चार सय चालिस डलर तिरेर चालिस घन्टाको अनलाइन पढाइ र परीक्षापछि शैक्षिक परामर्शदाताको लाइसेन्स पाइन्छ अस्ट्रेलियामा।
शैक्षिक परामर्शदाता हुनलाई अस्ट्रेलियामा दर्ता हुनुपर्ने नियम नभए पनि शैक्षिक एजेन्ट तालिमसम्बन्धी पाठ्यक्रम हुन्छ जसलाई पिआइएआर (पिएर) भनिन्छ।
यस प्रमाणपत्रमा बाँधिएर शैक्षिक परामर्श दिन छुट भए पनि अध्यागमन र भिसासम्बन्धी कुराहरूलाई कानुनी रूपमा भने यसले समेट्दैन।
शैक्षिक परामर्शदाताका रूपमा व्यवसाय सञ्चालन गरेर अध्यागमनसम्बन्धी काम गरेको पाइएमा अस्ट्रेलियन कानुन अनुसार जेल सजाय हुन सक्छ।
भर्खरैमात्र दर्ता नभएका सिड्नीको अर्वन निवासी एक शैक्षिक परामर्शदाताले अध्यागमनसम्बन्धी सरसल्लाह दिने भन्दै ग्राहकबाट पैसा लिएपछि दोषी पाइएको र उनीहरूलाई दोषी ठहर गर्दै सजाय दिइएको थियो।
अध्यागमन एजेन्टका रूपमा दर्ता नभएका उनीहरूले ग्राहकहरूलाई अध्यागमनसम्बन्धी सुझाव दिने र त्यसबापत शुल्क लिने गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो।
यस्तै, सिड्नी सहरमा दर्ता नभई पनि कतिपय नेपालीहरूले शैक्षिक एजेन्टका रूपमा अध्यागमनसम्बन्धी परामर्श दिने कार्य गरिरहेको आरोप यसै व्यवसायमा आवद्धहरूले नै लगाएका छन्।
‘शैक्षिक परामर्श र अध्यागमन एक अर्कामा जोडिएका विषय हुन्, कलेज भर्ना र परिवर्तनजस्ता कयैन् कुराहरू भिसासँग जोडिने गर्छन्,यसैले पनि शैक्षिक परामर्श लिँदै गर्दा माइग्रेसन एजेन्टसँग पनि सल्लाह लिनु जरुरी हुन्छ’, अस्ट्रेलियन एजुकेसन कन्सलट्यान्ट एलाइन्सका निर्वतमान अध्यक्ष विवेक थापाले भने।
थापाले थप भने, ‘हो शैक्षिक परामर्श दिने कुरामा सबैलाई छुट छ जब भिसा र अध्यागमन जोडिन्छ तब त्यो उनीहरूको बसमा हुँदैन। यसै कारण पनि कयैन् विद्यार्थीहरू शैक्षिक परामर्शदाताको अर्धज्ञानका कारण अलपत्र परेका कयैन उदारहण छन्।’
माइग्रेसन एजेन्ट समेत रहेका विवेकले पढेर, जानेर अनि बुझेर मात्र यस विषयमा परामर्श दिनुपर्ने तर्क गरे।
‘हचुवा भरमा दिइएका कयैन् सुझाव अनि सल्लाहले थुप्रै विद्यार्थीहरूको भविष्य बिग्रने हुनाले हाम्रो समुदायभित्र रहेका यस्ता प्रवृत्तिलाई निस्तेज पार्नुपर्छ’, उनले भने।
तर यसमा विद्यार्थीहरू आफैं पनि सचेत हुनुपर्ने उनको बुझाइ छ।
‘कुनै पनि एजेन्टकोमा जानुभन्दा पहिला उनीहरूको आधिकारिकता, उनीहरूको कर्मचारीहरूको अध्यागमन एजेन्ट दर्ता भएको वा मारा नम्बर छ कि छैन त्यो संस्थामा भन्ने कुरा जाँच गरेर सुझाव लिनुपर्छ’, उनले भने।
