आगामी मार्च २७ देखि मेलवर्नमा टी १० क्रिकेट प्रतियोगिता हुने भएको छ।
मेलवर्नमा छरिएका क्रिकेट खेलाडी र प्रतियोगितालाई एकजुट बनाउन लागि परेको भिक्टोरियन नेप्लीज क्रिकेट संघले मार्च २७ र २८ मा एक्सपर्ट टी १० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो।
प्रतियोगितामा मेलवर्न वरपरका आठ टिमले सहभागिता जनाउने भएका छन्। हिमालयन क्लब जाइन्टस, हिमालयन क्लब टाइटन्स, ग्लोबल इएटरफेस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा ब्लुज स्टार र एक्सपर्ट सगरमाथा रेनगेड्स, रोयल राइनोज क्रिकेट क्लब, रोयल राइनोज वारियर्सको सहभागिता पक्का भइसकेको संघका अध्यक्ष सुजित बस्नेतले सेतोपाटीलाई बताए।
प्रतियोगिताका विजेतालाई तीन हजार अस्ट्रेलियन डलर र दोस्रो हुनेलाई पाँच सय डलर तथा ट्रफी प्रदान गरिने अध्यक्ष बस्नेतले बताए।
कार्यक्रमलाई एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको छ भने बुद्ध ट्राभल्स, थ्रिआरजे, एभरेष्ट ड्राइभङि, डाइनेस्टीक होम्स लालिगुरास इन्टरप्राइजेजलगायतले सहयोग गरेको भिएनसीले जनाएको छ।
दश ओभरको खेलका लागि संघले सबै तयारी गरिसकेको संघका अध्यक्ष बस्नेतले जानकारी गराए ।
यस्तै संघकै आयोजना तथा एनआरएन खेलुकद समितिको संयोजनमा आउँदो अप्रिल १० र ११ तारिखका दिन मेलवर्नमा एक्सपर्ट इन्टरस्टेट क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको संघका सल्लाहकार तथा पूर्व अध्यक्ष यशवन्त सुवेदीले जानकारी दिए।
उनले अस्ट्रेलियाको सिडनी, तास्मानिया र मेलवर्नलगायतका नेपाली टिम बिच आयोजना हुने प्रतियोगिता निकै आकर्षक हुने सुबेदीले सुनाए।
नेपाली खेलाडीबीच आपसी भाइचारा र उदयीमान खेलाडीलाई अवसरको सृजना गर्ने उद्धेस्यले केही वर्ष अगाडि मेलवर्नमा भिक्टोरियन क्रिकेट संघको स्थापना भएको थियो ।