पछिल्लो समय नेपाली विद्यार्थीका लागि आकर्षणको केन्द्र रहेको अस्ट्रेलियामा ६७ हजारभन्दा बढी अध्ययनरत छन्।
कोरोना कहरपछि पनि करिब तीन हजार नेपाली विद्यार्थी भिसा लगाएर अस्ट्रेलियाको बोर्डर खुल्ने प्रतीक्षामा छन्।
अस्ट्रेलियाको गतिलो आर्थिक स्रोत मानिने यहाँको शैक्षिक उद्योग कोरोना कहरको एक वर्षदेखि तंग्रिने कोसिसमा लागेको छ।
नेपाली विद्यार्थीको आकर्षण बढेसँगै यस क्षेत्रका अनुभवीले अस्ट्रेलियाको शैक्षिक उद्योगमा लगानी बढाएका छन्।
शैक्षिक उद्योग आफैंमा सम्मानित र मर्यादित उद्योग भएकोले यस क्षेत्रमा प्रवेश गर्नु आफैंमा महत्वपूर्ण कदम मानिन्छ। तर पछिल्ला दिनमा धमाधम खोलिएका भेट कलेजको अस्वस्थ प्रतिस्पर्धा र तछाडमछाडले यस क्षेत्रलाई पनि बिस्तारै बहकाउँदै लगेको भान हुन्छ।
यतिखेर नेपालबाट उच्च शिक्षा अध्ययनमा आएकामध्ये पचास प्रतिशतभन्दा बढी भेट कलेजमा अध्ययनरत रहेको यहाँको सरकारी तथ्यांकले देखाएको छ।
सोही कारण भेट कलेजको अध्ययन र यसमा प्राप्त हुने शिक्षादीक्षा हाम्रो लागि महत्वपूर्ण विषयको रूपमा रहँदै आएको छ। त्यसमाथि पनि नेपाली मूलका अस्ट्रेलियनले खोलेको शैक्षिक संस्थामा नेपाली विद्यार्थीकै भीड हुँदा यो विषय विद्यार्थी र अभिभावकसँगै आम मानिसमा चासोको विषय बनेको छ।
नेपालमा दश जोड दुईमा राम्रो अंकसहित जोश जाँगर बोकेर अस्ट्रेलिया आएका युवाका लागि यो पढाइ कामकोभन्दा पनि पैसाको लागि महत्वपूर्ण देखिएको छ।
यतिखेर अस्ट्रेलियामा मान्यता प्राप्त करिब दुई दर्जनभन्दा बढी नेपाली भेट कलेजहरू सञ्चालनमा छन्।
उच्च शिक्षा अगाडिको तयारी कक्षा र प्राविधिक शिक्षालाई भेट कलेज भनिन्छ। जानकारहरूको दाबी अनुसार यो केही सस्तो र पछिका लागि उपलब्धिमूलक हुन्छ। तर प्रतिस्पर्धा बढेसँगै विद्यार्थी घट्दै जाँदा अस्ट्रेलियाको शैक्षिक बजार कमिसनको जालो र स्तरीयताको हलोमा अड्किएको छ।
कमिसनको हदबन्दी र कलेजको मुखबन्दीले पनि यो उद्योगका फरक पाटा उजागर गरेको छ।
दृष्य नम्बर एक
सिड्नीको टाउनहलस्थित एउटा रेष्टुरेन्टमा एक शैक्षिक परामर्शदाता कुनै कलेजवालाको फोनमा भन्दै थिए, ‘पाँचको एक र चालिस-पैतालिस प्रतिशत कमिशन त अहिले चलेकै रेट हो, तपाईंको केही विशेष छ कि,’ अर्थात् पाँच जना विद्यार्थी भर्ना गरे एक जना विद्यार्थी निःशुल्क एजेन्टलाई दिइने।
प्रतिस्पर्धा र विद्यार्थी भर्ने होडबाजीमा पाँचको एक र दशको तीन योजनाले लगानीकर्ताको लगानीभन्दा त्यसले प्रदान गर्ने शिक्षाको स्तरीयतामा प्रश्न चिन्ह उठाउने ठाउँ रहन्छ। तपाईंले एजेन्टलाई दिने पैसा भनेको सेवा र सुविधाबापत हो तर त्यो लगानीकर्ताले पाउने जत्तिकै भयो भने त्यसको अर्थ तपाईंले दिने शिक्षाको स्तरमा यसले प्रभाव पारेको छ भन्ने बझ्न जरूरी हुन्छ।
