अष्ट्रेलियाको राजधानी क्यानबेरामा तामाङ घेदुङले ल्होसार महोत्सव मनाएको छ।
अष्ट्रेलियास्थित आवासीय नेपाली राजदूत महेश राज दाहालको उपस्थितिमा आयोजित कार्यक्रममा डम्फू र तमाङ भेषभूषामा सजिएका युवा यूवतीको सामुहिक नृत्य प्रर्दशन गरेका थिए।
क्यानबेरा तामाङ सोसाईटीका अध्यक्ष राजु तमाङको सभापतित्व सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजदूत दाहालले नेपालको एकीकरण र एकतामा तामाङ समुदायको अति महत्वपूर्ण भूमिका रहदै आएको बताए।
तामाङ समुदायको वीर गाथा र कला सांस्कृतिक पहिचानलाई देश र विदेशमा प्रचार प्रसार गर्न सके हाम्रो भाषा र संस्कृतिलाई भोलिका पीडिले पछ्याउने राजदूत दाहालले बताए।
कार्यक्रममा तामाङ सोसाईटी न्यूसाउथवेल्थ राज्यका सभापति सुनदोर्जे तामाङले क्यानबेराका विद्वत वर्गका साथ लोसार मनाउन पाएकोमा हर्ष व्यक्त गरे। तामाङ सोसाईटीका सल्लाहकार डा. कृष्ण हमालले नेपाली समुदाय ४ वर्ण ३६ जातको फूलबारी हो र यस भित्रको सुन्दर र सुगन्धित फूलमा तमाङ समुदाय पर्ने बताए।
हमालले सबैको सद्भाव र भाईचाराबाट सवै जात जातिको भेष भुषाको विकास र बिस्तारमा सहयोग गर्न सकेमात्र मुलुक समृद्ध बन्ने बताए। समारोहमा तामाङ सोसाईटी एनएसडव्लु पूर्व सभापति तथा गीतकार दिल तामाङ र क्यानबेराका युवा कलाकार सुनिल गुरूङले गीत संगीत मार्फत सहभागीहरूलाई मनोरन्जन दिलाएका थिए।
क्यानबेराका नेपाली समुदायका अगुवा तथा एनआरएनका उपाध्यक्ष चुडामणि सापकोटा, एनआरएनका पूर्व उपाध्यक्ष राजन ढुंगेल, एनआरएनका क्यानबेराका सह-संयोजक अशोक बस्नेत, नेपाल कला संस्कृतीका दिपक हमाल, एएनएफएसका अध्यक्ष आदर्शजंग पाण्डेलगायतले ल्होसारको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा दूतावासका यादब कोइराला ,स्थानीय संघ संस्थाका तर्फवाट सुरज पौडेल, सुशील पोखरेल, सन्तोष मल्ल लगायत नेपाली समाजका अगुवाहरुको उपस्थिति रहेको तामाङ घेदुङ क्यानबेराका सल्लाहकार कर्मा लामाले बताए।