एनअराएन एनएसडब्लु संयोजक देव गुरुङ, एनआरएन नारी निकुन्ज अस्ट्रेलियाका मोनी लिम्बु, अन्जना बस्नेत लगायतको उपस्थिति थियो।