अस्ट्रेलियाको सिड्नी नजिकैको पर्यटकीय नगरी ओलंघन हस्पिटलमा सिनीयर स्पेसलिष्टका रूपमा कार्यरत डा सिताराम जोशी आफ्नो नाममा गर्व गर्छन्। भगवानको नाम जोडेर बाबु बाजेले राखिदिएको यति राम्रो नाम आफैंमा मेरो पहिचान हो।
हुन पनि डा. सितारामलाई कार्यस्थलमा धेरैले फरक र अलग रूपमा नामले चिन्छन्। भारत र नेपाल तिरका मानिसले नाम सुन्नासाथ कान ठाडो पार्छन् र सोध्छन्, ‘तपाईँको घर नेपाल कि, भारत?’ उनी यसैमा गर्व गर्छन् र भन्छन्, ‘नाम पनि हाम्रो शान र मान अनि पहिचान हो।’
उच्च शिक्षा अध्ययनका लागि सम्भावनाको खोजीमा लाखौं नेपाली विदेशिने क्रम बाक्लिएको छ। यसले हाम्रो शान र मानमा फरक खाले महत्व बोकेको छ। विदेश बसाईसराइको लामो इतिहास नबोके पनि विदेशमा नेपाली नया पुस्ता तयार भइरहेको पछिल्लो अवस्थामा नाम र काम अनि यसले पार्ने प्रभाव आफैंमा महत्वपूर्ण हो।
अस्ट्रेलिया आएर संघर्षका दिनमा आफूलाई चिनाउन ह्यारी बनेका चितवनका हरि अधिकारीले केही वर्षपछि आफ्नो पुरानै नाम रोजे। ‘पण्डितको छोरा भएर भगवान हरिको नाम जप्न पाउनु आफैंमा महत्वपूर्ण थियो, त्यसैले युवा जोश र जाँगरमा परिवर्तन गरेको नामबाट सन्तुष्ट हुन सकिएन, हयारीबाट पुनः हरिमा फर्किएको हुँ’, नेपाल डेमोक्रयाटिक फोरम अस्ट्रेलियाका उपाध्यक्षसमेत रहेका अधिकारीले सुनाए।
‘नाम भनेको सबै थोक रहेछ, काम बरू परिवर्तन गर्न पाइन्छ तर पहिचानसँग जोडिएको नाम भने एक पटक बिग्रिएपछि निकै कठिन हुँदो रहेछ’, हरिले एउटा स्मरण सुनाउँदै सेतोपाटीसँग भने, ‘सिड्नीको चर्चित किनमेल थलोमा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै गर्दा छातीमा ह्यारी नामको ट्याग हुन्थ्यो। किनमेलका लागि आएका नेपाली मुलका अभिभावक हुनुपर्छ, बा आमा मिलेर केही किन्न खोज्दै हुनुहुन्थ्यो सायद, तर उहाँहरूलाई कुनै एक सामानको नाम अंग्रेजीमा भन्न आएनछ। उहाँहरू मेरै छेउमा आउनुभयो। तर अकमकिनुभयो। आमाले सोध्नु न उहाँ बाबु नेपाली जस्ता छन् । तर बा चाही मेरो नाम देखेर भन्दै हुनुहुन्थ्यो, हैट! नेपाली होइन नाम हेर न ह्यारी छ विदेशी हो पक्का। मलाई साह्रै गाह्रो भयो र उहाँहरूलाई आफैं नेपालीमा सोधेँ, ‘आमा के समस्या पर्यो?’ यसरी सिड्नीमै कामका दौरान भएको यो घटनाक्रमले मलाई ह्यारीबाट फेरि हरि अधिकारी बन्न प्रेरित गर्यो।’
पछिल्ला दिनमा नेपाली नयाँ पुस्ताका नाम रेगन, डेविड र एलीस हुँदैगर्दा यसले भविष्यमा नेपालीपनमा कस्तो प्रभाव पार्ला भन्ने हाम्रो प्रश्न हो। सुरूमा अधिकांश अभिभावकले आफ्ना बच्चाको नाम यताकैसँग मिल्दोजुल्दो राख्ने गरेका थिए। तर अहिले भने नामको महत्व र हिन्दुत्वको प्रभावका कारण केही कम भएको सिड्नीका पण्डित प्रकाश ढोडारीले बताए।
