नेपाल सरकारको गलत परराष्ट्र नीतिका कारण खासै सुध्रन नसकेको नेपाल-अस्ट्रेलिया सम्बन्धलाई यहाँंका नागरिक समाजका अभियन्ताको अगुवाइमा भए पनि जोड्ने प्रयास भइरहेको छ।
नेपालमा कोरोनाको कहरले सीमा नाघ्दै गर्दा अस्ट्रेलियाका एनआरएनका केन्द्रिय उपाध्यक्ष मन केसी, महावाणिज्यदूत दिपक खड्का , अर्थविद कृष्ण हमाल, लक्ष्मण श्रेष्ठलगायतले अस्ट्रेलियाका एक प्रभावशाली मन्त्री डेभिड कोलम्यानलाई भेटेर सहयोगको अपील गरेका छन्।
सोमबार साँंझ नेपाली अभियन्ताको टोलीले अस्ट्रेलियाका पूर्व अध्यागमन मन्त्री तथा हाल प्रधानमन्त्री कार्यालयका सहायक मन्त्री डेविड कोलम्यानलाई भेटेर नेपालको अवस्था औल्याउदै आवश्यक सहयोगको अपील गरेका हुन्। ‘हामीले अहिले नेपाललाई कोभिडका लागि औषधि ,आवश्यक स्वास्थ सामाग्री र भ्याक्सीनका विषयमा सहयोग आवश्यक रहेको बताएका छौं’, एनआरएनका उपाध्यक्ष मन केसीले सेतोपाटीसँग भने, ‘मन्त्री डेभिड कोलम्यानले भेटका क्रममा यस विषयमा आफू निकै गम्भीर रहेको र सम्वन्धीत मन्त्रालय तथा सरकारमा आफूले नेपाललाई आवश्यक सहयोगको बारेमा यसै हप्ता प्रस्ताव लग्ने बताएका छन्।’
‘साच्चीकै अस्ट्रेलियाजस्तो कोभिड सुरक्षीत मुलुकले हाम्रोजस्तो देशलाई आवश्यक प्रविधि जस्तै अक्सीजन प्लान्ट, भेन्टीलेन्टर, भ्याक्सीन र आवश्यक स्वास्थ सामाग्रीमा सहयोग गर्न सक्छ भन्ने सोचका साथ हामीले मन्त्री कोलम्यनासँंग भेट्ने काम गरेका हौ’, एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले भने।
कोलम्यानले भेटपछिनै सहयोगको प्रकृया अगाडि बढाइसकेको अवस्था भएकोले एक दुई दिनमा सकारात्मक समाचार आउने विश्वास गरेको क्यानबेराबाट सहभागी अर्थविद कृष्ण हमालले बताए।
यसै हप्ता भारतीय दूतावासको पहलमा अस्ट्रेलियन सरकारले भारतलाई १ हजार ५६ वटा भेन्टीलेन्टर र अन्य आवश्यक सहयोग समाग्री प्रदान गरेको थियो।
स्मरण रहोस, यस्तो विपतको बेला र सीमासमेत खुल्न नसकेको अवस्थामा ओली सरकारले केही दिनअघि मात्र राजनीतिक प्रतिशोध साध्न यहाँका राजदूतलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो।