नेपाल-अस्ट्रेलियन डेमोक्रेटीक फोरम (एनएडीएफ) ले आइतबार सिड्नीमा गैर आवासीय नेपाली संघ (एनआरएन) को भूमिका र यसको महत्वको विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ।
अस्ट्रेलियामा छरिएका डमोक्रयाटलाई विचारको छातामुनी गोलबद्ध गराउन आयोजना गरिएको कार्यक्रममा सहभागिले अहिलेको आवश्यकता एकता र निष्पक्षतामा जोड दिए।
पुराना डेमोक्रयाट अभियन्ता शम्भु पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एनआरएनका केन्द्रीय उपाध्यक्ष मन केसीले बदलिदो परिस्थितिबीच सामाजिक अभियानमा फरक र अलग ढंगले प्रभावकारी भूमिका खेल्न एनआरएन अगाडि बढ्नुपर्ने बताए।
केसीले यस्ता खाले कार्यक्रममा उपस्थित हुँंदा गबिर्लो महसुस हुने बताउँदै अगाडि भने, ‘अस्ट्रेलियामा आस्थामा बेरिएका साथीभाइ गोलबद्ध भएको डेढ दशक बितिसक्दा पनि यसको छाताले छहारी प्रदान गरिहेको छ। यो नै महत्वको विषय हो।’
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटाले एनआरएन र डेमोक्रयाटबीचको सम्वन्ध नङ र मासु जस्तो भएको विचार राखे। क्यानबेरावाट कार्यक्रममा सहभागि भएका चुडामणिले भने, ‘हामी एकताबद्ध भएर अगाडि बढनु नै अहिलेको आवश्यकता हो।’
एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मीले एनआरएन र एनएडीएफबिचको सम्वन्धका विषयमा प्रकाश पार्दै भने, ‘यसले रोल मोडलको भूमिका निर्वाह गर्न सक्नुपर्छ। रेग्मीले अगाडि भने, ‘एनआरएनको भूमिका र काम कर्तब्य फरक र अलग हुन्छ, यसलाई पनि साथीभाइले बुझिदिनुपर्छ तर पनि हामीले गर्नुपर्ने सबैखाले काम र कर्तब्यमा डेमोक्रयाटको शाखलाई गिर्न भने दिएका छैनौं।’
कार्यक्रममा एनआरएनका कोषाध्यक्ष अनिल पोखरेलले काम र व्यवसायीकताको आधारमा पछिल्ला दिनका क्रियाकलापलाई हेरेर मुल्याकंन गर्न सके आगामी दिनमा डेमोक्रयाटमा सम्भावनाका आधार तय हुने बताए।
कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देलले एनआरएनमा कतिपय विविध विधानमा भएका त्रूटिलाई हटाएर सबल र सक्षम नेतृत्वको चयन अहिलेको आवश्यकता रहेको औल्याए।
एनआरएन अस्ट्रेलियाका अर्का पूर्व अध्यक्ष गणेश केसीले डेमोक्रयाटबीच एकता अहिलेको आवश्यकता रहेको औलाए।
कार्यक्रममा एनएडिफका पूर्व अध्यक्ष डिल्ली ढकालले विचारको एकतामा बाँधिएको जमातबीच नेतृत्वको लडाइँमा हुने सौदाबाजीमा सबैले आफ्नो कमी कमजोरी औल्याउनसके मात्र यसले समाधान दिने बताए।
यस्तै अर्का पूर्वअध्यक्ष विवेक थापाले सधै अर्काको झोला बोकेर हिड्ने नेता नभइ कार्यकताका रुपमा रहेका साथीभाइलाई पनि उनीहरूको योगदानको कदर हुनुपर्नेमा जोड दिए। एनएडिएफका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले जातीय नश्लबाट उठेर डेमोक्रयाटीक भावनामा रहेर बीपीको विचार बोक्न सके मात्र एकताको सुत्रमा बाँधिने अवस्था रहेको बताए।
कसैलाई काखा र कसैलाई पाखा लगाउने निती र सोचवाट कोही पनि अगाडि बढ्न नसक्ने शेर्पाको भनाइ थियो।
एनएडिएफका अध्यक्ष सुरेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी निकुन्जकी अध्यक्ष सन्ध्या शाह,आइसीसी सदस्य जानकी पौडेल, एनआरएनका प्रवक्ता नन्द गुरूङ, चितवन समाजका अध्यक्ष छबी सापकोटा, महेन्द्र लम्साल , देबेन्द्र सापकोटा , एनएडीएफका उपाध्यक्ष हरि अधिकारी , माधव गैरै लगायतले अस्ट्रेलियामा एनएडीएफको स्थापना र यसले खेलेको भूमिकाबारे बोलेका थिए।