अस्ट्रेलियाले भारतमा रहेका आफ्नै नागरिक स्वदेश फर्कन बन्देज गरेको छ। भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका कारण कम्तीमा १४ दिन भारतमा बसेको कुनै पनि व्यक्ति अस्ट्रेलिया आए ५ वर्ष जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गर्ने निर्णय गरेको अस्ट्रेलियाली स्वास्थ्यमन्त्री ग्रेग हन्टले बताएका छन् ।
मन्त्री हन्टले भारतमा रहेका आफ्ना नागरिकहरू बिभिन्न रुट हुदै कोभिड बोकेर स्वदेश फर्किएमा पाँच बर्षसम्मको जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गरिने बताएका हुन्।
पछिल्लो साता भारतीय मुलका अस्ट्रेलियन नागरिक पर्थ आएको र सोही कारण पर्थमा संक्रमण फैलिएकाले यस्तो कठोर निर्णय गर्नुपरेको मन्त्री हन्टले बताए।
कोरोना कहरले भारतमा आतंक मच्चाइरहेको बेला भाइरसको संक्रमण यता पनि फैलिनसक्ने कारण कम्तीमा १४ दिन भारत बसेको कुनै पनि व्यक्ति अस्ट्रेलिया आए सो सजाय गरिने अस्ट्रेलियाली स्वास्थ्यमन्त्रीले चेतावनी दिएका हुन्।
भोलि सोमबारदेखि लागू हुने यो नयाँ नियममा कोरोना संक्रमणको सवालमा हालसम्म लागू विश्वकै कडा नियम भएको सम्वन्धित बिज्ञहरुले जनाएका छन्।
यस्तै सिंगापुर र युएईको बाटोहुँदै भारतीय नागरिकहरू अस्ट्रेलिया आएको पाइएपछि अस्ट्रेलिया यति कठोर बनेको हो।
संसारका कुनै पनि मुलुकले आफ्ना नागरिक स्वदेश फर्कन चाहे जेल सजाय र जरीवाना हुने नियम लागू गरेका देखिदैन। यसअघिनै अस्ट्रेलियाले भारतसँगको सिधा हवाइ सेवालाई प्रतिवन्ध लगाइसकेको छ।
हन्टले उक्त नियम अस्थायी भएको र कोरोना महामारीबाट अस्ट्रेलियन जनतालाई सुरक्षीत राख्न वाध्यताबस लागू गर्नुपरेको समेत बताएका छन्।
यो जैविक सुरक्षा कानुन २०१५ अनुरूप नियतवस रोग फैलाउने उद्धेश्यबाट अभिप्रेरीत भएर गरेको पाइएमा पाँच बर्षसम्मको जेल सजाय र ६६ हजार डलर दुबै जरिवाना हुन सक्ने उनले स्पष्ट पारेका छन्।
हाल भारतमा करिब ९ हजार अस्ट्रेलियाली नागरिक छन् । तीमध्ये ६ सय जना भाइरसको उच्च जोखिममा रहेका जनाइएको छ । स्वास्थ्यमन्त्री हन्टले आफूहरूको मुख्य उद्देश्य अस्ट्रेलियाली नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउनुरहेको बताएका छन् ।