बलियो प्रतिपक्ष बन्न नसकेको आरोप खेपिरहेको नेपाली कांग्रेसको प्रवासका संगठनको अवस्था पनि छिन्नभिन्न देखिएको छ।
विश्वभरका करिब २५ देशका भातृ संगठनमध्ये अधिकांशको म्याद गुज्रिएको वर्षौ बितिसक्यो।
यता निर्वाचन समिति गठन भएर पनि पूर्णता नपाउँदा अस्ट्रेलियाका कांग्रेसीको बिचल्ली भएको ८ वर्ष वितिसक्यो। निर्वाचन समिति र तदर्थका नाममा संगठनको हाल बेहाल देखिन्छ।
विचारको एकताले प्रवासमा बाँधिएका वैचारिक खेमासमेत नेपालका नेताका पिछलग्गु बन्नु र आस्था अनि विचारलाई ‘अचार’ बनाएर चाट्नेले दोहोलो काट्दा अस्ट्रेलियाका कांग्रेसी चिरा चिरामा विभाजित छन्।
शेखर कोइराला, रामशरण महत, प्रकाशशरण महतदेखि एनपी साउदसम्मका शीर्ष नेता अस्ट्रेलियाको भातृसंगठनमा बढेको विवाद मिलाउन भन्दै आए पनि विगत आधा दशकदेखि यहाँको कांग्रेसी संगठनले पार पाउन सकेको छैन।
साधारणतया कुनैं पनि पार्टीको विदेशमा एउटा मात्र भातृ संगठन (जन सम्पर्क समिति) हुने गरे पनि अस्ट्रेलियामा कांग्रेसका राज्य पिच्छे आ-आफ्ना जनसम्पर्क समिति छन्। केन्द्रले आधिकारीक तोकेको कुनै जनसम्पर्क समिति यहाँ छैन। निर्वाचन गराउन बनाएको एउटा नाम मात्रको समिति वर्ष दिनदेखि अपांगका रूपमा छ।
हरेक राज्यका समितिले आफूनै आधिकारीक र विधिवत समिति भएको दाबी गर्दै अस्ट्रेलियाको कानुन अनुसार राज्यपिच्छे दर्ता गरेका छन्। आठ वर्ष बितिसक्दा पनि नेपाली कांग्रेसले एउटा प्रवासको (अस्ट्रेलिया) जनसम्पर्क समितिलाई पूर्णता दिन नसक्नु लाजमर्दो कुरा भएको नेपाल डेमोक्रयाटीक फोरम (एनएडीएफ) अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सापकोटाले बताए।
‘नेपाली कांग्रेसले पटक पटक सही निर्णय गर्न नसक्दा अस्ट्रेलियामा डेमोक्र्याटहरू छिन्नभिन्न अवस्थामा छन्,’ सापकोटाले भने, ‘जन सम्पर्क समितिको नाममा आस्थावान साथीलाई पाखा लगाएर केन्द्रले केही भोटका लागि राजनीति गर्दाको परिणाम अस्ट्रेलियामा डेमोक्याटहरु एक आपसमा लडिरहेका छन्।’
एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देलले भावुक र आक्रोशित मुद्रामा विचारको एकताले बाँधिएका डेमोक्याटलाई पार्टीले पटक पटक फुटाउँदै र लडाउँदै आएको आरोप लगाए।
नेताले नैतिकता बिर्सेर आस्थाभन्दा आसेपासे रोज्दाको परिणाम अस्ट्रेलियाका कांग्रेसजनले भोगिरहेको सिग्देलले आरोप लगाए। तोकिएको मितिमा निर्वाचन गर्न असक्षम नेतृत्वलाई पूर्णविराम लगाएर नयाँ सक्षम र सबल नेतृत्वको आवश्यकता रहेको सिग्देलले औंलाए।
एनएडीएफका पूर्व अध्यक्ष विवेक थापाले विदेशी भूमिमा कांग्रेसको नाममा भेला भएका सबै विचारका आफन्त भएकोले यसलाई एकताको शूत्रमा बाँध्न र त्यसबाट फाइदा लिन नेपाली कांग्रेसले नसकेको बताए।
‘एउटा आस्थाका आधारमा मायाँ गरेको माउ संस्थाले आठौं वर्ष बितिसक्दा पनि जाबो एउटा प्रवासी समिति बनाउन सक्दैन भने त्यसलाई कसरी हेर्ने’, थापाले प्रतिप्रश्न गरे।
अष्ट्रेलियाको सबै आठै वटा राज्यमा जनसम्पर्क समिति भए पनि एउटा सिंगो समिति नबनेर पार्टी अपुर्ण रहेको एक कांग्रेसी नेताले सेतोपाटीलाई बताए।
‘अहिले अस्ट्रेलियामा सबै आठै राज्यमा जनसम्पर्क समिति छन्। तिनका अध्यक्ष र पूर्ण कार्यसमिति छ। पार्टीले आधिकारिता दिएको निर्वाचन समितिका संयोजक कृष्ण गिरी भने सिड्नीमा छन्। तर त्यो समिति एक सदस्यीय छ। बाँकी समितिले पूर्णता पाउन सकेको छैन। त्यसका लागि नेपालबाट कयौं नेता आए, अस्ट्रेलिया शयर गरे, खाए झुमे अनि नेपाल फर्किए तर फेरि पनि समिति जस्ताको तस्तै छ,’ ती नेताले भने।
आधिकारीक भनिएको गिरी समितिमा पनि आपसी फुट र बिग्रहले मधुकर गुरूङको अध्यक्षतामा असन्तुष्ट पक्षले नयाँ कार्यसमिति बनाएका छन्।
जन सम्पर्क समिति अस्ट्रेलियाको न्युसाउथवेल्स (सीड्नीमा) थानु शाक्य, भिक्टोरियामा विनित शर्मा, तास्मानियामा द्धारीका दवाडी, क्यानबेरामा अशोक सुबेदी क्वीन्सल्यान्डमा बिनोद आचार्य वेष्टर्न अस्ट्रेलिया (पर्थ) मा दिपक पराजुली, डार्बिनमा सबिन बराल, साउथ अस्ट्रेलिया (एडिलेड) मा प्रेम पाठक अध्यक्षका रुपमा छन्।
एक-दुई बाहेक सबै राज्य समितिले जन सम्पर्क समिति अस्ट्रेलियाका नाममा आफूलाई चिनाउँदै आएका छन्। यसरी प्रवासी संगठनको सानो समस्यामा पनि राजनीति देख्ने कांग्रेसका नेता र नेतृत्वले अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान कसरी कायम गर्लान् त्यो हर्न बाँकी छ।