नेपाल र अस्ट्रेलियाबिच औपचारिक सम्बन्ध स्थापना भएको ६१ वर्ष पुरा भएको छ। सन् १९६० फेब्रुअरी १५ मा नेपाल-अष्ट्रेलियाबीच सम्बन्ध स्थापनाबारे सम्झौता भएको थियो।
शताब्धी लामो आपसी सम्बन्ध र तीन दशकको औपचारिक सम्वन्धले दुई देशबीच आपसी ब्यापार र सहयोगमा ठूलो फड्को मार्न नसके पनि आर्थिक साझेदारका रूपमा बलियो सम्बन्ध प्रगाढ बन्दै गएको छ।
नेपाली विद्यार्थीका लागि उच्च अध्ययनको उत्कृष्ट गन्तब्य अष्ट्रेलियामा शैक्षिक उद्योगमार्फत अर्बौं नेपाली रूपैया भित्रिरहेको छ। यता अस्ट्रेलिया सरकारले पनि ‘अस एड’ अन्तर्गत वर्षेनी २२ लाख डलर रकम नेपाल खर्च गर्दै आएको छ।
तथ्यांकका आधारमा ६३ हजार नेपाली विद्यार्थी अध्ययन गर्ने र लाखौं नेपाली बसोबास गर्दै आएको अस्ट्रेलिया नेपाल र नेपालीको लागि महत्वको विषय बनेको छ।
अष्ट्रेलियामा आवासीय दूतावास स्थापना भएको पनि १४ वर्ष नाघिसक्यो। यस अवधिमा दुई देशबीच कुनै पनि उच्चस्तरीय वार्ता भएको छैन। साना तिना भेटघाटमै सिमित कुटनीति विगतको जति गर्बिलो बन्न सकेको छैन।
हिजोका दिनमा राजा महेन्द्रको राजकीय भ्रमणपछि दुई वटा हवाइजहाज सहयोग पाएको नेपालले अहिले अष्ट्रेलियालाई अरबौंको आर्थिक श्रोतका रुपमा विद्यार्थी पठाइरहेको छ। अष्ट्रेलियामा तेस्रो ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी नेपालबाटै आइरहेका छन्।
तर २० औं वर्षदेखि नेपालले भने ‘अस एड’ को करीब दुई मिलियन डलर सहयोगकै आसपासमा बसेको छ।
पछिल्लो समय संख्यात्मक रूपमा बलियो बन्दै गएको नेपाली समाज र कुटनीतिक सम्बन्धलाई जोडेर आपसी सहयोगलाई गर्विलो र मलिलो बनाउने बेला आएको कुटनीतिक क्षेत्रका पण्डितहरू बताउँछन्।
सन् १९१५ मा पहिलो विश्वयुद्वमा बेलायती सेनाको गोर्खा रेजिमेन्टमार्फत टर्कीको गलीपोलीमा गोर्खाली सिपाहीले अस्ट्रेलिया र न्युजिल्यान्डका पक्षमा लडेका थिए।
त्यतिबेलादेखि जोडिएको दुई देश बिचको आपसी सम्वन्धको साइनो अहिले पनि उत्तिकै महत्वको छ। गलीपोली युद्वको सम्झनामा अस्ट्रेलियाभर मनाइने परेडमा गोर्खा सैनिकलाई विशेष महत्व दिँदै आएको छ।
सम्बन्ध स्थापनाको करीब ११ दिनपछि फेब्रुअरी २६ मा अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री रोबर्ट गोर्डन मेन्जिसले दिल्लीस्थित अस्ट्रेलियन राजदूत वाल्टर रसेल क्रकरलाई नेपालमासमेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको घोषणा गरेर औपचारिक सम्वन्ध स्थापीत गरेको इतिहासमा देखिन्छ।
राणाकालमा नै भारतमा कुटनीतिक नियोग रहेका विभिन्न मुलुकका कुटनैतिक अधिकारीले नेपाल भ्रमण गर्ने गरेको तथ्य भेटिन्छ। यसै क्रममा दिल्लीस्थित अस्ट्रेलियाली राजदूत आइभिन गिफार्ड म्याकेले सन् १९४८ को अप्रिलमा नेपाल भ्रमणमा आएका थिए। सम्भवतः नेपाली भूभागमा पहिलो पाइला टेक्ने अस्ट्रेलियालीमा अस्ट्रेलियन राजदूत आइभिन गिफार्ड दम्पत्ती हुन्।
संयुक्त राष्ट्रसंघ अन्तर्गत सुदूर पूर्वी देशको आर्थिक समिति ‘एक्याफे’ को तेस्रो अधिवेशनमा भाग लिन सन् १९४८ को २९ नोभेम्बर देखि ११ डिसेम्बरसम्म पहिलो नेपाली टोली अस्ट्रेलिया आएको देखिन्छ।
शिक्षा विभागका तत्कालीन डाइरेक्टर जनरल मृगेन्द्र शमशेर जबरा, शिक्षाका डेपुटी सेक्रेटरी तारामानसिंह स्वार र प्रा.साम्वदेव पाण्डे आएका थिए।
