कोरोना भाइरसको बढ्दो संकटका कारण नेपालमा पनि अक्सिजन अभावका कारण मानिसहरूले धमाधम ज्यान गुमाउन थालेपछि प्रवासका नेपाली संस्थाहरू जुरमुराउन थालेका छन्।
अस्ट्रेलियामा रहेको चितवन समाज अस्ट्रेलियाले पनि चितवन अस्पतालमा अक्सीजनको अभावमा कोही चितवनबासीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै अक्सिजनसहितको सिलीन्डर सहयोग सुरू गरेको छ।
अस्ट्रेलियाका चितवनवासीलाई ‘एक घर एक सिलिन्डर’ भन्ने सहयोगी नाराका साथ सहयोग संकलन गरिएको र प्रारम्भमा दश थान सिलीन्डर भरतपुर हस्पिटलमा हस्तान्तरण गरिसकेको कुरा समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले बताए।
चितवनमा कम्तीमा पचास थान सिलिन्डर प्रदान गर्ने अहिलेको योजना रहेको र अन्य कोभिड सुरक्षा सामाग्री प्रदान गर्ने अहिलेको लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए।
अहिलेको अवस्थामा ग्यास सिलीन्डर पाउन र किन्न मुश्किल भएकोले उपलब्ध हुन सक्ने अवस्थामा थोरै भए पनि सहयोगी हातहरू अगाडि बढाएको घिमिरेले सुनाए।
यसैगरी एनआरएन अस्ट्रेलियालेसमेत नेपालमा कोभिड प्रभावितको सहयोगका लागि सहयोग रकम संकलन योजनालाई अगाडि बढाएको छ।
नेपालमा अहिले देखिएका कोरोना महामारी र अक्सीजन तथा औषधिको अभावलाई परिपूर्ति गर्न सहयोग गर्ने उद्धेश्यले रकम संकलन गरिएको एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए।
एक करोड सहयोग रकम संकलन गर्ने लक्ष्यका साथ सुरू गरिएको सहयोग रकम ९ हजार डलर उठिसकेको छ।