एक वर्षसम्म कुनै पनि अरू देशका सर्वसाधारणलाई यात्रा प्रतिवन्ध लगाएको अस्ट्रेलीयाले आगामी अप्रिल १८ तारिखदेखि न्युजिल्यान्डलाई सुरक्षीत मुलकको संज्ञा दिँदै बिना क्वारेन्टाइन आवतजावत खुला गर्ने भएको छ।
अस्ट्रेलियामा करिब पाँच लाखको संख्यामा न्यूजील्याण्डबासी छन्। दुरीका हिसाबले तीन चार घन्टाको हवाइ यात्रामा पुगिने यी दुई राष्ट्रबीच आवत जावतमा अनिवार्य क्वारेन्टाइनको नियम थियो।
यद्यपि अस्ट्रेलियाले भने गत अक्टोबरको अन्तिमदेखि न्यूजील्याण्डका लागि क्वारेन्टाइनरहित यात्रा सुरू गरिसकेको थियो। तर आउँदो अप्रिल १८ तारिख राति १२ बजे देखि भने दुवै देशका बासिन्दाले बिना क्वारेन्टाइन एक–अर्काको मुलुक भ्रमण गर्न सक्नेछन्।
‘यो कोभिड–१९ को प्रतिक्रियास्वरूप गरिएको महत्त्वपूर्ण अभ्यास हो, मलाई लाग्छ विश्वको अन्य क्षेत्रमा यस्तो देखिएको छैन,’ मंगलबार पत्रकारहरू सँग बोल्दै न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले भनिन्।
क्वारेन्टाइनरहित यात्रा फुकुवाका कारण न्यूजील्याण्डको पर्यटन उद्योगमा पनि ठ"लो टेवा पुग्ने अपेक्षा गरिएको छ।
न्युजिल्यान्डमा पर्यटनदूत समेत रहेका बुद्धीसागर घिमिरेले यो घोषणाले खुम्चिएर बस्नु परेको पीडालाई केहि हदसम्म भए पनि राहत मिल्ने बताए।
‘एक वर्षदेखि यहाँंका मानिस चाहेर पनि क्वारेन्टाइनको डरले घुम्न जान सकेका छैनन्, अब कम्तीमा पनि अस्ट्रेलिया घुमेर आफ्नो इच्छा पुरा गर्नेछन् ’, घिमिरेले सेतोपाटीसँग भने।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले यात्रुमा यदि कोभिड–१९ का केशहरू फेला परे छोटो जानकारीमै नीतिमा परिवर्तन हुनसक्ने सचेत गराएकी छन्।
‘यो दुई देश बीचको आपसी सम्वन्ध र कोरोना नियन्त्रण सम्वन्धी अग्रसरताको परिणाम हो, दुबै देशले कोरोना रोकथाममा गरेको मिहिनेतपछिको प्रतिफल र न्युन संक्रमणताले ल्याएको खुसीको लहर हो’, क्राइष्टचर्चमा रहेका अर्का सन्चारकर्मी सुमन गीरीले भने, ‘दुई हप्ते क्वारेन्टाइनले सबैलाई थला पारेको थियो अब न्युजिल्यान्डको यस निर्णयले दुबै देशका बासिन्दालाई उत्साहित पारेको छ।’