पूर्व नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर अमृत भट्टराईको नेतृत्वमा उत्रिएको तास्मानियाले भिक्टोरियालाई हराउँदै अष्ट्रेलियामा सम्पन्न एक्सर्पट त्रिकोणात्मक अन्तरराज्य क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
भिक्टोरियन नेप्लीज क्रिकेट संघको आयोजना तथा एनआरएन अस्ट्रेलिया खेलकुद समितिको सह-संयोजनमा मेलवर्न नजिकैको सुन्दर शहर जिलोङमा भएको प्रतियोगितामा भिक्टोरिया, तास्मानिया र न्युसाउथवेल्सको सहभागिता थियो।
लिग कम नकआउटका आधारमा सम्पन्न २० ओभरको खेलमा तास्मानियाले न्युसाउथवेल्स र भिक्टोरियालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो। यस्तै न्यु साउथवेल्सलाई हराएर भिक्टोरियाले उपाधिका लागि तास्मानियसँगको भिडन्त पक्का गरेको थियो।
चिसो मौसम र घामपानीको लुकामारीबीच सम्पन्न फाइनलमा तास्मानियाले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको भिक्टोरियालाई बर्षाले विथोलो। १७.४ ओभरमा ६ विकेट गुमाउँदै १ सय १५ रन बनाएर खेल्दा वर्षाले खेल बिथोलिदियो। त्यसपछि खेल हुन नसक्दा तास्मानिया डक वर्थ लुइसका आधारमा विजयी भयो।
खेल रोकिनु अघि भिक्टोरियाका लागि सन्दिप यादवले ३६, राज कुमार गुरूङले २२, धिरज दासले १५ रन बनाएका थिए। तास्मानिका लागि अमृत भट्टराई र सन्दिपले समान २-२ विकेट लिएका थिए।
यसअघि पहिलो ब्याटिङ गरेको तास्मानियाले गोविन्द कार्कीको अर्धसतकीय इनिङ्सले सानदार स्कोर बनाउन सक्यो। उसका लागि सागरले ४१ रन जोड्दा सन्दिपले २२ रन बनाएका थिए। भिक्टोरियाका युत्सव पोखरेलले तिन र सन्जोग दाहालले २ विकेट लिए।
म्यान अफ दी म्याच र म्यान अफ दी सीरिज तास्मानीयाका गोविन्द कार्की भए। उत्कृष्ट ब्याट्सम्यान भिक्टोरिया नेप्लीज क्रिकेट संघका विकेस श्रेष्ठ, बेष्ट बलरको उपाधि तास्मानियाका सुरज थापाले जिते। उनले दुई खेलमा ६ विकेट लिएका थिए। वेष्ट किपरमा तास्मानियाका किरण पाण्डे चुनिए।
विजेतालाई नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो। एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल, एनआरएन आइसीसी सदस्य दुर्गा आचार्य, जन सम्पर्क समितिका अध्यक्ष बिनित शर्मा, विनोद लामा, प्रकाश थापा, एनआरएन खेलुकद विभागका सह संयोजक यशवन्त सुबेदी, भिक्टोरिया क्रिकेट संघका अध्यक्ष सुजित बस्नेत, जिलोङ नेप्लीज एशोसिएसनका अध्यक्ष निरज कारंजित, जिलोङ नेपाली समाजका अगुवा डा. सन्तोष पाण्डेलगायतले पुरस्कार र पदक तथा प्रमाणपत्र बितरण गरेका थिए।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै एनआरएनका महासचिव डा ज्ञानेन्द्र रेग्मीले उपाधि विजेतालाई आफ्नो ब्यक्तिगत तर्फवाट पाँच सय डलर थप पुरस्कार घोषणा गर्दै आयोजकलाई नगद हस्तान्तरण गरेका थिए।
महासचिव रेग्मीले मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यमका रुपमा रहेका खेलकुद र खेलाडीलाई सम्मान गर्नु एनआरएनको दायित्व भएको जिकिर गरे।
कार्यक्रममा एनआरएनका अध्यक्ष केशव कँडेलले जित र हार भन्दा पनि आपसी भाइचारा र अनुशासीत बनाउन खेलकुदले महत्वपुर्ण योगदान गर्ने हुँदा एनआरएनले यस्ताखाले प्रतियोगिता आयोजना गरेको बताए।