कोरोना प्रभावमा थलिएको विश्वकप फुटबलको छनोट चरणका खेलको नयाँ तालिका सार्वजनिक भएको छ। जसमा अस्ट्रेलियाले आगामी मार्च ३० मा नेपालसँंग काठमाडौंमा अवे म्याच खेल्ने भएको छ।
यो खेललाई अस्ट्रेलियन टेलिभिजन एसबीएसले प्रत्यक्ष प्रशारण गर्ने भएको छ। जसकारण अस्ट्रेलियामा रहने नेपालीले पनि यसको प्रत्यक्ष प्रसारणको मजा लिन पाउने भएका छन्।
फिफा विश्वकप फुटबल अन्तर्गतको छनोट चरणमा नेपाल र अस्ट्रेलिया दोस्रो पटक आमने सामने हुन लागेका हुन्।
यसअघि अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको खेलमा नेपाल पाँच शुन्यको अन्तरले पराजित भएको थियो। नेपालमा दिउँंसो आयोजना हुने खेल अस्ट्रेलीयाली समय अनुरुप बेलुकाको आठ बजे सुरू हुनेछ।
गत डिसेम्बरमा एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ खेल तालिका सार्वजनिक गरेको थियो।
नेपालले घरेलु मैदानमा मार्च २५ मा चाइनिज ताईपेइ, मार्च ३० अस्ट्रेलिया र जुन ७ मा जोर्डनसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।
आगामी खेल नेपालको घरेलु मैदानमा हुने भएकाले नेपाली फुटबलप्रेमीको लागि यो ठूलो महोत्सवका रूपमा रहेको छ। अवे अर्थात क्यानबेरामा पाँंच गोलको अन्तरले पराजित भएको नेपाली टोलीले घरेलु मैदानमा भने कस्तो प्रर्दशन गर्ने हो त्यो हेर्न बाँकी नै छ।
‘विश्व वरियतामा नेपालभन्दा निकै अघि रहेको अस्ट्रेलियासँग नेपालले प्रतिस्पर्धा गर्ने मौका पाएको छ। हामी आयोजना र खेलका लागि पनि निकै उत्साहित भएका छौ’, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, ‘लामो समयपछि नेपाली दर्शकले उत्कृष्ट फुटबलको मजा घरेलु मैदानमै लिन पाउने भएका छन्।’
आयोजनाको हिसाबले उत्कृष्टता र बलियो प्रतिद्धन्द्धीविरुद्ध प्रदर्शनमा पनि प्रतिस्पर्धात्मक बनाउन एन्फाले तयारी जोडतोडले अगाडि बढाएको अध्यक्ष शेर्पाले सेतोपाटीसँग भने।