सन् २०१४ मा उनीहरूले निकै ठूलो सपना देखेका थिए। महिना जनवरी भए पनि रामबहादुरले छोरालाई कम्प्युटर इन्जिनियर पढाउन अष्ट्रेलिया पठाएको गते बिर्सिए।
एउटा मात्र छोरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दा तीन वर्षपछि कम्प्युटर इन्जिनियर बनेर छोरो स्वदेश फर्कनेछ। अनि सबै परिवार हाँसीखुसी जीवन विताउने उनको ठूलो सपना थियो।
१२ कक्षा पास गरेको छोरो सन्देश (नाम परिवर्तन) लाई उच्च शिक्षाका लागि विदेश पठाएका बाबु राम बहादुरका लागि सम्झन पनि गाह्रो हुन्छ।
सिड्नीको कुनै निजी उच्च शिक्षालयबाट आइटीमा ब्याच्लर पढ्न गएका छोरो आज सात वर्ष बितिसक्दा पनि घर फर्किएको छैन। ‘त्यति मात्र होइन उसको पढाइ र गुनाइको त कुरै छाडौं, अचेल एक वर्ष जति भयो सम्पर्कमा पनि आउन छाडेको छ’, बाबु राम बहादुरले सेतोपाटीसँग भने।
अष्ट्रेलिया आएको दुई तीन वर्ष राम्रो पढे, केही कमाए अनि घरमा पठाए पनि। लगातार घर परिवारसँगको सम्पर्कमा रहने यी युवा यतिखेर कहाँ र कुन हालतमा के गर्दै छन् परिवारलाई पत्तो छैन।
‘अस्ट्रेलिया पठाएको वर्ष दिनसम्म दिनै फोन गर्थ्यो, सबै ठिक ठाक थियो, आमालाई पनि हाल खबर सुनाइरहन्थ्यो। पढाइ अनि काम र कोठाका बारेमा बढी कुरा गर्थ्यो’, उनले भने, ‘दिदीलाई मोबाइलसमेत पठाएको थियो तर….’, रामबहादुरको बोली त्यतिमै अड्कियो।’
अबरूद्ध बोलीलाई केही नियन्त्रण गर्दै उनले भने, ‘त्यसपछि फीस मंहगो भयो भनेर सस्तो कलेज चेन्ज गर्छु भन्यो, हामीलाई के थाहा हुन्छ नि भन्यौं। दोस्रो वर्ष पनि हप्तै पीच्छे फोन गर्थ्यो, घुमघामका र समुन्द्रमा खिचेका फोटो पनि पठाउँथ्यो। तर तेस्रो वर्षमा सिड्नीमा बसेर भएन बाहिर तिर जानुपर्छ कि पैसा कमाउन भन्थ्यो रे आमालाई। बिस्तारै सम्पर्कभन्दा बाहिर रहन थाल्यो। हामीले फोन गर्दा पनि काममा छु , ब्यस्त छु मात्र भन्थ्यो।’
पढाइ भने गरिरहेको छु चिन्ता लिनुपर्दैन भनेर आमालाई फोन गरेको एक वर्ष भैसकेछ अहिले ऊ सम्पर्क बाहिर छ।
लामो समयदेखि सम्पर्कविहिन उनको खोजीका लागि परिवारले सकेसम्म हरेक उपाय अपनाए। तर केही सिप चलेको छैन।
‘हामीले उसलाई चिन्ने साथीभाइ इष्टमित्र सबै गुहारीसक्यौं, कसैले एक महिनाअघि देखेका थियौं भन्छन्, कसैले फोननै उठाउँदैन भन्छन्’, बाबु राम बहादुरले सुनाए, ‘आमा दिनहुँ रून्छे, केही चाहिएन छोरा आइदिए हुन्थ्यो भन्छे, तर ऊ सम्पर्कमै छैन। पढाइ बिगारेर हो या कुलतमा फसेकाले हो। या अन्य कारणले हो छोरो सन्देश अचेल सम्पर्कमा पनि छैन र पुरानो टेलिफोन पनि उसको चल्दैन।’
विदेशिएको छोरोको कमाइ होइन अनुहार पनि हेर्न नपाएपछि यी अभिभावक निकै चिन्तित छन्।
‘काठमाडौंमा घर छ, चल अचल सम्पत्ति छ, हामीलाई छोरा फर्केर आइदिए मात्र हुन्छ भन्ने लागेको छ’, बुबा राम बहादुरले निकै भावुक हुँदै भने, ‘परिवन्द र समस्या भए पनि गाँठो फुकाउन हामी तयार छौं तर सम्पर्कबिहिन भएर बस्दा यता परिवारमा चिन्ताले सताएको छ।’
बिदेशमा पढेर, पैसो कमाएर छोराले पठाउँला अनि उसको बिहे गर्ने आमाको ठूलो रहर थियो। छोरासँगै बसेर बुढेसकालको जिन्दगी खुसीसाथ बिताउने आमाबाबाका सपना यतिखेर सपनामै सिमित भएको छ।
बिदेशिएको छोरोले कमाएर पठाउने भन्दा फोन गरेर हालचाल समेत नसोध्दा आमाको पीडा झन बल्झेको छ। त्यति मात्र होइन पछिल्लो एक वर्ष त फोन पनि आएन।
एक छोरा र एक छोरीसहित दुई सन्तान ईश्वरको बरदान भन्दै खुसी रहेको राम बहादुरको परिवारमा यतिखेर छोराको छेकछन्दले दिनप्रतिदिन चिन्ता थपिदै गएको छ।
एक्लो छोरो त्यसमाथि पनि पढेर बुढेसकालमा आमा बाबुको सेवा गर्ला भनेको बिदेशमै बेपत्ता हुन थाल्यो भन्दै आमा मान कुमारीको आँखा हरेक दिन रमाउन थालेका छन्।
