उच्च शिक्षाको प्रमुख गन्तब्य अस्ट्रेलियामा यतिखेर कोरोनाका कारण रैथानेबाहेक सबैका लागि प्रवेश निषेध छ।
आपतकालिन बाहेक अन्य पर्यटक, विद्यार्थी, अभिभावकलगायतका लागि अस्ट्रेलिया प्रवेशको समय तोकेर भन्न सकिने अवस्था छैन। मुलुक बाहिर रहेका करिब तीस हजार आफ्ना नागरिकलाई स्वदेश भित्र्याइरहेको अस्ट्रेलियाले अहिलेनै पर्यटक र अस्थायी भिसाधारीको विषयमा केही निर्णय गरेको छैन। र तत्काल गर्ने सम्भावना देखिन्न।
आगामी साताबाट कोरोनाविरूद्धको खोप लगाउन सुरू गर्ने तयारीमा रहेको अस्ट्रेलियाले पहिलो र दोस्रो चरणको खोप लगाउँदै कम्तिमा ६ महिना लाग्नसक्छ।
कोरोनाका लागि उच्च सुरक्षा सतर्कता अपनाएको अस्ट्रेलियाले यो वर्षको अन्त्य अर्थात नोभेम्बर डिसेम्बर नभइ बोर्डर खुलाउने कुनै तयारी गरेको छैन।
यद्यपी अस्ट्रेलियाले आफ्नो देशमा उच्च शिक्षा अध्ययनका लागि आउन चाहने अन्तर्राष्ट्रिय विलार्थीको प्रवेशाज्ञा भने रोकेको छैन। विभिन्न देशमा रहेका आफ्ना नियोगमार्फत विद्यार्थी भिसा धमाधम जारी गरिरहेको छ।
अहिले नेपालमा मात्र करिब एक हजार चार सय विद्यार्थी भिसा बोकेर अस्ट्रेलिया आउने पर्खाइमा छन्।
‘चाडै खुल्ने आसमा अस्ट्रेलियाको विश्वविद्यालय छानियो। अहिले काठमाडौंमा बसेर महंगो डलर खर्चेर अनलाइन पढ्दै छु’, काठमाडौं घट्टेकुलोकी सुस्मिता रेग्मीले सेतोपाटीसँग भनिन्, ‘कोरोना यति लामो र भयावह होला भन्ने सोचिएन।’
वर्षको करिब तीस लाख रूपैया तिर्नुपर्ने उनको विश्वविद्यालयको शुल्क र अनलाइन पढाइ यतिबेला महंगो परेको छ।
अस्ट्रेलियाले विदशेमा रहेका आफ्नै नागरिक ल्याउन नसकिरहेको बेला विद्यार्थी ल्याउँछ भनेर आवेदन दिने विद्यार्थी र बुझ्दै नुबझी व्यवस्थापन गर्ने अभिभावकको गल्ती रहेको कानुन व्यससायी डा शम्सेरसिंह थापाले बताए।
‘अरूलाई दोष दिनुभन्दा पहिले यस्ता कुरा स्वयं विद्यार्थी र अभिभावकले बुझ्नुपर्ने होइन र’, प्रतिप्रश्न गर्दै कानुन व्यवसायी थापाले सेतोपाटीसँग भने, ‘कोरोनाले संसार अक्रान्त भएको बेला सुरक्षाको हेतुले कोभिड भ्याक्सीन लगाएकालाई ल्याउने र सुरक्षित देशको सूचिको प्राथमिकतामा नेपाल पर्दा यो वर्षको अन्त्यमा सहज हुनसक्छ।’
थापाका अनुसार एक दुई परामर्शदाताले गलत सल्लाह दिए पनि आजको युगमा आफ्नो अध्ययनको विषयमा नबुझी आवेदन दिने आवेदक आफैं मुर्ख भएको उनको तर्क छ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मुलुकको बोर्डर यस वर्षको अन्त्यतिर खुल्न सक्ने संकेत दिइसेकेका छन्।
