अस्ट्रेलियामा योग शिक्षामा विशिष्ट स्नातक (एडमान्स डिप्लोमा) तह सम्मको अध्यापन गर्न पाउने गरि नेपाली योग गुरुद्वारा सञ्चालित शिक्षालयले मान्यता पाएको छ।
योग अलायन्स अस्ट्रेलिया तथा योग अलायन्स इन्टरनेशनल र अष्ट्रेलियाली ट्रेड फेयरले लामो अध्ययन अनुसन्धान र प्रकृया पुरा गरेर अस्ट्रेलियामा योगको निर्धारित पाठ्यक्रमलाई मान्यता दिँदै इजाजतपत्र दिइएको हो।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज ‘महाशक्ति ह्यापि योग (महायोग कलेज)’ नामको शिक्षालयलाई सो ईजाजत प्राप्त भएको संस्थाले जनाएको छ।
शिक्षाको शोधकार्य अध्यापन र प्रवर्धन गर्दै आएका नेपाली योग गुरु आचार्य राजन शर्मालाई प्रमुख प्राचार्य रहने गरि इजाजत दिइएको हो।
अष्ट्रेलियास्थित भिक्टोरिया विश्वविध्यालय अन्तर्गत एजुकेशन सेन्टर अष्ट्रेलियाको समेतको समन्वयमा सिड्नीमा कक्षा सन्चालन सुरु भएको प्रिन्सिपल आचार्य राजन शर्मा (भीमसेन सापकोटा)ले सेतोपाटीलाई जानकारी दिए।
हाल अनलाइन कक्षा सुरु भएको र मार्चदेखि फेस टु फेस कक्षाहरु सन्चालन हुने आचार्यले जानकारी दिए।
यो कोर्समा उत्तिर्ण हुनेलाई विश्वका कुनै पनि स्थानमा व्यवसायिक रूपमा वा साधना प्रवर्धन गराउँन योग प्रशिक्षण गर्ने ईजाजत प्राप्त हुनेछ। योग प्रादुर्भाव भएको भूमि नेपालमा योगको उच्च शिक्षा हासिल गरे पनि विदेशमा मान्यता नपाउने जटिल प्रावधानलाई यसले केही हदसम्म सहज बनाएको छ।
यसअघि विश्व शान्ति अध्यात्म विज्ञान समाजलाई दुई सय घन्टे (लेभल वन) आधारभूत योग कक्षा अध्यापनको मात्र इजाजत थियो। यस कोर्समा ३२ राष्ट्रका ६ सय विध्यार्थी अनलाइनमार्फत अध्यापन गरिरहेको प्रशिक्षक सापकोटाले बताए।
नेपालवाट सट कोर्स गर्नेलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिएकोसमेत सापकोटाले बताए।
सिड्नीस्थीत भिक्टोरिया विश्वबिद्यलायको केन्ट स्ट्रीटस्थीत कलेजमा योग कक्षा अध्यापन प्रारम्भ गरिएको छ। यसअघि विश्व योग अलायन्स र अष्ट्रेलियाली योग अलायन्सले आचार्य राजन शर्मालाई प्रभावशाली योग गुरूको सूचीमा राखेर ‘मास्टर योग टिचर’ को उपाधि समेत प्रदान गरेको थियो।