अष्ट्रेलियामा जारी एक्सपर्ट टी १० क्रिकेट प्रतियोगिताका लिग चरणका खेल सकिएका छन्।
भिक्टोरिया नेप्लीज क्रिकेट संघको आयोजनामा जारी खेल अन्तर्गत आइतबार लिग चरणका खेल सकिएका हुन्।
लिग चरणका खेलमा एक्सपर्ट सगरमाथाले हिमालयन जाइन्ट्सलाई सात विकेटले पराजित गर्दा अर्को खेलमा म्याभेन क्रिकेट क्लबले एक्सपर्ट सगरमाथा ब्लुलाई २४ रनले हरायो।
यस्तै अर्को खेलमा आरआरसी वारियर्सलाई हिमालयन जाइन्ट्सले आठ विकेटले हराउँदा जाइन्ट्स म्याभेन सीसीलाई ९ विकेटले पन्छायो।
अन्य खेलहरुमा एक्सपर्ट सगमारथाले रोयल राइनोज वारिर्यसलाई बिशाल अन्तरले पराजित गरेको छ। एक्सपर्ट सगरमाथाले पहिलो ब्याटिङ गर्दै दश ओभरमा विना विकेटको क्षति विष्फोटक ब्याटिङ गर्दै १ सय ७१ रन बनाएको थियो। एक्सपर्टका लागि कप्तान आशिस जिसीले ३९ बलमा एक सय ३२ रन बनाए। जसमा १५ छक्का र सात चौका सामेल थियो। जवाफमा रोयल राइनोज वारियर्स ८९ रनमा समेटियो।
यस्तै लिग चरणकै अन्य खेलमा ग्लोबल इन्टरफेसले रोयल राइनोज क्रीकेट क्लबलाई ४६ रनले पराजित गरेको छ भने अर्को खेलमा रोयल राइनोजले हिमालयन टाइटन्सलाई एक विकेटले पराजित गर्न सफल भयो ।
यस्तै अर्को खेलमा एक्सपर्ट सगरमाथा रेनेगेड्सले ग्लोबल इन्टरफेसलाई सात रनले हराउन सफल भयो। यस्तै ग्लोबल एन्टरफेसले लगत्तै हिमालयन टाइटन्सलाई एक सय २६ रनको बिशाल अन्तरले पराजित गरेको छ । खेलमा पहिलो ब्याटिङ गरेको ग्लोबलले १० ओभरमा एक सय ८५ रन जोडेको थियो । खेलमा ग्लोबलका राजु न्यौपाने एक्लैले ४० बल खेलेर एक सय ५० रन बनाए।
राजुले चौध छक्का र १२ चौका प्रहार गरेका थिए । दोस्रो ब्याटिङ गरेको टाइटन्स ५९ रनमा अल आउट हुन पुगेको थियो।
यस्तै अन्तिम खेलमा एकसपर्ट रेनेगेटले रोय राइनोज क्रिकेट क्लबलाई पाँच रनले हरायो।
प्रतियोगिताका विजेताले तीन हजार र उप विजेताले १५ सय डलर पुरस्कार पाउने छन्।
प्रतियोगितालाई एक्सपर्ट एजुकेशन, हंग्रीआइज रेस्टुरेन्ट, थ्रिआरजे, बुद्ध ट्राभल्स, एभरेष्ट ड्राइभिङ, डाइनेष्टी लिभिङ, क्यापकर्न, लालिगुरासलगायतले सहयोग गरेका छन्।