भिसाका विषयमा भने थापाको आफ्नै ठम्माइ छ। ‘अस्ट्रेलियाले आफ्नो शैक्षिक उद्योगलाई सञ्चालनमा ल्याउन भिसा जारी गर्नु सामान्य विषय हो, किनभने अहिलेको विज्ञान र प्रविधिको जमानामा अध्ययन र अध्यापन जहाँ त्यहीँबाट हुनसक्छ,’ थापाले भने, ‘अस्ट्रेलियाको गतिलो आर्थिक श्रोत रहेको शैक्षिक उद्योग कोरोनाका कारण खस्कीदै जाँंदा यसले अनलाइन अध्ययनलाई अघि सारेको र बोर्डर खुलेपछि विद्यार्थी भित्र्याउने योजना बुनेको देखिन्छ।’
परामर्शदाताले जुलाइ भित्रै बोर्डर खुल्ने भनेपछि काभ्रेका कमल तामाङले भिसाका लागि आवेदन दिए। ‘आफू विदेश जान रहर गरियो, घरमा सर-सापट मागेर भए पनि अस्ट्रेलिया एप्लाइ गरियो। तर अहिले काठमाडौमा बसेर अनलाइन पढनु परेको छ’, उनले सेतोपाटीसँग भने,’ कन्सल्टेन्सीले जुलाई भित्रै अष्ट्रेलिया जान पाइन्छ भने पनि अहिले अनलाइनमार्फत महंगो शुल्क तिरेर पढ्नुपरिरहेको छ। पढेन भने पनि भिसा रद्द हुन्छ भन्छन्, पढ्नै पर्यो।’
अस्ट्रेलियाको शिक्षा उद्योग आफैंमा एउटा महत्वपूर्ण उद्योग भएकोले यसको सञ्चालन र सक्रियताका लागि सरकारले बाटो खोलेको हुनसक्ने किङ्गस्टन इन्सीच्यूट अस्ट्रेलियाका प्राचार्य दिपक खनालले बताए।
‘कोरोनाको मारमा विश्व आक्रान्त छ। यसले कयैन उद्योगधन्दा प्रभावित भएका छन्। सुरक्षाको दृष्टीले अब्बल मानिएको अस्ट्रेलियाले विस्तारै विद्यार्थी भित्र्याउने योजना अनुरूप विद्यार्थी भिसा जारी गरेको हुनसक्छ’, खनालले भने।
अहिले अनलाईन पढाइ सुरू गर्ने र भ्याक्सीन लगाइसकेपछि बिस्तारै बोर्डर खोल्ने योजनामा अस्ट्रेलिया सरकार देखिएको उनले बताए।
आईटीको नयाँ आयामका रुपमा रहेको एप्लाइड ब्लकचेन जस्ता नयाँ विषय अगाडि बढाउने नेपाली कलेजका रुपमा चिनिएका किङ्गस्टन नेपालीले सञ्चालन गरेको पुरानो र विश्वसनीय शैक्षिक संस्था हो।
‘आफूहरूको काम भनेको सम्वन्धित विद्यार्थी भाइ बहिनीलाई वास्तविकता बताइदिने र आवश्यक सहयोग गर्नु हो, तर जबरजस्ती मेरो एप्लाइ गरीदिनु भनेर आउनेलाई रोक्न पनि सकिदैन नि’, शैक्षिक परामर्शदाता सावन दाहालले सेतोपाटीसँग भने, ‘हामीले पछिल्लो अवस्थाको चित्रणसहित अपडेट गराइदिने हो। तर स्वयं विद्यार्थी खुलिहाल्छ नि भनेर आइपुग्छन, हाम्रो काम प्रोसेस गरिदिने हो, शुल्क लिएका गरिदिन्छौ।’
वैदेशिक अध्ययनका नाममा अस्ट्रेलया आउन हतारिएका हजारौं नेपाली युवा अहिले मंहगो डलरमा शुल्क तिरेर नेपालमै अनलाइन पढ्न बाध्य छन्। यसबारे सम्वन्धित नेपाली नियोगले बेलैमा सोच्नुपर्ने देखिन्छ।
यस विषयमा सम्वन्धित राजदूतावासले पछिल्लो अवस्था र अध्ययनका विषयमा सम्वन्धित निकायसँंग छलफल गरेर सूचना जारी गर्न सके मुलुक र विद्यार्थीको हितमा उपयोगी हुने थियो कि!