हिन्दु समाजका संस्थापक सदस्यसमेत रहेका पण्डित ढोडारी भन्छन्, ‘प्रारम्भमा देखासेखी र प्रभावका कारण नेपालीजनले नाम केही अलग राखे। तर पछिल्ला दिनमा समाजिक सद्भाव, राष्ट्रियताको भावना र हिन्दुत्वको प्रभाव बढ्दै जाँदा अधिंकाशले नेपाली नाम नै खोज्न थालेका छन्।’
पछिल्ला दिनमा डेविड, म्याक्स र जोन नेपालीको बिगबिगीनै छ अस्ट्रेलियामा भन्दा फरक नपर्ला। किनकि यहाँको बजारमा कतिपय काम, दाम र नामका कारण पनि प्रभावित हुने गर्छ।
सिड्नीमा नेपालीको बाक्लो बस्ती भएको रकडेलमा एभरेष्ट बुचरी अनि भुरभुरे मःमःका साहुजी महेश सिड्नीभर म्याक्सका नामले चिनिन्छन्। ताप्लेजुङका महेश प्रसाईलाई पुरानो नामले चिन्ने केही प्रतिशत मात्र होलान्। तर म्याक्स भाइ भनेमा उनलाई अस्ट्रेलियाभरनै नेपालीजनले चिन्छन्। किन महेश म्याक्स भए भन्ने प्रश्नमा उनको जवाफ छ, ‘महेश भन्न गाह्रो मान्ने खैरैले म्याक्स भने, तिनको सिको गर्दै अरूले पनि त्यसै भन्न थाले बिस्तारै मेरो पहिचाननै म्याक्स भयो। अब फेरौं अनि म्याक्सलाई महेश बनाऊ भने लामो समय र मिहिनेतले कमाएको पहिचान गुम्ला भन्ने डर छ त्यसैले खुला छोडिदिएको छु।’
नेपाली विध्यार्थीको हकहित र सामाजिक काममा निकै अगाडि रहेको युवा अभियन्ता म्याक्सलाई युवा पीढीले भने यसै नामले चिन्ने गर्छन्। ‘कतिलाई भन्दै हिँडु मेरो नाम महेश हो भनेर? त्यसैले म्याक्स नै सही छ,’ उनले भने।
नेपालबाट सात समुन्द्र पार अस्ट्रेलिया आएर पनि नामसँगै शान कमाएका कानुन व्यवसायी शम्सेरसिंह थापा भने नामलाई महत्वको विषय भित्र राख्नुपर्ने बताउँछन्।
उनको ल फर्मको नाम पनि शमशेर एन्ड एशोसियट्स हो। नामसँग पहिचान पनि जोडिएको छ, राम, श्याम, भरत, हरि अनि केदार र रत्नमानजस्ता नामहरू आफैंमा अर्थपूर्ण र हाम्रो संस्कृतीसँग जोडिएका छन्।
त्यसैले पनि नयाँ पुस्ताको नाम आफ्नै माटो सुहाउँदो र पहिचान जोडिएको भएमा सुनमा सुगन्ध हुने थापाको कथन छ। तर थापा भन्छन्, ‘बहुसंस्कृतिक देशमा प्राय चिनीयाले अंग्रेजी नाम राखेका हुन्छन् र उनीहरु त्यसमा गर्व गर्ने गर्छन। यो सोचाई र बुझाईमा फरक पर्ने कुरा पनि हो।’
हामी प्रवासी नेपालीको लागि मुलुकसँग जोड्ने महत्वपूर्ण माध्यम भनेको भाषा र संस्कृति हो। यसैलाई हामीले मेट्न थालेमा हामी त नेपाली रहौंला तर हाम्रा सन्तती जुन देशमा जन्मेका हुन् त्यतैका रैथाने बन्ने एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मीले बताए। ‘विदेशमा रहेका नेपालीजनले बुझ्नुपर्ने मुल कुरा भनेकै भाषा अनि कला संस्कृतिको जर्गेना हो। अनि नाम पनि त्यसै अन्तर्गत पर्नजान्छ। यदि हामीले जन्मदै नाम पनि विदेशी राख्न थाल्यौ भने त्यसले हाम्रो अपनत्वलाई घटाउने काम गर्छ’, रेग्मीले भने।