यस्तो किसिमको बदमासीको प्रकृति हेरेर दोषीलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था भएकाले यसलाई हल्का रूपमा नलिन सम्बन्धित निकायले सचेत गराएको एकाका पूर्वअध्यक्ष निरज श्रेष्ठले बताए।
नेपाली समुदायभित्र देखिएको प्रमुख समस्या भनेकै शैक्षिक परामर्शदाता र अध्यागमन एजेन्टबीच फरक छुट्याउन नसक्नु रहेको श्रेष्ठको भनाइ छ।
हाम्रो समुदायभित्र पनि यस्ता थुप्रै घटनाक्रम भए पनि हालसम्म उजुरबाजुर नपरेकाले त्यस्तो घटना हुन नपाएको माइग्रेसन एजेन्ट समेत रहेका श्रेष्ठ बताउँछन्।
‘धेरै अध्यागमन एजेन्ट नभएका साथीहरूले, (नेपाली) अध्यागमनसम्बन्धी सरसल्लाह दिने र त्यो दिएबापत पैसा पनि लिने गरेका कयैन् उदाहरण छन्,’ उनले भने।
कतिपय शैक्षिक परामर्शदाताहरूले अध्यागमन एजेन्टसँग प्रत्यक्ष/अप्रत्यक्ष मिलेर यस्ता सल्लाह दिने गरेको पनि पाइएको उनको भनाइ छ।
अध्यागमन एजेन्टका रूपमा अध्ययन नगरी अध्यागमनसम्बन्धी जानकारी प्रदान गर्ने गरेका व्यवसायीहरूलाई अस्ट्रेलियाको सीमा सुरक्षा बलले निगरानी गरिरहेको अवस्थामा त्यस्ता बदमासी गर्नेविरूद्ध तुरून्त उजुरी गर्नुपर्ने श्रेष्ठको भनाइ छ।
अध्यागमन एजेन्टसँग लिखित सम्झौता गरेर सामान्य सुझाव प्रदान गर्ने र जटिल विषयमा अध्यागमन एजेन्टकोमै पठाउँदा भने कानुनी समस्या नपर्नेमा निरज सहमति जनाउँछन्।
उनी भन्छन्, ‘दर्ता नभएकाबाट अध्यागमन सुझावहरू दिइने गरेको पाइने र यस्ता क्रियाकलापहरू यो क्षेत्रका लागि निकै ठूलो घातक समस्याका रूपमा देखिएको छ। जो एजुकेसन एजेन्ट हुन उनीहरूले खुलेआम माइग्रेसनका सुझाव दिइरहेको र विज्ञापनमा समेत खुलेआम प्रचार गरिरहेको समेत पाइएको छ।’
अध्यागमन एजेन्टका रूपमा रहेका हरि पोखरेल अध्यागमन र शैक्षिक एजेन्टबीचको फरकलाई यसरी केलाउँछन्, ‘शैक्षिक परामर्शदाता जसलाई एजुकेसन एजेन्ट भन्छन् त्यो भनेको ऊ अध्यागमन एजेन्ट होइन। त्यसको अर्थ उसले शैक्षिक सल्लाह मात्र दिन पाउँछ।’
अस्ट्रेलियामा अध्यागमन एजेन्ट हुन छुट्टै दर्ता भएको हुनुपर्दछ।
‘अध्यागमन एजेन्टका रूपमा दर्ता हुन अध्यागमन कानुनमा ग्राजुएट डिप्लोमा पढ्नुपर्ने हुन्छ। कुनै एक विषयमा ब्याचलर गरिसकेपछि मात्र सो विषय पढ्न सकिने हुन्छ। त्यसपछि पनि अङ्ग्रेजी भाषा परीक्षा (आइएलटिएस) मा प्रत्येक विधामा ७ ल्याउनुपर्ने हुन्छ’, पोखरेलले प्रष्ट पारे ।