अमेरिका डिसी महानगर क्षेत्रमा करिब दुई दशकदेखि बस्दै आएका उज्जल ठकुरीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा ९ पटक आफ्नो नाम लेखाएर कीर्तिमानको रेकर्डनै बनाएका छन्। मार्शल आर्टका विविध विधामा निकै उत्कृष्टताको नमुना पेश गर्दै ठुकरीले एकपछि अर्को कीर्तिमान थप्दै गएका हुन्।
यस पटक भने नवौं कीर्तिमान कायम गर्ने क्रममा उज्जवल ठकुरीले पाकिस्तानका कीर्तिमानधारी मोहम्मद रशिदलाई पछि पारे।
पाकिस्तानका रशिद बिभिन्न विधामा विश्व कीर्तिमान गर्ने उत्कृष्ट खेलाडी मध्ये एक हुन्। ठकुरीले हालसालै भारतीय ओलम्पिक तेक्वान्दो खेलाडीको कीर्तिमानलाई भंग गरेको केही समयमै पुन पाकिस्तानका शीर्ष खेलाडीको कीर्तिमानलाई भंग गर्दै गिनिज विश्व कीर्तिमानमा नवौं पटक आफनो नाम लेखाएका हुन्।
रशिद पाकिस्तान एकडेमी अफ मार्शल आर्टका प्रमुख समेत हुन्। उनले राखेको दुवै विश्व कीर्तिमान ठकुरीले तोडेका छन्।
भर्खरै कायम गरेको नयाँ कीर्तिमान ५ केजीको एकंल वेट बाँधेर ४ फिट माथि किक प्याडमा १ मिनेटमा ८३ पटक घुडा प्रहार गरेर बनाएका हुन्।
‘कीर्तीमान तोडिनका लागि बन्छन् भन्ने मेरो धारणा हो, जसका कारण म सधैं नयाँ नयाँ कीर्तीमानहरू कसरी कायम गर्न सकिन्छ भनेर सोचिरहन्छु। यसका लागि मेरो परिवारले पनि मलाई साथ र सहयोग गरेको छ। मेरो चाहना भनेको अमेरिकामा रहेर पनि नेपालको झन्डालाई सधै फहराइरहनु हो’, ठुकरीले सेतोपाटीसँग भने।