अस्ट्रेलियाको भिक्टोरिया(मेलवर्न)मा होटल होलिडे इनबाट कोरोना संक्रमण फैलिएपछि स्थानीय सरकारले शुक्रबार रातिदेखि लागू हुने गरी पाँच दिन लकडाउनको घोषणा गरेको छ।
होलिडे इन होटलमा क्वारेन्टाइन बसेको यात्रुमार्फत् फैलिएको कोरोना संक्रमण १३ जनामा पुगेपछि अन्य क्षेत्रमा जोखिम बढ्ने भन्दै राज्यले सो निर्णय गरेको हो।
शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पाँच दिने लकडाउन गरिएको त्यहाँका प्रिमियर ड्यानिएल एन्ड्रयूजले बताएका छन्।
लकडाउनका दौरानअति आवश्यक बाहेकका सबै सेवाहरू बन्द रहनेछन्।
रेस्टुरेन्ट लगायतका आतिथ्य क्षेत्रका सेवाहरू टेकअवे सेवामा मात्र सीमित हुनेछन्।
आवश्यक सामग्रीको किनमेल, हेरचाह, दिनको दुई घण्टा व्यायाम र घरबाटै काम वा पढाइ गर्न नमिल्ने अवस्थामा मात्र घर बाहिर निस्कन पाइने कुरा स्थानीय सरकारले जनाएको छ।
धार्मिक भेला एवं सेवाहरू बन्द रहनेछन् भने अन्तिम संस्कारमा १० जना मानिस मात्र भेला हुन पाउनेछन्।
बेलायती नयाँ भाइरस तीव्र गतिमा फैलिरहेकाले पूरै भिक्टोरिया जोखिममा रहने हुनाले नचाहँदा पनि पुन: लकडाउनको घोषणा गर्नु परेको प्रिमीयर ड्यानियलले बताएका छन्।
प्रधानमन्त्री स्कट मोरिसनले संक्रमणको विषयमा गम्भीर हुन आग्रह गरेपछि राज्यको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।