चौध बुँदे घोषणापत्र जारी गर्दै अष्ट्रेलियाको राजधानी क्यानबेरामा एक दिने डिईसिएमटी विज्ञ सम्मेलन सकिएको छ।
गैर आवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको प्रकोप ब्यवस्थापन सम्बन्धी कार्यदलको आयोजनामा भएको कार्यक्रममा प्रकोप ब्यवस्थापन र कोभिड १९ को महामारीमा अष्ट्रेलियास्थित विज्ञ र पेशाकर्मीले गरेका अनुसन्धान र पेशागत संलग्नताबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो।
अष्ट्रेलियाका नेपाली माझ पहिलो पटक आयोजित सम्मेलनको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहालले गरेका थिए।
एनआरएन अष्ट्रेलिया, नेपाली दूतावास, अष्ट्रेलियाली नेपाली डाक्टर र डेन्टिस्टको संस्था एम्डा, नेपाली सामुदायिक संघ संस्था फेन्कालगायत मिलेर पहिलो पटक उच्चस्तरीय सम्मेलन आयोजना गरिएको हो ।
कार्यक्रममा राजदूत दाहालले अष्ट्रेलियाको नेपाली समाजले ज्ञान र शिप अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए।
राजदूत दाहालले सोही अबसरमा सम्मेलनका संयोजक तथा एनआरएन अष्ट्रेलियाका प्रकोप ब्यबस्थापन कार्यदलका संयोजक डाक्टर भरतराज पौडेल, डा राजु अधिकारी र डाक्टर रामकृष्ण निरौलाद्वारा लिखित नेपाल साइन्स फाउण्डेशन र एनआरएन अष्ट्रेलियाको सयुंक्त पहलमा तयार डाईसेक्टिङ दी प्यान्डेमिक कोभिड १९ नामक पुस्तकको लोकार्पण समेत गरेका थिए।
राजदूत दाहालले तिनै जना सम्पादक तथा आठ वटा च्याप्टरमा आ-आफ्ना अनुसन्धान र सोध पस्कने अनुसन्धानकर्ता र लेखकहरूलाई बधाई दिए। मञ्चमा एनआरएन आईसीसीका उपाध्यक्ष मन केसी, नेपाली कन्सुल जनरल दिपक खड्का र नेपाली दूतावासकी नियोग उपप्रमुख द्रुपदा सापकोटाले संयुक्त रूपमा रिबन खोलेर सहभागी बिज्ञ र बैज्ञानिक समुदायसामु प्रस्तुत गरेका थिए।
डिईसिएमटी सम्मेलनलाई एनआरएन आईसिसीका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले स्थापनाकालदेखि आपतबिपतका बेला नेपाल र डायारस्पोरामा मानवीय तथा आकस्मिक सहयोग गर्दै आएको स्मरण गरे। उनले प्रकोप र महामारी सम्बन्धी ज्ञान र शिप आदानप्रदान गर्ने यो सम्मेलन झन सान्दर्भिक भएको दाबी गरे।
एनआरएन आईसिसीका अध्यक्ष कुमार पन्तले पठाएको लिखित सन्देशसँगै पूर्व अध्यक्ष जिबा लामिछाने र वर्तमान महासचिव हेमराज शर्माले मानवतावादी कामको लागि प्राज्ञिक र पेशाकर्मीकै पहलमा एनआरएनलाई अझ बढी घच्घच्याउने काम यो सम्मेलनले गरेकोमा खुसी ब्यक्त गरे।
कार्यक्रममा एनआरएन आईसिसीकै अष्ट्रेलियास्थित उपाध्यक्ष मन केसीले आफूले नेतृत्व गरेको आईसिसीकै स्कील नलेज र प्रबिधि हस्तान्तरण एवं नीति हेर्ने विभागको लागि यो सम्मेलनको घोषणापत्र पुस्तक र प्रोसिडिङ महत्वपूर्ण हुने भएकोले र अष्ट्रेलियाबाटै यो काम शुरू भएकोमा खुसी ब्यक्त गरे।
