सुरक्षित परामर्शको उद्धेश्यसहित सन् २०१९ मा स्थापित भएको युनिर्भसल थट कन्सल्ट (युटिसी)ले सिड्नीमा आफ्नो शाखाको औपचारिक सुरूआत गरेको छ ।
युटिसी सिड्नीको न्यु साउथ वेल्सका शिक्षा निर्देशक पिटर म्याकेले एक समारोहबीच औपचारिक उद्घाटन गरेका हुन्।
युटिसीको लक्ष्य विद्यार्थीलाई उचित परामर्श र सुरक्षित गन्तव्यको बाटो देखाउनु रहेको कार्यक्रममा म्याकेले सुनाए।
युटिसीका प्रमुख कार्यकारी अधिकृत शिव बन्जाराले उचित परामर्श नपाउँदा, व्यापारीकरण मात्र हुँदा अस्ट्रेलियामा विद्यार्थीले दु:ख पाउँदा मानसिकदेखि अन्य तनाव व्यहोर्नु परेको बताए।
बन्जाराले भने, ‘हामी व्यापारीकरणको पक्षमा मात्र छैनौं, जिम्मेवार शैक्षिक परामर्शको विश्वसनीयताको बाटो हिँडेका छौं। अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एक आकर्षक गन्तव्य हो तर पैसा कमाउने ध्येयले विद्यार्थीको भविष्यसँग खेलवाड गर्नु नहुने सोही कारण विद्यार्थीहरू विभिन्न समस्यामा परेका छन्।’
अस्ट्रेलियाको नेपाली समुदायसँग आबद्ध रही सन् २००९ अस्ट्रेलिया बस्दै आएका बन्जारा लामो समयको सामाजिक अध्ययन र त्यसको परिणामपछि आफू यस क्षेत्रमा केही गरौं भनेर लागिपरेको बताउँछन्।
विद्यार्थीकै समस्यासँग रुबरु रहेका र समाधानका निम्ति बलियो आवाज उठाउँदै आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संस्था (सीसा)का पूर्वअध्यक्ष विजय सापकोटा पनि युटिसीको उद्घाटनमा उपस्थित रहेका थिए।
‘अहिले विद्यार्थीको मुख्य समस्या नै परामर्शका क्रममा रहेको पायौं, त्यसको न्यूनीकरण गर्दै विद्यार्थीको मनोवैज्ञानिक अवस्थालाई समस्यामा होइन, समाधानको बाटो खोज्ने हाम्रो ध्येय हो’, बन्जारा भन्छन्।
अध्ययनसहित सपनाको लामो फेहरिस्त बोकेर भित्रिएका विद्यार्थीले कतिपय अवस्थामा गलत बाटो समेत रोज्नुपरेको परिदृश्यलाई युटिसीका संस्थापकहरूले सूक्ष्म अध्ययन गरेको उनीहरूको भनाइ थियो।
‘नेपाली विद्यार्थी अध्ययनका लागि वा अन्य कामका लागि आउँदा एउटा र आइसकेपछि अर्को अवस्था वा समस्यामा नपरून् भन्ने युटिसीको पहिलो प्राथमिकता हो,’ बन्जाराले भने।
अस्ट्रेलियाको सरकारको शिक्षा विभागको प्रतिनिधि र अस्ट्रेलियाको ठूला विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।