ड्यानियल उमेरले १९ कटेको केही महिना मात्र भयो। सिड्नीको संभ्रान्त गोरा बस्ने उत्तरी क्षेत्रमा ड्यानियल सरकारी जागिरे बाबुआमासँगै बस्छ।
भर्खर १२ कक्षा पास गरेको ड्यानियल अब टेफमा प्राविधिक पढ्ने कि विश्वविद्यालयमा ब्याचलर पढ्ने दोधारमा देखिन्छन्।
निकै हुनेखाने परिवारमा जन्मेका ड्यानियलका बाबुको तीन वटा घर छन्। एउटामा उनीहरू बस्छन् र दुई वटा भाडामा दिएका छन्।
ड्यानियल हाम्रो भाषामा संभ्रान्त परिवारको एकल सन्तान हो। भर्खरै जुँगाको रेखी बसेको ड्यानियल मैले काम गर्ने एउटा ब्यापारीक प्रतिष्ठानमा काम गर्न आएको केही दिन मात्र भयो। निकै हँसिलो र रसीलो ड्यानियल मनको कुरा दिलैदेखि पोख्छ। मानौं स्पष्ट छ।
चिया र खाजा समयमा हामी सधै सँगै हुन्छौं। सम्बन्धमा प्रगाढता आउँदै गर्दा मैले मेरो चासोलाई प्रश्नको रूपमा ड्यानियलसामू तेर्साए, ‘पुगिसरी र हुनेखाने मान्छे पढ्ने बेलामा किन काम गर्न आएको?’
मेरो प्रश्नको जवाफ उसले एकै सासमा दियो, ‘मलाई बाबुको घरमा अब धेरै समय बस्नु छैन, त्यसैले काम गर्न आएको हुँ।’
केही महिनामा पैसा बचत गरेर बाबुको घर छाड्ने र बाहिर आफ्नै कमाइमा साथीभाइसँग सेयरिङमा बस्ने उसको सोच रहेछ।
उसको जवाफ पछि मेरो दिमाग हल्लीयो। सोचेँ- बाबुको घरबार अनि करौडौंको सम्पत्ती र आलिसान जिन्दगी छाडेर केटो डेरा खोज्ने सुरमा रहेछ। मैले उसलाई फेरि प्रतिप्रश्न गरेँ, ‘बाबुको यत्रो सम्पत्ती घरबार छ त? फेरि ड्यानियलले तुरुन्तै जवाफ फर्काए, ‘त्यो मेरो कहाँ हो र बाबुको सम्पत्ती हो नि।’
म झल्यास्स भएँ। एकपटक आफ्नो परिवेश सम्झेँ। बाउबाजेको सम्पत्ती बिर्ता ठान्ने हामी अनि तिसौं वर्षसम्म पनि बाबु आमाको कमाइमा रमाउने बानी।
पढ्ने बेलामा कामको चटारो र स्वतन्त्रताको झटारोले धेरै युवाहरू पढाइमा भन्दा कमाइमै रूमल्लीएको पनि देखेको छु यतातिर। तर डिप्लोमा र एडभान्स डिप्लोमामै पनि लाख, डेढ लाखको जागिर खाएर हिँड्नेको पनि कमी छैन। घन्टे कमाइ र मिलुजुली बसाइले धेरै अस्ट्रेलियन युवालाई काम र दामको महत्व सिकाएको छ। त्यसैले पनि काम र मामलाई निकै सम्मान गर्छन् यिनीहरू। यस अर्थमा सबै वर्गले गर्ने काम र दाममा फरक नभएपछि उचनिच र धनी गरिबको प्रसंग पनि केही हदसम्म मेटिँदोरहेछ समाजमा ।
यहाँका अभिभावकमा करिब पच्चीस प्रतिशतले मात्र आफ्नो सम्पत्ती छोरा छोरीलाई दिने गरेको सरकारी तथ्यांकले देखाउँछ। धेरैले बुढेसकालका लागि राम्रो स्वास्थ केन्द्रमा खर्च गर्ने र बाँकी रकम सरकारी च्यारीटीमा हालिदिने प्रचलन बढेको छ।
यसलाई आधुनिकताले ल्याएको परिस्थिति वा आफैंले परिश्रम गर्नुपर्छ भन्ने सोचको परिणति हो भन्नेहरु आधाआधी देखिन्छन् यँहा।
जे होस् पश्चिमा संस्कृतीमि युवाहरू १९ वर्ष नाघेपछि बाबुआमाको भरमा बस्न उचित मान्दैनन्। जुन केही हदसम्म ठिकै हो। तर हाम्रो संयुक्त परिवार अनि सनातन संस्कार छ त्यसमा पनि थुप्रै फाइदा र काइदाहरु जोडिएका छन्।