नेपाली महावाणिज्यदूत दिपक खड्काले अष्ट्रेलियाका होनहार नेपाली विद्वानहरूको काम देख्दा आफूलाई सधै गर्व लाग्ने गरेको बताए।
सम्मेलनको पहिलो सत्रमा नेपाल साइन्स फाउन्डेसन तथा फेन्काका अध्यक्ष राजु अधिकारीले कोभिड १९ बारेको कार्यपत्र प्रस्तुत गरेका थिए। डा रामकृष्ण निरौलाले पुस्तक र सम्मेलनको तयारीबारे यो आवश्यकताले जन्माएको अवसर भएको बताए।
संयोजक डाक्टर भरतराज पौडेलले आगामी दिनमा प्रकोप र महामारी ब्यवस्थापनको क्षेत्रमा काम गरिरहेका विज्ञ र स्वयंसेवकलाई संगठित गर्दै नेपाल र प्रवासका नेपाली समाजलाई योगदान दिन सकिने बताए।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले अष्ट्रेलियामा आफ्नो संस्थाले महामारीका बेला पुर्याएको सहयोगको फेहरिस्त प्रस्तुत गरे भने नेपाली दूतावासकी उप प्रमुख द्रुपदा सापकोटाले नेपाल र अष्ट्रेलिया बिचको सम्बन्ध सँगै कोभिड १९ पछिको समयमा गर्न सकिने काममा आफूहरू केन्द्रित रहेकोले यो सम्मेलन त्यसको लागि कोषे ढुङ्गा साबित हुने बताइन्।
तीन चरणमा सञ्चालित सम्मेलनमा डा रूपक अर्याल, डा बन्दिता मैनाली, डा ज्योती केसी, डा हेमन्त ओझा, डा रमेश सुनाम, डाक्टर चन्द्र दिपक पोखरेल, पुनम पन्त, कृष्ण हमाल, डा होममूर्ती पन्तलगायतले आ-आफ्ना अनुभव बाँडेका थिए।
एनआरएन आईसिसी महिला संयोजक भोमा लिम्बु र ओसेनिया संयोजक जानकी पौडेलले सम्मेलनमा प्रस्तुत विषयबस्तु एनआरएनको मानवतावादी कामको लागि अत्यन्त उपयोगी रहने उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा १४ बुँदे क्यानबेरा घोषणापत्र प्रस्तुत गर्दै डाक्टर राजु अधिकारीले आगामी वर्षदेखि प्रकोप र महामारी सम्मेलन र पुस्तक प्रकाशन गर्दै जाने बताए।
कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले प्रकोप व्यवस्थापन आफैंमा महत्वको बिषय भएकोले यस्ता खाले कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।
घोषणापत्र र समग्र कार्यपत्र माथि टिप्पणी गर्दै एनएडिएफ पूर्व अध्यक्ष डिल्ली ढकालले सम्मेलनको निचोड नेपाल र नेपालीका लागि उपयोगी दस्तावेज हुने उल्लेख गरे।
एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देल, नेपाली समाजका अभियन्ता नारायण प्रधान, प्रवक्ता नन्द गुरूङ, एनएसडब्लु उपाध्यक्ष देब गुरूङ, भिक्टोरिया उपाध्यक्ष प्रेम कँडेल, डाक्टर दुर्गा दत्त कँडेल, आइसीसी सदस्य ई राजु अधिकारीले सम्मेलनले मार्ग निर्देशन गरेका बिषयहरू एनआरएनले लागू गर्दै जान सके संस्थाको प्रभावकारीता अझ बढ्ने उल्लेख गरे।
सम्मेलनमा भाग लिन सिड्नी, मेलबर्न, ब्रिसबेन तास्मानिया, दक्षिण अष्ट्रेलियालगायतबाट सहभागीहरू राजधानी क्यानबेरा आइपुगेका थिए।