करिब दुई दशकदेखि अष्ट्रेलियामा नेपाली भाषी रेडियो सञ्चालन गर्दै आएका पत्रकार टिका कार्की निधनको १३औं दिनमा श्रद्धान्जली सभा आयोजना गरिएको छ।
४४ वर्षीय कार्की दुई साता अगाडि उनकै निवासमा प्रहरीले अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुर्याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो।
शनिबार पूर्वी सिड्नीको म्याट्राभिलमा आयोजित श्रद्धान्जली सभामा सीड्नीका नेपाली समाजको बाक्लो उपस्थिति थियो।
दुई दशकदेखि सिड्नीको नेपाली समाजमा सामाजिक अभियन्ता, सन्चारकर्मी र खेलकुदकर्मीका रुपमा कार्यरत टिका कार्कीको ४४ वर्षको अल्पायुमा निधन भएको थियो।
पोष्टमार्टम र बाँकी प्रकृया पुरा गरेपछि उनको पार्थिव शरीर दाह संस्कारका लागि नेपाल लगिने भएको छ।
श्रद्धान्जली कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले भावविह्ल हुँदै राम्रो मान्छेलाई पनि भगवानले चाडै नै माथि बोलाउने गल्ती गरेको बताए।
उनले सीड्नीको नेपाली समाजमा टिका कार्कीको अभाव खट्कीने बताए। कार्यक्रममा टिका कार्कीका मित्र राज खनाल आफूले अष्ट्रेलियामा एउटा अभिभावक गुमाएको चर्चा गर्दै कसैसँग नबिझाउने एउटा सच्चा सामाजिक अगुवाको निधनले आफू स्तब्ध भएको सुनाए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अस्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले, नेपाली समाजकका अगुवा नारायण प्रधान, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरूङ, शैक्षिक व्यवशायी भिम खरेल, एसबीएसका पत्रकार रजिस अर्याल, एनआरएनका पूर्व कोषाध्यक्ष डिला खरेल, भाइ भरत सुवेदीलगायतले स्वर्गिय टिका कार्कीको योगदानको सम्झना गर्दै श्रद्धान्जली व्यक्त गरेका थिए।
‘कोभिडको समयमा पनि उहाँप्रति श्रद्धान्जली व्यक्त गर्न जसरी मानिसहरु उपस्थित भएका थिए, त्यो टिका कार्कीले समुदायमा गरेको योगदानको कदर थियो, उहाँ प्रतिको सच्चा श्रद्धान्जली थियो’, नेपाल पत्रकार महासंघ अस्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्लेले भने,‘एउटा व्यक्ति बितेर जाँदा उनले गरेका योगदानको कदर त्यहाँ हुन्छ जहाँ उनलाई सम्झने मानिसहरुको भिड देखिएपछि त्यस कुराको पुष्टि हुन्छ।’
गुरू भिमसेन सापकोटाले कार्यक्रममा वैदिक उपमा र मृत्यु संस्कारको मन्त्रबाट मृतकको आत्माको शान्तिको कामना गरेका थिए।
कार्यक्रममा नेपाली समाजका अगुवाहरू धर्मराज अधिकारी, भवानी ओली, दिनेश जोशी, सन्जिव शर्मा, बालचन्द्र भट्टराई , डिल्ली ढकाल, दिनेश पोखरेल, रमेश पाण्डे, विजय पोखरेल, रन्जु थापा, नन्द गुरूङ, प्रकाश हुमागाईँलगायतले फूलमाला चढाएर श्रद्धान्जली ब्यक्त गरेका थिए।
कार्कीको स्मृतीमा पत्रकारिता पुरस्कार
दुइ साताअघि अस्ट्रेलियाको सिड्नीमा ओछ्यानमै मृत फेला परेका पत्रकार टिका कार्कीको स्मृतीमा नेपाल पत्रकार महासंघ अस्ट्रेलियाले टिका स्मृती पत्रकारिता पुरस्कारको स्थापना गर्ने निर्णय गरेको छ।
महासंघका पूर्व कार्यसमिति सदस्य तथा हिमालयन रेडियोमा लामो समयदेखि आवद्ध पत्रकार टिका कार्कीको विविध स्वास्थ समस्याका कारण निधन भएको थियो।
उनको सम्झनामा हरेक दुई वर्षमा एक हजार एक अस्ट्रेलियन डलर धनराशीको ओसेनिया क्षेत्रको टिका स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्ने निर्णय महासंघले गरेको हो।
उक्त पत्रकारिता पुरस्कार अस्ट्रेलिया लगायत ओसेनिया क्षेत्रमा समुदायबारे उत्कृष्ट पत्रकारिता गर्ने नेपाली भाषीलाई प्रदान गरिनेछ।
महासंघका सल्लाहकार मनऋषी धितालले लामो समयदेखि नेपाली समाजमा अगुवाका रुपमा कार्यरत पत्रकार टिका कार्कीको योगदानलाई जिवन्तता प्रदान गर्न यो पुरस्कार महत्वपूर्ण हुने बताए।