आफूले कमाएको पीठो पनि साह्रै मिठो मान्ने अनि वर्षभरी काम र दामपछि घुम्न जाने यिनीहरूको जीवनको पाटो भने केही अलग र फरक छ।
फरक परिवेशमा टोल छिमेकमा मित्रता गाँसिएको एलनको कहानी अलि फरक थियो। तीन छोरा/छोरीका बाबु एलनको चिन्ता भनेको पैसा कमाएर बिवाह गर्नु रहेछ। उसले भन्दै थिए, ‘सँगै बसेको सात वर्ष भयो तीन वटा बच्चा बच्ची भइसके, पैसाको जोहो गर्न नसकेर बिवाह गर्न पाएको छैन।’
उसको कुराले मेरो दिमागमा बेतोडको बतास चल्यो। यार, बिहा गरेको छैन भन्छ अनि तीन/तीन वटा छोरा छोरी। एकमनले लाग्यो, ‘कसैको गोठै उठाएर ल्याएछ मोराले’ भनेर। तर उसले मेरो सोचाइलाई गलत साबित गर्दै भन्यो, ‘लिभिङ टुगेदरमै धमाधम बच्चा भए अब बिवाह गर्नुपर्ने काम र दामले भ्याएकै छैन, त्यसको लागि पैसाको जोहो गर्दैछु।’
सामाजिक परिवन्दले कतै नछुने भएपछि यस्ता परिवेशहरू सामान्य हुँदा रहेछन्। एलन भन्दै थियो, ‘अर्को वर्षको फेब्रुअरीमा बालीमा गएर घुमघामसँग बिवाह गर्छु होला। बुढीको रहर पनि पुरा गर्नुछ, सुनको औठी र सबै गर्दा कम्तीमा १० हजार डलर चाहिन्छ होला।’
यतातिर बिवाह नगरी पार्टनरका रूपमा बस्नु र बालबच्चा जन्माउनुलाई सामान्य रूपमा लिए पनि हाम्रा लागि भने यो अनौठो संयोग हुन जान्छ।
बेलायतबाट बाबुसँगै बसाइ सरेको ह्यारिसनले कामको दौरान लन्च ब्रेकमा अचम्मको प्रसंग भित्र्याए। ह्यारीलाई यो हप्ता बाबुको डेरा सर्न सघाउनुपर्ने रहेछ। आमा बेलायतमै पोइला गएपछि ह्यारी बाबुसँग अस्ट्रेलिया आएका थिए। उनी बाबुले अर्को बिहे गर्ने भएपछि यसै हप्ता बाबुको डेराबाट छुट्टीएका रहेछन्। अनि भन्दै थिए, ‘बाउले अर्को हप्ता बिहे गर्ने र कोठा सर्ने रे अनि अन्य काममा सघाउन उसलाई बिदा चाहिएको रहेछ।’
म ह्यारीको कुरा सुनेपछि फेरि एकपटक रनन्नँ भएँ। बाउको बिहे देख्लास् भन्थे हाम्रा तिर। यता त बाउको बिहेलाई सघाउँदैछन् कोही।
उता आमापछिको सानीमा भनेको शत्रुसरी मानिन्छन्, यता सहजै बाबुकी अर्की श्रीमतीका रुपमा भित्रिँदा रहेछन्। यस्ता कुराले मलाई धेरै पटक सोच्न बाध्य बनाउँछ।
हामी कि हाम्रा ठिक, वा यिनका बेठिक भनेर। यस्ता कतिपय विषय यताका लागि सामान्य हुँदारहेछन्। तर हाम्रा लागि भने नौला र अपाच्य।
आधुनिकताको पराकाष्टा भित्र काम र मामलाई व्यवस्थापन गर्न व्यस्त मनुवाहरू आ-आफ्नै दिनचर्यामा मस्त होलान्। तर यहाँ पनि ड्यानियल र ह्यारिसनहरूको आ-आफ्नै कथा र व्यथा छन्।
बाबु बाजेको सम्पत्तीमा समेत आशा गर्ने हाम्रो पुस्ता र बाउको सम्पत्तीलाई आफ्नो नठान्ने ड्यानियल अनि बाबुको बिहे ब्यवस्थापन गर्ने ह्यारीसन र सौतेनीमा ज्यान फाल्ने हाम्रो समाजबीचको भिन्नता केलाउन हामीलाई अझै केही दशक लाग्ने देखिन्छ। तर यस्ता अनेकन बास्तविकतालाई आत्मसात गर्दै हामी विदेसिएका पहिलो पुस्ताले भन्ने कुरा यहीँ हो- ‘जस्तो देश उस्तै भेष।’