यतिखेर अस्ट्रेलियामा नेपाली समाजको संख्या ह्वात्तै बढ्दै जाँदा यस्ता गुमनामको समस्या पनि बढ्दै गएको छ। विदेशमा पढ्न आएका कयैन विद्यार्थी अचानक अभिभावकको सम्पर्कमा आउन छोडनु भनेको केहि खराबी वा सोचेजस्तो नुहनु पनि हो।
नेपालबाट कनिकुती पैसा जम्मा गरेर बिदेश पठाएको छोरोले पढ्न पनि सकेन अनि पैसा पनि कमाउन सकेन भने मुख कसरी देखाउने भन्ने सोच हुन्छ, जुन बिलकुलै गलत हो। केही भने लागूपर्दाथ र जुवा तासले पनि गुमनाम भएका छन्। कोही प्रवेशाज्ञाको समस्याले गुमनाम भएका छन्।
लागूपदार्थ र जुवाको लतमा फसेकाको कहानी भने बेग्लै हुन्छ। कमाउ, खाउ र खेलमै बित्ने गर्छ जसले परिवार र अभिभावकको चियो चर्चोमा खर्चने र सोच्ने समय हँदैन अनि विस्तारै गुमनामको जिन्दगीमा उनीहरू पुग्छन्।
उच्च शिक्षाका लागि विदेश आइपुगेका नेपाली विद्यार्थी स्वदेशमा रहेका आफ्नै परिवारवाट टाढिनुलाई केही न केही समस्या भएको हुनुपर्ने कानुनविद शम्सेरसिंह थापाले बताए।
‘एकाएक आफ्नै घर परिवारवाट बिस्तारै सम्पर्क बिच्छेद हुनुमा केही न केही समस्या छ भन्ने बुझ्नुपर्छ’, उनले भने, ‘कि विद्यार्थीले पढाइ बिगारेको हुनुपर्छ या भिसासम्वन्धी समस्याले पिरोलिएको वा लागूऔषध र जुवामा फस्दा त्यस्ता विद्यार्थीहरू मानसिक तनावका कारण बिस्तारै परिवारवाट टाढिँदै जान्छन्।’
विद्यार्थी भएर विदेश आउँदै गर्दा विद्यार्थीले आफूलाई अध्ययनमा केन्द्रित पार्नु जरूरी हुन्छ। हामी केका लागि विदेश आयौं भन्ने कुराको हेक्का रहेन भने यस्ता घटनाहरू घट्दै जाने एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले बताउ।
पेशाले इन्जिनियर रेग्मीले भने, ‘हामी पनि विद्यार्थी भएर आएका थियौं, त्यतिबेला दुःख र पीडाका बीच पनि हामीले पढाइलाई प्राथमिकता दियौं, जसले हामीलाई सफल बनायो।’
वास्तवमा छोरा छोरीको उज्वल भविष्यको कामना गर्दै धन र ऋणको जोहो गरेर उच्च शिक्षाका लागि विदेश पठाएका छोरा छोरी यसरी बाबुआमाबाट टाढँदै जाँदा कसको मन नरोला र।
हामी जुन उद्देश्यले विदेश आएका हौं त्यही उद्धेश्य बोकेर लगनशील भएर अगाडि बढने हो भने यहाँ लाख सम्भावनाका ढोका खुलै छन्। तर विद्यार्थीकालमै रमाइलो र घमाइलो अनि विदेशको झीलीमिली र आखाँको तिरिमीरी तिर मन लगाउन थाल्यौ भने यसले यस्तै खाले गुमनामका कथाहरु बोक्ने पक्का छ।
हातको मैलो, सुनको थैलो, के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’
महाकवि लक्ष्मीप्रसाद देवकोटाले धन र मनको ब्याख्या गरेको धेरै वर्षपछि युवा गायक पुष्पन प्रधानले बिदेसिएका युवालाई सन्देश दिँदै देश फर्कन आब्हान गर्दै गीत गाए।
‘पैसा होइन, पासो छ परदेशमा, बोलाउँदैछन् आमा बाबाले स्वदेशमा , छोरा फर्केर स्वदेश आउ, शान्तिको गुड सानो देशमै बनाउ...’
काठमाडौंको मध्यम वर्गिय परिवारमा घटेको घट्नालाई यस्तै शन्देशसँग हामीले जोड्ने प्रयास गरेका हौं।
यस्तै अभिभावकको पीडालाई पुष्पन प्रधानको गीत ‘धनै त हो भाग्यमा भए जति नै मिल्छ ,परिश्रम गरे शान्ति बैभव देशमै मिल्छ, छोरा फर्केर स्वदेश आऊ’ भन्ने भावमा शन्देश पस्कन लागेका हौ।
यो माया मोह र प्रेमजालले बेरिएको संसारमा गुमनाम छोराहरुको कथा केही फरक र अलग पनि हो। जन्मदिने आमाबाबुको माया र मोह नरित्तिने कथा पनि हो यो।
थलिएका आमाबाबु बिदेशिएको भुसतिघ्रे छोराको खोजिमा लाग्नुपर्दा उनीहरूको पीडाको भाव पोखिदिने कोशिश समेत गरेका हौ।
सेतोपाटी अनलाइनमा अस्ट्रेलियाको समाचारदेखेपछि एक जना मित्रमार्फत छोरोको हालचाल बुझ्न सकिन्छ कि भनेर राम बहादुरले सम्पर्क गरेका थिए। सोही कुराकानीलाई हामीले परिवारकै अनुरोधमा नाम परिवर्तन गरेर शन्देशका रूपमा समाचार पस्कने जमर्को गरेका हौ।-