अस्ट्रेलियासँग नेपालको औपचारिक सम्बन्ध स्थापना नहुँदै सन् १९५४ यता अस्ट्रेलियाले नेपाललाई कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो। विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर अस्ट्रेलियामा तालिम तथा पढ्ने अवसर प्रदान गरेर नेपालको जनशक्ति विकासमा अस्ट्रेलियाले उति बेलैदेखि नै सहयोग गर्दै आएको थियो।
अस्ट्रेलियाले नेपालमा तत्कालै राजदूत खटाए पनि नेपालले त्यसको ६ वर्षपछि मात्र गैरआवासीय राजदूत खटायो। सन् १९६५ को जुलाईमा नेपालले जापानमा दूतावास स्थापना गरेर सन् १९६६ बाट जापानकै राजदूतलाई अस्ट्रेलियामासमेत गैरआवासीय राजदूतको जिम्मेवारी दिएको थियो।
१६ मार्च १९६६ का दिन अस्ट्रेलियाका तत्कालीन विदेश मन्त्री पल ह्याजलकले अस्ट्रेलियाका लागि नेपालले पहिलो राजदूतमा भरतराज राजभण्डारीलाई नियुक्त गरेको जानकारी गराउँदै नेपालको निर्णय स्वागत गरे।
३० मार्च १९६६ का दिन अस्ट्रेलियाका नवनियुक्त नेपाली राजदूत भरतराज राजभण्डारीले अस्ट्रेलियाका तत्कालीन गभर्नर जनरल रिचर्ड केसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए। नेपालले भने लामो समयपछि सम्बन्ध विस्तारको आवश्यकता महसुस गर्दै अस्ट्रेलियाको राजधानी क्यानबेरामा मार्च २००७ मा नेपाली दूतावास स्थापना गर्यो।
अस्ट्रेलियाका लागि पहिलो नेपाली आवासीय राजदूत योगेन्द्र ढकाल हुन्। सन् २०१६ नोभेम्बरमा नेपालका तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको अस्ट्रेलिया भ्रमण गरेका थिए। सोही भ्रमणका क्रममा उनका समकक्षी अस्ट्रेलियन परराष्ट्रमन्त्रीसँग भेटर्वार्ता गरेका थिए। सो भेटवार्ता पनि निजीस्तरमै सम्पन्न भएको थियो।
सम्बन्ध स्थापनाको पछिल्लो ६१ वर्षमा दुवै मुलुकका तर्फबाट हालसम्म औपचारिक मन्त्रीस्तरीय तथा प्रधानमन्त्रीस्तरमा औपचारिक भ्रमण हुन सकेको छैन।
अस्ट्रेलियाले नेपालको कृषि, पशुपंक्षी, वनजंगल, परराष्ट्रसेवा, चिकित्सा, जहाज, इन्जिनियरिङ, रेडियोलगायतका क्षेत्रका जनशक्तिलाई तालिम तथा पढाइको सहयोग निरन्तर रूपमा उपलब्ध गराउँदै आएको थियो। सन् १९७१ को अप्रीलमा राजा महेन्द्रले अस्ट्रेलियाको राजकीय भ्रमण गरे।
उनले दुई देश बिचको सम्वन्धलाई प्रगाढ बनाउने काम गरेका थिए। त्यतिबेला अस्ट्रेलियाले दुई वटा साना विमान सहयोग गरेको थियो। त्यसपछि सन् १९८५ को सेप्टेम्बर पहिलो साता राजा विरेन्द्रले पनि अस्ट्रेलियाको राजकीय भ्रमण गरेका थिए।
ठूलो दलबल र ध्वजाबाहक विमानमा आएका उनले अस्ट्रेलिया रहँदा क्यानबेरा, ब्रिस्बेन र मेलबर्न लगायतका क्षेत्रको भ्रमण गरे।
राजा वीरेन्द्रको अस्ट्रेलिया भ्रमणसँग नेपाल टेलिभिजन प्रसारणको इतिहाससमेत जोडिएको छ। राजा वीरेन्द्रको अस्ट्रेलिया भ्रमणको क्रममा खिचेको भिडियो स्याटालाइटमार्फत काठमाडौंमा प्रसारण गरिएपछि नेपाल टेलिभिजन प्रसारणले पूर्णता पाएको थियो।
‘हामीले गत वर्षनै दुई देश बीचको ६० औं वर्षगाँठमा नेपालबाट परराष्ट्र मन्त्री बोलाएर यसको सुरू गर्ने कार्यक्रम तय गरेका थियौं, कोरोनाको विश्वब्यापी प्रभावले त्यो रोकियो’, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सेतोपाटीसँग भने, ‘यति मात्र होइन त्यो सँगै सेप्टेम्बरमा गर्भनर जनरलको नेपाल भ्रमण र त्यसपछि उच्चस्तरीय वार्ताका लागि दूतावासले पहल गरिसकेको थियो, सबै कोरोनाको प्रभावमा रोकियो।’
कोरोनाको प्रभावले थलिएको विश्वब्यापी अर्थतन्त्रको दौरान सबै सहयोगमा कटौती गरे पनि नेपाललाई दिने सहयोगमा भने अस्ट्रेलियाले नघटाएको राजदूत दाहालले बताए।
उनले नेपाली विद्यार्थी, वैदेशिक लगानी र व्यापार पर्वधनको प्रयासमा आफूहरू लागिरहेका जानकारी दिए।