दृष्य नम्बर दुई
सिड्नीको रूफटप रेस्टुरेन्टको एक भेलामा एउटा 'झोले' एजेन्टले हात घुमाउँदै भनेको कथन हो, ‘यहाँ खोलिएको सबै भेट कलेजमा मेरो आधा लगानी जस्तै हो’, छेउमै बसेको अर्को एक पेशाका साथीले सोधे, ‘कसरी नि?’, उसले भन्यो, ‘सबैले मलाई एउटा विद्यार्थीको पचास प्रतिशत कमिसन दिइहाल्छन्, त्यो भनेको आधी आधी त भयो नि होइन र!’ वरपरका सबै गलल हाँसे।
हुन पनि हो, करौडौं लगानी गरेर खोलिएको कलेजमा एजेन्टको कमिसन पनि तीस, चालिसदेखि पचास प्रतिशतसम्म। यो पनि त रोचक कुरो होइन र!
***
यस्ताखाले सस्तो होडबाजीले हाम्रा विद्यार्थीले प्राप्त गर्ने शिक्षामा कस्तो प्रभाव पार्ला त, यो सहजै आकलन गर्न सकिन्छ। तपाईंले एजेन्टलाई पचास प्रतिशत कमिसन दिनुहुन्छ भने कलेज कसरी सञ्चालन गर्नुहुन्छ? यस्तो अवस्थामा कलेजले स्तरीय शिक्षक र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ कि सक्दैन? पक्कै पनि सक्दैन।
त्यति मात्र होइन भर्खरै सिड्नीको एउटा चर्चित कलेजले एक सय विद्यार्थी भर्ना गरे तीन लाख डलर बोनस दिने समाचार अस्ट्रेलियन सञ्चार माध्यममा छापिएपछि निकै हंगामा भयो। यसले उच्च शिक्षामासमेत कमिसनको प्रभाव र यसले पार्ने शैक्षिक प्रभावको बारेमा ठूलै बहस भएको थियो।
शैक्षिक गुणस्तरका नारा र प्रचारमा चिटिक्कका पारा देखाउने कलेजहरूले पनि आफ्नो स्तरीयताको कसीलाई मियोमा राखेर व्यवसायिक दियोझैं बल्नुपर्ने आवश्यकता आइपरेको छ।
कलेजले पनि कमिसनका हिस्साले विद्यार्थीको शिक्षामा प्रभाव नपरोस् भनेर यसमा नीतिगत निर्णयमा टुंगो लगाएर अगाडि बढेमा एजेन्टमा पनि यति बढी माया मोह बढ्दैनथ्यो होला।
काम गर्नेले हात चाट्न पाउने कुरा स्वभाविक हो। तर त्यसको पनि एउटा सीमा हुन्छ।
‘हात दिँदा डुडुल्नै निल्ने’ हो भने त्यसको अर्थ नकारात्मक लाग्नसक्छ। त्यसैले शैक्षिक परामर्शजस्तो नैतिक र मर्यादित पेशामा सीमा रेखा कोरिन नसक्नु र केही प्रोभाइडरले पेशालाई नभइ पैसालाई महत्व दिएपछि यस्तो अवस्था सृजना भएको देखिन्छ।
यसका लागि शैक्षिक परामर्शदाताको छाता संगठन र प्रोभाइडरबीच एउटा समझदारीमा पुगेर नीतिगत रूपमा निर्णय बाहिर आउनसक्नुपर्छ। अन्यथा न रहे बास ना बजे बाँसुरी भनेझैं आ-आफ्नो धुनमा बाजा बजाउने हो भने त्यसको शिकार विद्यार्थी हुने र यसले यहाँको शिक्षामा नकारात्मक प्रभाव पार्ने पक्का देखिन्छ।