२६ जनवरीलाई अस्ट्रेलिया दिवसका रुपमा भब्य रुपमा मनाउने गरिन्छ। अस्ट्रेलियामा ब्रिटिस उपनिवेशको आगमन भएको दिनका रूपमा यहाँं अस्ट्रेलियन दिवस मनाइन सुरु गरिएको हो।
यसरी अस्ट्रेलियन सरकारले सार्वजनिक बिदा दिँदै भब्य रूपमा मनाउने यो दिवसलाई भने अस्ट्रेलीयाका आदिवासीले शोक दिवसका रुपमा विरोध गर्दै आएका छन्।
विकास र विस्तारसँंगै अस्ट्रेलियन महादेशको आधुनिक युगको सुरुवातका रुपमा लिइने यस अस्ट्रेलिया दिवसलाई आदिवासीले ‘अतिक्रमण दिवस’ भन्दै शान्तिपूर्ण विरोध प्रदर्शन समेत गरेका छन्।
आज देशैभर विविध कार्यक्रम गरेर रमझमका साथ अस्ट्रेलिया दिवस मनाउँदै गर्दा विभिन्न शहरहरुमा विरोधका कार्यक्रमहरु पनि आयोजना भएका छन्।
न्यु साउथ वेल्स राज्यको सिड्नीमा करिब एक हजार मानिसहरू सहभागी भएर अस्ट्रेलिया दिवसको विरोध सभा गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि आयोजकहरूले कार्यक्रम स्थगित गरेका छन्। अनुमति नलिइ कोभिडको महामारीबिच स्वास्थ आदेश जारी भएको कारण प्रहरीले हस्तक्षेप गरेको सम्वन्धित निकायले जनाएको छ।
आदिवासी समुदायको पहिचानका लागि पनि भूमी कब्जा गरिएको दिनलाई अस्ट्रेलिया दिवसको रुपमा मनाउन नुहने आदिवासी संघ संस्था र समर्थकहरुको भनाइ छ।
उनीहरूले ब्रिटीस उपनिवेशको आगमनसँंगै यहाका भूमिपुत्रको हक र अधिकार हनन् भएकोले यस दिनलाई खुसीयाली दिवसका रुपमा मनाउन नहुने माग गर्दै आएका छन्।
प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलिया दिवसको दिन पुरस्कार र पदक वितरण गर्दै गर्दा मेलवर्न र राजधानी क्यानबेरामासमेत विरोध प्रर्दशन भएका छन्। यता विपक्षी दल लेबरका नेता एन्थोनि अल्बानेजीले २६ जनवरीलाई लिएर हुँदै आएको विवादमा जनमतसंग्रह आवश्यक पर्ने बताएका छन्।
अस्ट्रेलिया दिवसका दिन देशै भर ‘सिटीजनसीप सेरोमेनी’ आयोजना हुने गरेको छ। जसमा बुधबार मात्र एक सय ३० देशका १२ हजार मानिसले अस्ट्रेलियाली नागरिकता ग्रहण गरेका छन्।
सन् १७८८ जनवरी २६ का दिन कप्तान आर्थर फीलीपको नेतृत्वमा बेलायतबाट पहिलो पानीजहाज अस्ट्रेलियन भूमिमा प्रवेश गरेको थियो।